लकडाउनका कारण विदेशी मुद्रा सञ्चितीमा सरकारलाई राहत, एक वर्षको आयात धान्ने

डिसी नेपाल
२ साउन २०७७ ९:३९

काठमाडौं। कोभिड–१९ को महामारी र संक्रमण रोक्न गरिएको लकडाउनका कारण आयात घट्दा सरकारको विदेशी मुद्रा सञ्चिती उच्च भएको छ। जेठ महिनासम्म सरकारसँग एक वर्षको आयात धान्ने विदेशी मुद्रा सञ्चिती पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको देशको आर्थिक अवस्थाबारेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा कुल वस्तु आयात १५.३ प्रतिशतले घटेर ११ खर्ब ८१ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७.३ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.३ प्रतिशत, ९.० प्रतिशत र ४.१ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने सुन, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेशीनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ।

२०७६ असार मसान्तमा १० खर्व ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले बृद्धि भई २०७७ जेठ मसान्तमा १३०६ अर्ब ४६ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ जेठ मसान्तमा १० अर्ब ७९ करोड पुगेको छ। विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को एघार महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.३ महिनाको वस्तु आयात र ११.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

लकडाउनका कारण आयात घटेकाले विदेशी विनिमय संचिती बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । कोरोना महामारीका कारण सूनको भाउ उच्च हुँदा आयात भएको छैन । यसैगरी सवारी साधनको साथै प्रेट्रोलियम पदार्थ आयात पनि घटेको छ ।

लकडाउनका कारण पर्यटकबाट हुने विदेशी मुद्रा आम्दानीमा असर परेपनि रेमिट्यान्समा खासै असर नपरेकाले पनि विदेशी मुद्रा संचितिमा असर नपरेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवको जेठ मसान्तसम्म सात खर्व ७४ अर्ब ८७ करोड रेमिट्यान्स आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *