बाढीले बूढीगङ्गाका चार गाउँ विस्थापित

डिसी नेपाल
५ साउन २०७७ १४:०१

मार्तडी। लगातारको वर्षाका कारण अधिकांश बस्ती पहिरो र बाढीको उच्च जोखिममा छन्। अविरल वर्षाका कारणले गर्दा गोरेटो बाटो हुँदै पक्की सडक र ग्रामीण सडक अवरुद्ध बनेका छन्।

बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका–१ र २ वडाका बस्ती पहिराका कारण विस्थापित भएका छन्। सोही नगरपालिका–१ मा पर्ने कुँडी र अम्कोट तथा २ वडामा पर्ने बजेडी, नडाङ, मुस्तोला, ताप्रीसेरालगायत बस्ती विस्थापित भएका छन्। आइतबार आएको अविरल वर्षात्ले नडाङ खेतकोटबाट बग्ने पानीमूल र ठाडो खोलाबाट मिसिएको घट्टेखोलाको बाढीले सोही दुई वडाका ताँप्रीसेरा, मुसी र खर्राकाखेतीयोग्य जमीन बगरमा परिणत भएको २ का वडाध्यक्ष हिरालाल थापाले बताए।

गए राति आएको अविरल वर्षाका कारण बजेडीका ६ परिवारका घर माथिबाट पहिरो आएपछि चर्किएकाले विस्थापित भई छिमेकीका घरमा सरेको स्थानीय अगुवा खड्कराज जोशीले बताए। पहिराले पूरै गाउँ जोखिममा छ। लामो समयदेखि आएको पहिरो र बजेडीमा पानी परेपछि स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका छन्। पानी आएका बेला गाउँमा भेला भएर बालबालिकालाई काखमा च्याप्दै मानिस जाग्राम बस्ने गरेको स्थानीयवासी गमे ल्वारले बताए।

यसैगरी सोही वडा नडाङका १० परिवार घर चर्किएपछि शिवशङ्कर प्राथमिक विद्यालयमा बसेका छन्। घरमाथिबाट पहिरो आएपछि स्थानीयवासी त्रसित बनेका छन् । अविरल वर्षाका कारण बाढी र पहिराले वितण्डा मच्चाएको छ। खेतीयोग्य जमीन बगाएर लगेको छ भने लगाइएको खेती पहिराले पुरिएको अवस्था छ ।

ताँप्रीसेरा बजारभित्रै बाढी पसेर लाखौँको क्षति भएको छ। घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका व्यापारी गोपाल थापाको पसल बगाएर लाखौँको क्षति भएको छ। बाढी पसलभित्र छिरेपछि आफू भागेर बचेको र पसल पूरै बगाएको स्थानीयवासी व्याापारी गोपाल थापाले बताए।

वर्षासँगै आएको बाढीले साँफे–मार्तडी सडकखण्डको घट्टेखोलामा निर्माण भएको पक्की पुल बगाएको छ। खोलाले बगाएर ल्याएका ढुङ्गामुढा पुलमा अड्किएपछि बाढी ताँप्रीसेरा बजार पसेको स्थानीयवासी आशा थापाले बताए। महिनादिनको धानखेती बगरमा परिणत भएको स्थानीय रमेश थापाले बताए। पक्की पुल बगाउँदा यातायात ठप्प भएको छ।

गए राति आएको बाढीले बूढीगङ्गा नगरपालिकामा ठूलो क्षति भएको खबर आएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए।

खहरे खोलाले बगायो पुल

बाजुरा खण्डको साँफे –मार्तडी सडकअन्तर्गत जिल्लाको बूढीगङ्गा–२ ताँप्रीसेरामा रहेको पक्की पुल खोलाले बगाएको छ। गए राति परेको अविरल वर्षासँगै घट्टेखोलामा आएको बाढीका कारण उक्त पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साँफे–मार्तडी सडकअन्तर्गत धेरै ठाउँमा पहिरो आएर आजदेखि यातायात पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख भट्टराईको भनाइ छ । पुलसँगै अमकोटमा पहिरो आएर दुई हप्तादेखि सडक अवरूद्ध भएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *