हत्यार गरी फरार भएका अभियुक्त १७ वर्षपछि प्रहरी फन्दामा

डिसी नेपाल
२३ साउन २०७७ २२:३२

काठमाडौं। महिलाको हात छोएको विषयमा विवाद भई कुटपिटबाट हत्या गरी फरार रहेका एक जना आरोपीलाई झापा प्रहरीले पक्राउ गरेको छ। १७ वर्ष अघि बीरिकला माझीको हत्यामा संलग्न रही फरार रहेका झापाको तत्कालिन जलथल गाविस ८ हाल हल्दीबारी ५ का ४३ वर्षीय दुर्गाबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।

थापा मगरलाई प्रहरीले विहीबार राती मेचीनगर नगरपालिका १२ शहरेडाँगीस्थित रहेको आफन्तको घरमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी झापाका प्रमुख एसपी कृष्ण कोइरालाले बताए। उनका अनुसार मगरले टाघनडुब्बा गाविस वडा नं ४ हाल झापा गाउँपालिका सोही वडाका ४५ वर्षीय बीरिकलाल माझीलाई कुटपिट गर्दा मृत्यु भएको थियो। प्रहरीले मगरलाई शुक्रबार अपराह्न पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

२०६० कार्तिक ३० गते छोरीको घर जलथल आएका माझीलाई सामान्य विवादका क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएर मगर फरार भएका थिए। छोरीको घर आएका माझी साँझ ७ बजेतिर घुम्न निस्कने क्रममा साविक जलथल ८ स्थित मणिकुमार राईको भट्टी पसलमा चुरोट मागेकोमा पसल सञ्चालककी छोरीले चुरोट दिँदा हात समाएको भन्दै विवाद हुँदा पक्राउ परेका थापा र फरार रहेका खेम फुँयल सहितका ३–४ जनाले बिरीकलाल माझीलाई होटलमा भएको विवादकै निहुँमा एक्कासी भुईमा लडाई चिरपट दाउरा र बुटले प्रहार गरी गम्भिर घाईते बनाएका थिए। घाइते माझीको २०६० मङसिर ४ गते उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको थियो। घटनापछि दुर्गा तथा खेम बिरूद्ध ज्यान मारेको अभियोग लगाएर मृतकका ससुरा बिष्णुलाल माझीले कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।

झापा जिल्ला अदालतबाट २०७७ वैशाख ३० गते पक्राउ अनुमति लिएर खोजी तीव्र पारिएको जिल्लाका एसपी कृष्ण प्रसाद कोइरालाले जनाए। थापा मगरलाई प्रहरी निरीक्षक शाकारराज पन्तको कमाण्डमा खटिएको बिशेष टोलीले पक्राउ गरेको एसपी कोइरालाले बताए। अभियुक्त मगर आफ्नो घर नबसी काठमाडौं, भारतको कोलकत्ता ,दार्जिलिङलगायतका विभिन्न स्थान, वैदेशिक रोजगारीको लागि मलेसिया साथै दुबईमा समेत गई बसेको र नेपालमा हुँदा प्राय आफन्तहरुकै घरमा लुकिछिपि बस्ने गरेका थिए।

मगरलाई जिल्ला अदालत झापामा शुक्रबार पेश गरी पहिलो पटक ५ दिनको म्याद थपेर अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा उनलाई राखिएको छ। उनले मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको दफा १३ बमोजिमको कसुर गरेकाले जन्म कैद सम्मको सजाय हुन सक्ने व्यवस्था रहेको एसपी कोइरालाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *