प्रदेश नं १ : बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार

डिसी नेपाल
६ साउन २०७७ ९:५७

मंगलबारे। गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ। इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो। माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फसेका थिए। सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुको सकुशल उद्धार गरेको थियो। भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उनीहरु आपतमा परेका थिए।

साँझमा बाढीमा फस्नुभएका उनीहरुलाई राति सकुशल उद्धार गरिएको थियो। रातिको समयमा लाइफ ज्याकेट लगाएर आवश्यक सुरक्षाका साथ उहाँहरुको सफल उद्धार गरिएपछि परिवारमा समेत खुशीयाली छाएको छ।

पूर्वी पहाडका विद्युत् उत्पादनमा समस्या

आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ। अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो।

जम्मा भएर आएको भेलका कारण कतै विद्युत् उत्पादनगृहभित्र नै पानी पसेर समस्या आएको छ भने कतै पहिरोका कारण पाइपमा समेत क्षति पुगेको काबेली करिडोर प्रसारण लाइन आयोजनाले जानकारी दिएको छ। कतिपय आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको र केही आयोजनाको कम मात्रै बिजुली उत्पादन हुन थालेको छ।

इलामको पुवाखोला जलविद्युत् आयोजनामा सबै पानी पसेर समस्या भएको छ। त्यस्तै पाँचथरमा सञ्चालित विभिन्न आयोजनाबाट उत्पादन भएको बिजुली घटेको छ। पाँचथरमा ३७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो तर हाल घटेर करिब आठ मेगावाट मात्रै उत्पादन भएको काबेली करिडोरले जानकारी दिएको छ।

पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीका विभिन्न आयोजनाबाट ४० मेगावाट बिजुली उत्पादन हुँदै आएकामा त्यो पनि हाल घटेको छ। वर्षा बढी हुँदा हिउँदका दिनमा कम चलेका आयोजनाको उत्पादन वृद्धि भए पनि पहिरो र बाढीका कारण कतिपय विद्युत् उत्पादनमा क्षतिसमेत भएको छ।

भोजपुरमा पहिरोको कारण क्षति

भोजपुर– लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ। पहिरोका कारण पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा टीकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जङ्गबहादुर तामाङकोे भान्साघर पुरिएको प्रहरीले जनाएको छ।

टीकारामको घरको गाह्रो भत्किँदा तामाङको पाँच कुखुरा मरेका छन्। घर भत्किएपछि उनको परिवार स्थानीय गजेन्द्र तामाङको घरमा गई बसेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिए।

यस्तै वर्षाका कारण आम्चोक गाउँपालिका–१० पाङ्चामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको पर्खाल भत्किँदा विद्यालयको शौचालयको सेफ्टीट्याङ्की पूर्णरूपमा क्षति भएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको स्वास्थ्यचौकीको पनि पर्खाल लडेको छ । पर्खाल लडेपछि प्रहरी चौकी वैकुण्ठे जाने भित्री सडक अवरुद्ध भएको छ ।

यसैबीच अरुण गाउँपालिका–४ ओदानेमा पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको छ। सोमबार सडकभन्दा माथिबाट पहिरो झरेर अवरोध बनेको राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको हो । पौवादुङ्मा गाउँपालिका–२ स्थित तिवारीभञ्ज्याङमा पनि पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्गको सडक एकतर्फीरूपमा सञ्चालनमा आएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *