साराह अल अमिरीः पूरै अरब जगतले गौरव गर्ने ३३ वर्षीया यी मुस्लिम महिला को हुन् ?

डिसी नेपाल
६ साउन २०७७ १२:२२

काठमाडौं। संयुक्त अरब इमिरेट्सले विज्ञानको क्षेत्रमा ठूलो फड्को मारेको छ । फड्को पनि सानोतिनो होइन अन्तरिक्षमा मंगल ग्रहसम्मको फड्को । युएइले मंगल ग्रहको लागि आफ्नो अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । पूरै अरब जगतमा पहिलो पटक भएको यो ‘मंगल मिशन’को सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसको नेतृत्व एक महिलाको हातमा छ । महिलाहरुलाई बुर्काभित्र लुकाउने र बाहिरी संसारमा कैयौं प्रतिबन्ध लगाइने मुस्लिम समुदायकी यी ३३ वर्षीया महिला अहिले पूरै अरब जगतको लागि गौरव बनेकी छिन् ।

यी महिला वैज्ञानिकको नाम हो साराह अल अमिरी । साराहको नेतृत्वमा भइरहेको यो मंगल मिशन सफल भएमा पूरै अरब जगतको लागि ठूलो कोसेढुंगा हुनेछ । यो सफलताको लागि पूरै अरब जगतको आशाको केन्द्र साराह नै हुन् । युएइको यो अन्तरिक्षयानलाई ‘अमल’ नाम दिइएको छ जसको अर्थ ‘आशा’ हुन्छ । युएइको यो ऐतिहासिक अभियानको सुरुवात जापानको तनेगाशिमा अन्तरिक्ष केन्द्रमा भएको थियो । यहाँबाट युएइको अन्तरिक्ष मिशन एच २ ए नामक रकेटको माध्यमले मंगल ग्रहतर्फ पठाइएको हो ।

यो अन्तरिक्ष यान ५० करोड किलोमिटरको दूरी पार गर्दै २०२१ को फेब्रुअरीसम्म मंगल ग्रहमा पुग्नेछ । त्यहाँ गएर यसले मंगल ग्रहको मौसम र जलवायुको अध्ययन गर्नेछ । यो परियोजनासँगै अरब जगतका महिलाहरुको लागि आदर्श बनेकी साराहले यो मिशनको नेतृत्व गरिरहेकी छिन् । युएइजस्तो देश, जहाँ सामान्यतया महिलाहरुलाई पर्दापछाडि राखिन्छ, त्यहाँ साराहलाई यति महत्वपूर्ण मिशनको जिम्मेवारी दिइनु सबैभन्दा उल्लेखनीय पक्ष हो ।

साराहलाई अब विश्वले चिनेको छ । साराहले एक अन्तरवार्तामा आफू यो मिशनलाई लिएर आफू ‘नर्भस’ भएको बताएकी थिइन् । यसमा आफूसहितको टिमको ६ वर्षको परिश्रम रहेको बताउँदै उनले यसको सफलतामा आफूहरुको अगाडिको यात्रा तय हुने बताइन् । उनले यो मिशनबाट आफू धेरै आशावादी भएको पनि बताएकी छिन् । साराह यो मिशनमा त्यतिबेला जोडिएकी थिइन् जतिबेला युएइसँग कुनै अन्तरिक्ष एजेन्सी समेत थिएन । २०१४ मा युएइले आफ्नो अन्तरिक्ष कार्यक्रम घोषणा गरेको थियो ।

साराहका अनुसार यो मिशनलाई सफल बनाउन उनको टिमले दैनिक १२ घण्टासम्म काम गरेका छन् । यस क्रममा धेरै चुनौतीमो सामना पनि गर्नुपर्यो यद्यपि ती चुनौतीले उनको टिमलाई धेरै कुरा सिकाएका छन् । साराहले आफूले यो परियोजनाको नेतृत्व गर्न पाउँदा गौरव लागेको बताइन् । सानैदेखि अन्तरिक्ष विज्ञानमा रुचि राख्ने साराहले अमेरिकी विश्वविद्यालयबाट कम्प्युटर विज्ञान अध्ययन गरेकी छिन् ।

२०१४ मा युएइले आफ्नो अन्तरिक्ष मिशन घोषणा गरेपछि साराहलाई यसको नेतृत्वको जिम्मेवारी दिइएको थियो । साराहका अनुसार १५० जनाको उनको टिममा महिलाको संख्या अधिक छ । ३३ वर्षकी साराह यो परियोजनामा डेप्युटी प्रोजेक्ट म्यानेजर हुन् । ब्रह्माण्डमा रहेको एन्ड्रोमिडा ग्यालेक्सीको तस्वीर हेर्दै साराहले यसलाई शब्दमा बयान गर्न कठिन भएको तर यसलाई महसुस गर्न सकिने बताइन् । साराहका अनुसार उनी कलेजमा हुँदा मध्य एशियाका विश्वविद्यालयमा उच्च शिक्षाका निकै सीमित अवसर थिए तर अब युएइमा विज्ञान र प्रविधिमा उच्च शिक्षाका नयाँ ढोका खुल्ने उनले आशा व्यक्त गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *