आखिर गले प्रचण्ड भने, ‘बैठक रोकौं, सहमति खोजौं’

तर्कबहादुर थापा
१३ साउन २०७७ १५:१७

काठमाडौं। प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरे। अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले जस्तो सुकै परिस्थिति परे पनि बैठक सुचारु गर्नु पर्छ भन्दै बालुवाटारमा एकतर्फी बैठक बसालेको समाचार बाहिरियो।

अध्यक्ष प्रचण्डले ओलीलाई बाइपास गरी स्थायी कमिटीको बैठक बसालेपछि सामाजिक सञ्जालमा तरङ्ग उत्पन्न भयो। नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका पर्यटन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत पार्टी खतराको नजिक पुगेकोले रोकिएर सल्लाह गर्न आग्रह गरे।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले उपाध्यक्ष बामदेव गौतमसहितका नेताहरु दाहालले अध्यक्षता गरेको बैठकमा सहभागी भएको सूचना दिए। उनका अनुसार बामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरु प्रचण्डले अध्यक्षता गरेको बैठकमा उपस्थित थिए।

मंगलबार विहानमात्र नेकपाका उपाध्यक्ष समेत रहेका नेता वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई नै ५ वर्ष सरकार चलाउन दिनुपर्ने र अध्यक्ष पनि उहाँ नै हुनुपर्ने भन्दै विज्ञप्ति नै निकाले। जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यसरी, बेला बेलामा चरम उत्कर्षमा पुग्ने नेकपाको विवादमा कहिलेकाँही अल्पविराम लाग्छ। वार कि पार गर्ने भनेर उत्तेजित हुँदै एकतर्फि बैठक बसालेका अर्का अध्यक्ष प्रचण्ड भन्छन्, ‘बैठक रोकौं, सहमति खोजौं।’

स्रोतले डिसी नेपालसँग भन्यो, ‘जवरजस्ती भएपनि बैठक बसाउने र निर्णायक मोडमा पुग्ने भन्ने अध्यक्ष (प्रचण्ड)ज्यूको अभिव्यक्तिले केही हुन्छ जस्तो अनुभव भएको थियो। आखिर गल्नु भयो उहाँ र भन्नु भयो, ‘धेरै उत्तेजित नबनौं। संवादका लागि प्रयास जारी राखौं। पार्टी एकतालाई आघात पर्ने काम नगरौं।’

स्रोतका अनुसार नेकपाका अध्यक्ष प्रधानमन्त्री ओली भने कुनै पनि कुरामा हल्लेका छैनन्। उनी जस्तो सुकै परिस्थितिको पनि सामना गर्न तयार छन्। उनले पार्टीभित्र नेताहरुले सैद्धान्तिक नभई अन्य शक्तिले अह्राएको भरमा विवाद ल्याउने गरेको समेत बताउने गरेका छन्। ‘यसरी संचालित साथीहरुको मानसिकताकोपछि लागेर पार्टी र देशलाई मैले अफ्ठेरोमा पार्नु छैन्,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टी एकता कायम राख्न र देशमा स्थायीत्व दिनका लागि नै मैले केही कुराहरु अटेर गरेको जस्तो देखिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *