एक वर्षदेखि खानेपानी अवरुद्ध

डिसी नेपाल
२० साउन २०७७ ८:५८

किमाथाङ्का । सङ्खुवासभाको बृहत् मांसीमा खानेपानी आयोजना अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ। सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन विसं २०७० मा मांसीमा खानेपानी आयोजनाको काम शुरु भएको हो। मांसीमा खानेपानी आयोजना हस्तान्तरण भएको दुई महिनामै बन्द भएको थियो।

खानेपानी आयोजनाले पाँचपटक म्याद थप गरेर निर्माण कम्पनीले २०७४ पुसमा निर्माण सम्पन्न गरेर २०७६ जेठमा आयोजना हस्तान्तरण गरेको थियो। हस्तान्तरण भएको दुई महिनापछिबाट खानेपानी आयोजना सञ्चालन हुन नसकेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।

४५ करोड एक लाख ५५ हजारमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पानी उपभोक्ताले भने पाउन सकेका छैनन्। सिनोटिक एण्ड आशिष कम्पनीले योजना सम्पन्न गरेर हस्तान्तरण गरेको दुई महिना नबित्दै सडकमा बिछ्याइएको पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी आपूर्ति सञ्चालन हुन नसकेको खानेपानीका प्रमुख श्रेष्ठले बताए। निर्माण कम्पनीले २०७४ पुसमा योजना सम्पन्न गरे पनि मर्मतसम्भारसहितको काम दुई चरणमा पूरा गरी दुई वर्षपछि २०७६ जेठमा हस्तान्तरण गरेको थियो।

सदरमुकाम खाँदबारीको खानेपानी अभाव अन्त्य गर्न ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसीबाट पानी ल्याइएको थियो । खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउरालीसम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रको मुख्य पाइप पूर्णरूपमा काम नलाग्ने भएकाले खानेपानी अवरुद्ध भएको हो। सडकमा विस्तार भएको पाइप फेर्दा ठूलो मात्रामा खर्च लाग्ने भएकाले खर्च अभावमा पाइप मर्मत गर्न नसकिएको खानेपानीका प्रमुख श्रेष्ठले बताए।

किमाथाङ्का–खाँदबारी सडकखण्डमा पाइप विस्तार गरिएकाले समस्या भएको हो। यस सडकखण्डमा बेलाबेला सडक चौडा पार्ने र मर्मतकार्य भइरहेको छ । यस सडकखण्डमा काम गरिरहेको उत्तरदक्षिण (कोशी) सडक आयोजना कार्यालयले पटक–पटक सडकमा पाइप नराख्न भने पनि खानेपानी आयोनाले त्यसलाई बेवस्ता गर्दै मुख्य सडकमै पाइप विस्तार गरेको थियो । खानेपानी सञ्चालन हुन नसक्दा खाँदबारी नगरपालिका–१ देखि ९ वडाका विभिन्न स्थान, चिचिला गाउँपालिकाको चिचिलाबजार क्षेत्र र कुवापानीसहितका तीन हजार ५०० घरधुरी खानेपानीबाट वञ्चित हुनुपरेको छ।

खानेपानी वर्ष दिनसम्म बन्द रहँदासमेत यसमा सम्बन्धित पक्षको ध्यान पुग्न नसकोको उपभोक्ताको गुनासो छ । खानेपानी संस्थाले जडान शुल्कवापत उपभोक्ताबाट अग्रिमरूपमा रु दुई करोड ५० लाखभन्दा बढी रकम उठाए पनि पानी खान नपाउँदा स्थानीयवासी आक्रोशित छन् । गलत डिजाइन र गलत परामर्शका कारण सडकमा पाइप लाइन विस्तार गरिएकाले अहिले यस्तो समस्या आएको खानेपानी संस्थाका अध्यक्ष नरेन्द्र राई बताए। पाइप सडकमा बिछ्याउने काम नै गलत भएकाले अहिले पानी वितरण गर्न नसकिएको अध्यक्ष राईले बताए। दाताको सहयोगबिना संस्थाले पाइप मर्मत गरी पानी वितरण गर्न नसक्ने उनको भनाइ छ ।

आयोजनाका लागि उपभोक्ताबाट थप रकम

खानेपानी योजना निर्माण सम्पन्न गरी हस्तान्तरण भएको दुई महिना पछि सञ्चालन हुन नसकेको योजना मर्मतका लागि पुनः उपभोक्तासँग थप रकम लिने भएको छ । पाइपलाइन मर्मतका लागि तेस्रो साना सहरी खानेपानी आयोजनाले रु चार करोडभन्दा बढी रकम दिने भएपछि खानेपानी संस्थाले पुनः उपभोक्ता मार्फत थप पाँच प्रतिशत रकम उठाउने खानेपनी संस्थाले जनाएको छ । तेस्रो साना सहरी खानेपानी आयोजनाले पुरानै स्थानमा पाइप रहनेगरी मर्मतका लागि बोलपत्र आह्वान गरेको हो ।

खानेपानी संस्थाले यसअघि जडान शुल्क बापत उपभोक्ताबाट अग्रिमरूपमा रु दुई करोड ५० लाख (पाँच प्रतिशत) भन्दा बढी रकम उठाएको थियो । खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउरालीसम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रमा मुख्य पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी संस्थाले पुनः मर्मत गर्न लागेको हो । खानेपानी संस्थाले पुनः सडकमा नै पाइप राख्ने गरी योजना सञ्चालन हुन लागेको खानेपानी संस्थाले जनाएको छ । सडकभन्दा बाहिरबाट पाइप विस्तार गर्न ठुलो रकम खर्च हुने भएकाले पुनः सडकमा नै पाइप विस्तार गर्न लागिएको खानेपानी संस्थाका अध्यक्ष राईले बताए।

मर्मतका लागि गरिएको बोलपत्र आह्वानमा गैरी पामा र कुवापानीमा रहेको पानी प्रशोधन ट्याङ्की र्ममतसहित क्षति भएको पाइप मर्मत गर्ने खुलाइएको छ । यता उपभोक्ता भने पुनः खानेपानी सञ्चालनमा आउन नसक्ने बताउँछन् । तेस्रो साना सहरी खानेपानी आयोजनाले गर्ने खर्च बालुवामा पानी हाले जस्तै हुन सक्ने भन्दै यसका लागि वैकल्पिक मार्ग प्रयोग गरेर पाइप विस्तार गर्नु पर्ने उभोक्ताहरुको माग छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *