सरकारविरुद्ध साझाको प्रतिस्थापन कला बिद्रोह

डिसी नेपाल
२५ साउन २०७७ ०:२३

काठमाडौं। कोरोना नियन्त्रणमा असफल सरकारले अपराधलाई प्रश्रय दिएको, भ्रष्टचारीलाई काखी च्यापेको, न्याय निमोठेको र भोकमरीको चपेटामा परेका जनताको अभिभावक हुन नसकेको भन्दै साझा पार्टीले शनिबार राजधानी काठमाडौंमा रचनात्मक विरोध प्रदर्शन गरेको छ।

नागरिकप्रतिको दायित्वलाई वेवास्ता गर्दै सरकार सत्ता र दलीय कुर्सीको लडाईंमा निर्लिप्त परेको भन्दै साझा पार्टीले ‘३६५ दिननै गाईजात्रा’ प्रतिस्थापन कला विद्रोह मार्फत सांकेतिक खबरदारी गरेको हो।

साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले कोरोना महामारीको बीचमा पनि ‘प्रतिस्थापन कला विद्रोह’ मार्फत सरकारलाई रचनात्मक तवरले सन्देशमूलक खबरदारी गर्न खोजिएको बताए।

यति प्रकरण, ७० करोड काण्ड, अख्तियार आयुक्त राजनारायण पाठक प्रकरण, ओम्नी प्रकरण, निर्मला हत्याकाण्ड, अंगीरा पासी हत्या, एसिड आक्रमण, गीता ढकालका हत्यारा उन्मुक्ति काण्ड, नवराज बिक लगायतको हत्या, बालुवाटार जग्गा प्रकरणमा मुछिएको सरकार सत्याग्रहीसंग अमानवीय प्रस्तुत भएको भन्दै रचनात्मक किसिमले सरकारलाई खबरदारी गरिएको उनले जनाए।

‘यस्ता प्रकरणहरु धेरै छन, दोषीलाई कारवाही, निमुखालाई राहत र आरोपीलाई न्यायको कठघरामा नल्याई सेलाउन दिनु हुँदैन’, उपत्यका विशेष साझा अभियानका संयोजक समेत रहेका नेता परियारले भने।

‘मलर सदाहरु भोकमरीले मर्ने, जनताहरुले राहत नपाउने, सबै क्षेत्रमा विचौलियाको जगजगी बढीरहेको छ, कोरोनाको त्रासमा कसैको पनि प्रतिरोध हुन्न भन्दै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, हामी प्रतिपक्षी दायित्वाट विमुख हुन सक्दैनौं’, नेता परियारले टिप्पणी गरे।

सरकारलाई विषम परिस्थितिमा पनि गैर जिम्मेवार र गैर जवाफदेही बन्ने छुट छैन भन्दै रचनात्मक विरोधका क्रममा मास्क र पन्जा अनिवार्य गराउँदै भौतिक दुरी कडाइका साथ कायम गरिएको नेता परियारले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *