नेकपामा ट्वीस्टमाथि ट्वीस्ट, बोली फेर्दै प्रचण्ड

डिसी नेपाल
५ साउन २०७७ ८:१०

काठमाडौं। देशको सत्तारुढ पार्टी नेकपा बन्नुको पृष्ठभूमि नै एक ट्वीस्ट थियो, नेपाली राजनीतिमा। नेकपामा अहिले पनि केही न केही ट्वीस्टहरु आइनै रहेका छन्। शुक्रबार बेलुकासम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य पारिन्छ कि जस्तो देखिएको वातावरण शनिबार दिउँसोसम्म पुग्दा ओली झन् बलियो बनेको देखियो। तर, आइतबार बिहानदेखि बेलुकासम्म भएका छलफल र भेटघाटले अवस्था फेरि अन्यौलतातर्फ धकेलिदिएको छ।

२०७४ असोजको मध्यमा तत्कालीन एमाले र माओवादीले गठबन्धन गरेर आसन्न आम निर्वाचनमा जाने घोषणा गर्दा माओवादी त्यो बेला काँग्रेससँग सत्ता साझेदारीमा थियो। त्यसबेला काँग्रेसलाई चक्मा दिएका तत्कालीन माओवादीका अध्यक्ष र हाल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अहिले नेकपामा आफ्नै मागलाई साथ दिन कम्मर कसिरहेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई चक्मा दिएका छन्।

शुक्रबार बेलुका प्रचण्ड निवासमा भएको प्रचण्ड–माधव समूहको छलफलमा पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएर भए पनि प्रधानमन्त्री केपी ओलीलाई राजीनामा गराउन बाध्य बनाउने निश्कर्ष निकालियो। तर, शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा ओली र प्रचण्डको एउटै बोली सुनिएको नेकपा सचिवालय नेताहरुले नै बताएका छन्।

सचिवालय बैठक सकेर दुबै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गए भने प्रचण्डले धोका दिएको महशुस गरेका मावधकुमार नेपालले कोटेश्वरस्थित आफ्नै निवासमा आफू निकट नेताहरुसँग छलफल गरे।

‘पछिल्लो समय प्रचण्ड कमरेडले स्वतन्त्र निर्णय गर्न सक्नु भएन,’ नाम उल्लेख नगर्ने शर्तमा प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले डिसी नेपालसँग भने, ‘परिवन्धमा पर्नु भएको जस्तो अनुभूति हुन थालेको छ। माधव कमरेडको पनि दबाव होला, त्यो भन्दा बढी बाह्य दबावमा उहाँ हुनुुहुन्छ।

ओली र प्रचण्ड शितल निवासबाट बाहिरिँदासम्म दुई अध्यक्षबीच ‘सहमति’ भएको चर्चाले राजनीति बजार तताइसकेको थियो। नेता नेपालकै भरमा बुहमत जुटाउँदै ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफू प्रधानमन्त्री बन्ने सपना बुनिरहेका प्रचण्डले आफ्नै सहयात्री नेता नेपाललाई धोका दिएको भन्दै नेपाल समूह प्रचण्डप्रति आक्रोशित बन्यो।

यसपछि शनिबार मध्य राति प्रचण्डको सचिवालयबाट कुनै सहमति नभएको स्पष्टिकरण दिइयो। प्रचण्डकी स्वकीय सचिवको जिम्मेवारीमा रहेकी उनकी छोरी गंगा दाहालले सामाजिक संजालमाफर्त दुई अध्यक्षबीच सहमति नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेकी थिइन्। यो प्रकरणमा प्रचण्डले बोली फेरेको यो दोस्रो पटक थियो।

पहिलो पटक त बोली उनले शनिबार सचिवालय बैठकमा फेरिसकेका थिए। अघिल्लो दिन जसरी पनि प्रधानमन्त्रीको ओलीको राजीनामा गराउने निश्कर्ष निकालेका उनले शनिबार ओलीले ल्याएको अर्ली महाधिवेशनको प्रस्तावमा समर्थन जनाए। र आफू प्रधानमन्त्रीको राजीनामाको मागबाट पछाडि हटेको संकेत गरेका थिए।

तर, नेता नेपाल समूहले ‘दुईजनाले चोचोमोचो मिलाउँदैमा नहुने’ चेतावनी दिएपछि प्रचण्डले फेरि बोली फेरे। उनले आइतबार बिहान खुमलटारमा नेता नेपालसहितका नेताहरुसँग आफूले कुनै सहमति नगरेको बताए।

तर, आइतबार दिउँसो फेरि प्रचण्ड बालुवाटारमा झुल्किए। बालुवाटार निकट नेताहरुले भने प्रचण्ड आफैले प्रधानमन्त्रीसँग छलफलका लागि समय मागेको बताएका छन्। आइतबार दिउँसो बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबाहेक महासचिब विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। शनिबार शितल निवासमा पनि दुई अध्यक्षसँगै यी दुई नेता पनि गएका थिए।

प्रचण्डले यसरी बाली फेरेर चक्मा दिएको यो पहिलो घटना भने होइन। यसअघि वैशाख २० मा पनि यस्तै अवस्थामा उनको बोली फेरिएको थियो। त्यतिबेला पनि प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेको थियो। तर, अन्तिममा प्रचण्डले ओलीलाई समर्थन गरेका थिए। त्यसबेला पनि प्रचण्डले नेता नेपाललाई ‘धोका’ दिएका थिए।

‘पछिल्लो समय प्रचण्ड कमरेडले स्वतन्त्र निर्णय गर्न सक्नु भएन,’ नाम उल्लेख नगर्ने शर्तमा प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले डिसी नेपालसँग भने, ‘परिवन्धमा पर्नु भएको जस्तो अनुभूति हुन थालेको छ। माधव कमरेडको पनि दबाव होला, त्यो भन्दा बढी बाह्य दबावमा उहाँ हुनुुहुन्छ।’ यस्ता व्यवहार र बोलीको प्रचण्डको हाइट घट्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे।

यो पटक भने प्रचण्डले बोली फेरेर प्रधानमन्त्री ओली तथा नेता नेपाल दुबैलाई ‘धोका’ दिए जस्तो अवस्था बनेको छ। प्रचण्डको ढुलमुले बानीले नोक्सान पनि उनलाई नै पुगेको छ। महाधिवेशनमा जाँदा पनि न केपी ओलीको समर्थन पाउने कर्म गरे न माधव नेपालको।

गएको असाढ १० गते शुरु भएको नेकपा स्थायी कमिटी बैठमा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि चर्केको विवादको किनारा कसरी लाग्छ भन्ने अनुमान गर्न राजनीतिक पण्डितहरुलाई नै गाह्रो भइरहेको छ। असाढ १८ पछि ओली र प्रचण्डबीच ७ पटक वार्ता भइसकेको छ। स्थायी कमिटी बैठक पनि स्थगित भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *