दशरथचन्द राजमार्ग भासियो

डिसी नेपाल
१ भदौ २०७७ २३:४४

बैतडी। लगातारको वर्षाले दशरथचन्द राजमार्ग भासिएको छ। बैतडीको सतबाँझ–मुस्याचौर सडकखण्डको बल्लेजुडोमा सोमबार राजमार्ग भासिएको हो ।

कालोपत्र गरेको आधा सडक चिराचिरा परेर भासिएको छ । राजमार्ग भासिदा ठूला सवारी साधन सञ्चालनमा समस्या हुने गरेको चालक मानबहादुर टेरले बताए। भासिएको सडकमा सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम पनि बढेको छ । उनले भने, चार पाङग्रे हलुका सवारी साधन सञ्चालनमा रहेको भए पनि ठूला सवारी साधन सञ्चालनका लागि जोखिम बढाएको छ।”

करिब ५० मिटर जति सडक भासिएको हो । उक्त ठाउँमा गत वर्ष नै सडक छेउबाट भासिन शुरु गरेको थियो । भासिएको सडक मर्मतको काम पनि सँगसँगै थालिएको छ । लगातारको वर्षाले भने मर्मतमा समस्या आएको डिभिजन सडक कार्यलयले जनाएको छ ।

यस्तै बैतडीको पाटन नगरपालिका–३ मा पहिराले खानेपानीको पाइप बगाउँदा स्थानीयलाई खानेपानीको समस्या भएको छ । वडा नं ३ को दम्मोरा टोलमा आउने खानेपानीको पाइप पहिराले बगाएको हो । झालीमाली मुहानबाट खानेपानी ल्याइएको भए पनि पाइप लाइनको बीच भागमा पहिरो जाँदा करिब १०० मिटर पाइप बगाएको स्थानीय दीपेन्द्र पन्तले जानकारी दिए। आइतबार राति खसेको पहिराले खानेपानीको पाइप बगाएको छ । पहिराले खानेपानीको पाइप बगाएसँगै सो ठाउँका १० घर परिवार खानेपानीबाट वञ्चित भएका छन् ।

गाउँमा आउने खानेपानी अवरुद्ध भएपछि खोलाको दूषित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यता परेको पन्तको भनाइ रहेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *