इतिहासमै पहिलो पटक भक्तजनका लागि पशुपति मन्दिरका ढोका ११७ दिनसम्म बन्द

तर्कबहादुर थापा
३ साउन २०७७ ७:११

काठमाडौं। शताब्दीऔं देखि नेपालका हरेक राजाले सम्बोधनको अन्तमा भन्थे, ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन, जय नेपाल।’ तर आज नेपाल सरकारले श्री पशुपति नाथको ‘कल्याण’का लागि ११७औं यता भक्तजनलाई ‘प्रतिबन्ध’ लगायो।

साउनको महिना। शिव भगवानको प्रिय महिना पनि हो। शिव भगवानको घरको गेटमा भक्तजनहरुका लागि ताला लगाइएको ११७ दिन भयो। नेपालमा कोरोनाको लक्षण देखिए पछि गत चैत्र ११ गतेदेखि बन्द भएका पशुपतिनाथका ढोकाहरु भक्तजनहरुका लागि अझै खुलेका छैनन्।

साउने सोमबारका दिन विशेषतः हिन्दु महिलाले आरध्यदेव शिव भगवानको पूजा गर्न पशुपतिनाथको मन्दिरमा जाने गर्थे। इतिहासमै पहिलो पटक पशुपतिनाथ मन्दिरको ढोकामा ताल्चा लगाइएको हो।

परापूर्व कालदेखि नै मानिसहरु विमारी हुँदा भगवानको मन्दिरमा जाने गर्थे। पशुपतिनाथको मन्दिरमा पनि धेरै पटकका महामारीमा धाइएको बुढापाकाहरु बताउँछन्। प्रविधिमा भएको विकासले होला अहिले रोगलाग्दा मानिसहरु अस्पताल धाउनल थाले।

‘मैले यस्तो सुनेको पनि थिएन’ झण्डै ५३ वर्षदेखि पशुपतिमा बस्दै आएका पुरोहित टिका प्रसाद घिमिरेले भने, ‘म २०२४ सालदेखि यही ठाउँमा बस्दै आएको हुँ । कति धेरै विपद् देखेँ भोगेँ तर कहिलै पनि पशुपतिनाथका ढोकाहरुमा ताला लगाएर भक्तजनहरुलाई ‘प्रतिवन्ध’ लगाएको देखेको थिएन।’

साउनको महिना। शिव भगवानको प्रिय महिना पनि हो। शिव भगवानको घरको गेटमा भक्तजनहरुका लागि ताला लगाइएको ११७ दिन भयो। नेपालमा कोरोनाको लक्षण देखिए पछि गत चैत्र ११ गतेदेखि बन्द भएका पशुपतिनाथका ढोकाहरु भक्तजनहरुका लागि अझै खुलेका छैनन्।

बुढा पाकाले कुनै पनि दिन पशुपतिनाथको ढोका बन्द भयो रे भन्ने नसुनाएको उनको अनुभव छ। ‘झाडापखला, हैजा, दादुरा, ठेउला लगाएतका महामारी आएकै हुन्’, ८३ वर्षीया घिमिरे सुनाउँदै थिए, ‘भूकम्प पनि गयो। पहिलो भूकम्प गएको ४ वर्षपछि जन्मेको म पछिल्लो भूकम्प जाँदा ता का पशुपतिनाथकै शरणमा थिएँ। तर, अहिले यो महामारी आयो भनेर ढोका बन्द गरियो। आज यत्रो दिन भै सक्यो।’

अब केही दिनमा खोलिन्छ : पर्यटनमन्त्री भट्टराई
कोरोनाका कारण चैत्र ११ गतेदेखि बन्द भएको पशुपतिनाथ मन्दिरका ढोका अबको केही दिनमा खोलिने सरकारले आश्वासन दिएको छ। डिसी नेपालसँग कुरा गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले अबको केही दिनमा पशुपति खोल्न सकिने बताएका छन्।

उनले भने, ‘हामी प्रोटोकल बनाउँदै छौं। कसरी स्यानिटाइजर प्रयोग गर्ने, मास्क नलगाएका भक्तजनहरुलाई कसरी व्यवस्थापन गर्ने र सामाजिक दुरी कसरी कायम राख्न सकिन्छ भन्ने विषयमा तयारी पूरा गरेर खोल्छौं। आउने आइतबार बस्ने कोभिड–१९ क्राइसिस् म्यानेजमेन्ट सेन्टरको बैठकमा कुरा राख्छौं। अपेक्षा गरौं चाडै खुल्छ।’ तर, साउनको पहिलो सोमबारबाट नै पशुपति खुल्ने कुरामा भने स्पष्ट नभएको उनले बताए। ‘यही दिन खुल्छ त नभनौं तर, विस्तारै खोल्छौं।’

तत्काल खोल्न तयारी पुग्छ कि पुग्दैन : सस्कृतिविद टण्डन
पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव तथा संस्कृतिविद गोविन्द टण्डन भने पशुपतिनाथको मन्दिरमा अझै केही समय भक्तजनहरुको उपस्थिती नभएकै राम्रो हुने विश्वास व्यक्त गर्छन्। डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘समूदायमा कोरोना फैलिएको छ भनेर विज्ञहरुले भनिरहदाँ पशुपतिनाथको मन्दिर खोल्नु पर्छ भनेर मैले भन्दैन्।’

‘भगवान यत्रतत्र सर्वत्र हुन्छन्’, संस्कृति विद टण्डनले भने, ‘हामीले घरमै बसेर भएपनि पशुपतिनाथको पुजा आजा गर्न सक्छौं। सकेसम्म यही गरौं। मन्दिर खुलेपछि हुने भिड् रोक्न सकिदैँन अझै पशुपतिनाथ र साउनको महिनामा यो भिड रोकिएला भन्ने अपेक्षा गर्न सकिदैन्। त्यसैले तत्काल पशुपतिनाथको मन्दिर खोल्न तयारी पुगछ की पुग्दैन भन्ने नै हो।’

सरकारले सार्वजनिक यातायात खोल्ने निर्णय गरेको छ। तर, सार्वजनिक यातायातमा सवारी नभएको स्मरण गर्दै टण्डनले भने, ‘व्यवस्थापन गर्ने प्रोटकल बनाएर खोल्छ भने पनि मान्छेहरु सायद आउँदैनन्। अचेल सार्वजनिक यातायात नै हेर्नुस् कोही पनि आउँदैनन्।’

सरकारको निर्णयको प्रतिक्षमा छौं : विकासकोष
तर, पशुपति क्षेत्र विकास कोषले भने सरकारको निर्णयको प्रतिक्षामा रहेको जनाएको छ। डिसी नेपालसँग कुरा गर्दै कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले आन्तरिक तयारी पुगेको र सरकारको आदेश पाएमा खोल्न सक्ने विश्वास व्यक्त गरेका छन्।

उनले भने, ‘हामीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको स्वास्थ्य प्रोटोकलका आधारमा सामाजिक दुरीका लागि सर्कल, सेनिटाइजर, मास्क जस्ता विषयवस्तुमा ध्यान दिएका छौं। सरकारले आदेश दिन्छ भने खोल्न सकिन्छ।’

हरेक दिन जसो हजारौंको भिड हुने पशुपति परिसर विगत १ सय १७ दिनदेखि मुस्कीलले ५० जना पनि देखा पर्दैनन्। चारै तिर हरीयाली भएपनि पशुपति मन्दिर भक्तजनको अभावमा उजाड र उदास देखिन्छ। कलकल बग्ने वागमती पनि त्यति हाँसी खुसि देखिदैनन् आजभोलि। मृगस्थलीका मृग र कैलाश डाँडामा हुने बाँदर समेत केही हराएजस्तो कोही नभए जस्तो देखिएका छन्।

पशुपति प्रवेश गर्ने दक्षिण र पश्चिमको ढोकाहरुमा भोटेताल्चा लगाइएको देखिन्छ। यस्तो लाग्छ भगवान घरको ढोकामा ताल्चा लगाएर लामो भ्रमणमा जानु भएको छ। यस्तो पनि लाग्छ भगवान हामीसँग रिसाएर ढोका थुनेर भित्रै बस्नु भएको छ। तर, सर्वसाधारणले अहिलेसम्म भगवान अस्पतालमा कोरोनाका विरुद्ध लडिरहनु भएको छ त्यसैले उहाँको घरमा ताल्चा लगाइएको बताएका छन्।

सिन्धुली घर बताउने रमेश तामाङ पशुपति घुम्न आएका छन्। ज्याला मजदुरी गर्ने उनको काम आज भोलि रोकिएको छ र यही समयमा पशुपति घुम्न निस्केको उनले बताए।  ‘पशुपति घुम्न आएको भगवान त घरमा ताल्चा लगाएर अस्पतामा कोरोनाका विरुद्ध लड्दै हुनुहुन्छ रे हाहा’ उनी हास्दै भन्दै थिए, ‘तर मनैदेखि भगवानलाई सम्झन्छौं। भगवानले डाक्टरहरुलाई साथ दिनु भएको छ र कोरोनाका विरुद्ध लड्दै हुनुहुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *