‘एंकर’ले बोल्न नदिएपछि अभिनेत्रीले लाइभ कार्यक्रममै खाइन् खाना

डिसी नेपाल
६ साउन २०७७ १७:५४

काठमाडौं । भारतीय पत्रकार अरनव गोस्वामीले चलाउने ‘द डिबेट’ कार्यक्रम निकै आलोचित मानिन्छ। उनले कार्यक्रममा बोलाइएका व्यक्तिहरुलाई बोल्न नदिएर निरन्तर आफ्नो कुरामात्रै राखिरहने भन्दै उक्त कार्यक्रमको भारतमै पनि आलोचना हुन्छ।

केही समय पहिला नेपालले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि उक्त बहसमा अरनवले नेपाली पाहुनाहरूलाई आफ्नो कुरा राख्नै नदिई एकोहोरो नेपालको बदख्वाइँ गरेको भन्दै खुब आलोचना भएको थियो। उनका हरेक कार्यक्रम प्रसारणपछि त्यसमा सहभागी व्यक्ति र दर्शकहरूले सामाजिक सञ्जालमार्फत् आफ्नो असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।

यसैबीच सोमबार उक्त कार्यक्रमको एउटा भिडियो भाइरल भएको छ, जसमा एक दक्षिण भारतीय अभिनेत्री अरनवको लाइभ कार्यक्रममा खाना खाँदै गरेको देखिइन्। कस्तुरी शंकर नामकी ती अभिनेत्रीलाई अरनवले आइतबारको आफ्नो बहसमा डाकेका थिए। बहसमा अरू पाहुना पनि थिए। तर, सधैंझैं कार्यक्रममा अधिकांश समय अरनव एक्लै बोलिरहे। पाहुनाहरूले आफ्नो धारणा राख्ने समय नै पाएनन्।

यसबीच अरनव एकोहोरो बोलिरहेका बेला कस्तुरी शंकर लाइभ कार्यक्रमकै बीचमा मज्जाले खाना खाइरहेको देखिइन्। धेरैले अभिनेत्री कस्तुरी शंकरको उक्त कदमको प्रशंसा गरे। अरनवको एकात्मक शैलीमा सही ढंगले जवाफ दिएको भन्दै उनको तारिफ भयो।

भिडियो भाइरल भएपछि अभिनेत्री कस्तुरीले सामाजिक सञ्जालबाटै आफ्नो प्रतिक्रिया दिँदै लेखेकी छन्, ‘मैले ६० मिनेटसम्म अरनवको हाइपरमोड हेरेर बिताएँ। उनी त्यसै पनि मलाई आफ्नो कुरा राख्न दिनेवाला थिएनन्। त्यसैले, मैले कार्यक्रम छाडेर खाना खाएँ। तर, मैले आफ्नो स्काइप बन्द गर्न बिर्सेछु। यसका लागि म क्षमा चाहन्छु। यसबाट कसैको अपमान गर्ने मेरो उद्देश्य थिएन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *