चिताको आगो निभेपछि उनको चुल्हाे बल्छ – Dcnepal

चिताको आगो निभेपछि उनको चुल्हाे बल्छ

काठमाडौं। कालो धुँवाको मुस्लो भित्र दन्किरहेको आगो। आगोमाथि चीर निद्रामा सुतेको मानव मृत शरीर। हरियो बाँसको लामो र मोटो डण्डाले त्यही अगुल्टो घचघच्याउँदै अर्को मान्छे। अजीवको दृष्य देखिन्छ हरेक दिन पशुपति आर्यघाटमा।

‘गोपाल हो मेरो नाम, बाहुन थर हो’, चितामाथि जलिरहेको मृत शरीर जलाउन अगुल्टोलाई घचघच्याउँदै सेतो कपडा लगाएका र सेतै लुङ्गी बेरेका उनले भने। ‘करिव ९ वर्ष भयो। यहीँ काम गर्न लागेको। यहीबाट जीवन गुजारा गर्दै छु।’

गोपालको दैनिकी नै हो यो, चीर निद्रामा रहेको मृत शरीरलाई आगोले जलाएर पञ्च तत्वमा विलीन गराउनु। आगोले जलेर नष्ट भएपछि मृत शरीर र दाउराको खरानी बागमतीको पानीले पखाल्दै बागमती मै बगाउनु।

‘यतै हो घर मेरो’, उनले डिसी नेपासँगको कुराकानीमा भन्दै थिए। तर, हामीले अलि बढी नै अनुरोध गरेपछि उनले भने, ‘घर र थरमा कर नगर्नु नै भए हुने।’
उनको कुरालाई आत्मसाथ गर्यौं हामीले। जलिरहेको आगोमा परालको मुठा हाल्दै उनले भने, ‘वास्तवमा मान्छेको जीवन के छ र? मेरो तेरो भन्नु त केहीपनि छैन। मैले ९ वर्षदेखि दैनिक औषतमा ३÷४ शव जलाउँछु। अहिलेसम्म कसैको हातमा केही देखिन।’

जीवन आफूले देखे जस्तो नहुने उनको अनुभव छ। उनी आफूले भनेको कुरा र जीवको व्यवहारमा लागू हुने परिस्थिति फरक हुने गरेको अनुभव सुनाउँछन्। काठमाडौं प्रवेश गर्दाको उनको सोच र अहिलेको जीवन धेरै फरक थियो।

‘आदर्शको र व्यवहारको जीवन फरक छ। बाँचुन्जेललाई पो हो मान्छेको घमण्ड। मरेपछि त…’, उनी रोकिन्छन्। त्यतिखुसी देखिँदैनन् उनी। हामीले समस्याको बारेमा सोधपुछ गर्न खोज्यौं। ‘समस्या के भनौं, केही छैन। जीवन सम्झेरै दिक्क लाग्छ कहिले त। आज तपाईँ आफ्नो परिचय दिँदै आउनु भयो। मेरो समस्या सोध्दै हुनुहुन्छ के था’ कतिबेला कसको शरीरमा कसले आगो लगाउनु पर्ने हो।’

सबै कुराले सम्पन्न भएका घरबाट जव कलिलै उमेरका मान्छेहरुले आत्महत्या गरेको भन्ने सुन्दा आखाँबाट अनायाशै आशु खस्ने गरेको उनले अनुभव सुनाए।
उनले भने, ‘जव कलिलै उमेरका मान्छेहरु चितामा आउँछन्। आत्महत्या गरेको हो भन्ने उनीहरुका आफ्न्तको आवाज कानमा पर्छ। त्यो बेला आशु आँखामा बस्नै मान्दैनन्। खसेरै छाड्छ चिताको नजिकै। अनि मनबाट अनायाशै आउँछ हार्दिक श्रदाञ्जलि।’

यही काम गरेर जीवन गुजारा गरेका उनले भने, गुजारा चलेको छ भनौं। दिनभरी चिता जलाएपछि राति चुल्हो जल्छ। जवअरुको चिताको आगो निभ्छ अनि मेरो चुल्होमा आगो जल्छ।’

प्लास्टिकमा राखेको बनस्पति घ्यू जलिरहेको चितामा राख्दै थिए उनी। ‘जल्नमा मद्दत गर्छ,’ उनले भने, ‘कहिले कतै यो काठ बल्दैन, त्यसका लागि यो पराल, घ्यू आदि राख्नु पर्छ।’ गाउँमा शव दाह गर्दा तोरीको गेडा हालेर आगोलाई सल्काउने काम गरेको अनुभव उनले सुनाए।

अलिकति दाउराले पुरै शरीरलाई खरानी बनाउँनु सामान्य काम होइन। करिव १ घण्टा भन्दा बढीको समय लाग्ने गरेको उनले अनुभव सुनाए। कुनै कुनै शवमात्र अलि ढिलो हुन्छ। उनले भने, ‘उमेर पुगेको, रोग नलागेको शव आयो भने जलाउन धेरै समय लाग्दैन।

तर, युवा अवस्थाको व्यक्तिको शव आयो, लामो समयसम्म आइसमा राखेको शव आयो भने साह्रै गाह्रो पर्छ। मान्छेको शरीरले त रगत सकिएपछि पानी पायो भने शरीर भित्र लिँदो रहेछ। चिताको आगो नै निभाउने पानी झर्छ शरिरबाट’, उनले सुनाउँदै थिए।

धेरै कुराहरु खोल्न गाह्रो मान्दै थिए उनी। घरपरिवार, गाउँ, थर जस्ता विषयमा उठाएका प्रश्नहरुलाई त्यति राम्रोसँग सुन्न पनि रुचाएनन् गोपालले। गोपाल मनभरी भएका पीडाहरुलाई अनुहारमा झल्काउँदै चितामाथि लडिरहेको शवलाई जलाएर खरानी बनाउने काममा व्यस्त थिए।

‘मान्छेको अन्तिम यही हो। यति हो, यो भन्दा केही बढी छैन जीवनमा,’ उनले भने, ‘पाप गरेकी धर्म थाहा छैन। तर, यो उमेरमा धेरै शवहरुलाई खरानी पारियो। धेरै परिवारको आशु हेरियो यही घाटमा। कहिले कतै यो वागमती नदी देखेर पनि चित्त बुझाउँछु। यो वागमतीले म भन्दा पनि हजारौं लाखौ गुणा बढी मान्छेको खरानी बगाएको छ। आशु बगाएको छ। सपना बगाएको छ। केही पनि बाँकी राखेको छैन्। संसार बगाएको छ।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो