यूएईमा ५ महिनामा ११० नेपालीको मृत्यु, ६९ शवको पराइ भूमिमै अन्त्येष्टि

डिसी नेपाल
२८ साउन २०७७ १५:३०

काठमाडौं । बितेको ५ महिनामा खाडी मुलुक यूएईमा ११० नेपालीको मृत्यु भएको छ । गएको ११ मार्चदेखि ११ अगष्टसम्म वैदेशिक रोजगारीको क्रममा यूएईमा रहेका ११० नेपालीले विभिन्न कारणले ज्यान गुमाएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृत्युका प्रमुख कारण प्राकृतिक मृत्यु, कोरोनाको संक्रमण, आत्महत्या, दुर्घटना र हत्या हुन्। यो अवधिमा मृत्यु भएका ६९ नेपालीको शव स्वदेश नल्याइ यूएईमै व्यवस्थापन गरिएको दूतावासले जनाएको छ। परिवारको सहमतिमा उनीहरूकाे उतै व्यवस्थापन गरिएको हो ।

लकडाउनका कारण  शव नेपाल ल्याउन समस्या भएकाेले शव उतै व्यवस्थापन गरिएको हो। यीमध्ये केही कोरोनाभाइरका कारण मृत्यु हुनेहरु पनि छन्। कोरोनाभाइरसका कारण मृत्यु भएकाको शव अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्वदेश ल्याउन पाइँदैन ।

त्यसैगरी २६ जनाको शव समस्यामा परेका नेपाली स्वदेश ल्याउन उडाइएका चार्टर्ज जहाजमा हालेर काठमाडौँ पठाइएको छ । अन्य ४ जनाको शव पनि नेपाल पठाउने तयारीमा रहेको दूतवासले जनाएको छ । बाँकी ११ वटा शवको विस्तृत रिपोर्ट दूतावासलाई प्राप्त भइ नसकेको दूतावासको भनाइ छ।

नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुको विवरण संकलन गर्न अप्रिल २८ तारिखदेखि अनलाइन फाराम खुला गरेको थियो। उक्त फाराम भर्नेहरुको संख्या हालसम्म ४२ हजार पुगेको दूतावासले जनाएको छ। यसबाहेका फर्कनको लागि फोन तथा इमेलबाट नाम टिपाउनेको संख्या पनि ५ हजार रहेको दूतावासले जनाएकाे छ ।

समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउन यूएईबाट हालसम्म ८२ वटा चार्टर्ड जहाजले काठमाडौँका लागि उडान भरिसकेका छन् । जसमा अहिलेसम्म १३ हजार ७८५ नेपाली मात्रै स्वदेश फर्किएको दूतावासले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *