दुबईको विमानस्थलमा खाने बस्ने ठेगान नभएका ८ नेपालीलाई छोडेर रित्तै फर्कियो जहाज

बिनेश खनाल
२ भदौ २०७७ १३:४४

काठमाडौँ । यूएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ८ जना नेपाली युवा बिचल्लीमा परेका छन् । स्वदेश फर्किन विमानस्थलमा पुगेका उनीहरु नेपाल सरकारले अकस्मात चार्टर्ड उडान रद्द गरेपछि अलपत्र परेका हुन्। मंगलबार बिहान स्थानीय समयअनुसार ३ :५५ बजे दुबईबाट नेपाल एयरलाइन्सको चार्टर्ड जहाज नेपालीहरुलाई बोकेर काठमाडौँका लागि उड्ने तालिका थियो । यो उडानका लागि २६२ जना नेपालीले टिकट काटेका थिए ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपालमा कोरोनाको संक्रमण बढिरहेको र विदेशबाट फर्किनेहरुका लागि आवश्यक क्वारेन्टिनको व्यवस्था भइनसकेको भन्दै उडानहरु रद्द गर्न सिफारिस गरेको थियो । सोहीअनुसार सरकारले मंगलबारबाट चार्टर्ड उडान रद्द गरेको हो ।

अन्तिम समयमा उडान रद्द भएपछि चितवनका बासुदेब चौलागाईँ, उदयपुरका नरमान राई, बाराका गणेश ढुंगाना, रुपन्देहीका उमाकान्त पाण्डे, कञ्चनपुरका लक्ष्मण चौधरी, रोल्पाका विशाल घर्तीमगर र बाँकेका शशी रोका विमानस्थलमा अलपत्र परेका हुन् । उनीहरु सबैजना आबुधाबीमा रहेको एडभान्स सिल्भर स्टार कम्पनीमा काम गर्थे । कोरोना महामारी बढेसँगै कम्पनी ठप्प भएको थियो । कम्पनीले यूएईका विभिन्न कम्पनीहरुमा कामदारहरु आपूर्ति गर्दै आएको थियो । तर, विगत ६ महिनादेखि कम्पनीका सबै साइटहरु ठप्प भएपछि त्यहाँ कार्यरत करिब ४ सय जना नेपालीहरु रोजगारविहीन भएका थिए ।

कम्पनीबाट धैरैजसो नेपालीहरु यसअघिका चार्टर्ड फ्लाइटहरुमा आफ्नै खर्चमा टिकट काटेर फर्किसकेका छन् । अझै झण्डै १ सय जना फर्किने क्रममा छन् । रोजगारी गुमाएका उनीहरु सबैलाई ६ महिनाको अवधिमा कम्पनीले ७/८ सय दिराम मात्रै दिएको थियो । खान र बस्न भने कम्पनीले दिँदै आएको थियो ।

उनीहरु ८ जनाले भने मंगलबारको लागि टिकट काटेका थिए । ‘काम गुमाएपछि हामीहरुसँग पैसा थिएन । हामीले आफन्तलाई भनेर टिकटको व्यवस्था गरेका थियौँ,’ उदयपुर गाईघाटका नरमान राई भन्छन्, ‘तर, हामीलाई अन्तिम समयमा सरकारले उडानमा रोक लगायो भनियो । हामी त बर्बाद भयौँ । अब हाम्रो जाने ठाउँ कतै छैन ।’

राईका अनुसार आइतबार बेलुका नै उनीहरु कम्पनीबाट फाइनल आउट भएर दुबई आएका थिए । उनीहरुलाई नेपाल एयरलाइन्सका प्रतिनिधिहरुले फ्लाइट हुनुभन्दा २ दिन अघि नै आबुधाबीबाट दुबई आउन सुझाएका थिए । ‘हामीलाई कोरोनाको चेक पनि गर्नु पर्छ भन्दै २ दिन अघिनै दुबई आउन भन्नु भएको थियो । केही गरी उडान ढिलो भएमा एयरलाइन्स जिम्मेवारी नहुने भनिएको थियो,’ चितवनका बासुदेव चौलागाईँले भने, ‘त्यसैले हामी आइतबार बेलुका नै कम्पनीबाट बाहिरिएका थियौँ ।’

उनीहरुले एयरलाइन्सका प्रतिनिधि र टिकट बिक्रेता एजेन्सीले अन्तिमसम्म उडान तालिका रद्द भएको जानकारी नगराएको समेत गुनासो गरे । ‘हामी लगभग ५ बजे तिर विमानस्थलमा पुगेका थियौँ । हामीले टिकट देखायौँ । विमानस्थलमा रहेका कर्मचारी र सुरक्षा गार्डहरुले पनि फ्लाइट छ भनेर हामीलाई भित्र जान दिए,’ गाईघाटका राईले भने, ‘हामी बिहान चार बजेसम्म भित्रै बस्यौँ । तर, ४ बजेपछि मात्रै फ्लाइट क्यान्सिल भएको भन्दै हामीलाई बाहिर निकालियो । अहिले हामी वेटिङ कक्षमा छौँ ।’

जहाजले आफूहरुलाई नलगी रित्तै उड्ने भएपछि उनीहरुले आफ्नो समस्या नेपाल एयरलाइन्सका प्रतिनिधिहरु समक्ष राखेका थिए । तर, एयरलाइन्सका प्रतिनिधिहरुले यसमा एयरलाइन्स जिम्मेवारी नहुने जवाफ दिए । ‘जान नपाउने भएपछि हामीले आफ्नो समस्या सुनायौँ । विचल्ली हुने बतायौँ,’ रुपन्देहीका उमाकान्त पाण्डेले एयरलाइन्स प्रतिनिधिसँग भएको कुराकानी सुनाउँदै भने, ‘सरकारको निर्णयले उडान रद्द भएको र यसमा सरकार जिम्मेवार रहेको भन्दै आफ्ना समस्या सरकारका निकायहरुलाई राख्न भनियो ।’ एयरलाइन्सका प्रतिनिधिले त्यस्तो भनेपछि उनीहरुले आफ्नो समस्या दूतावासलाई सुनाउने निधो गरे । तर, दूतावासमा सम्पर्क गर्दा फोन नउठेको उनीहरुको भनाइ छ ।

उनीहरुले आफूहरु कम्पनीबाट फाइनल आउट भएर निस्किसकेकोले फेरि कम्पनीमा फर्किन नसक्ने बताए । कम्पनीबाट निस्किसकेपछि कम्पनी जिम्मेवार नहुने उनीहरुको भनाइ छ । ‘कम्पनीबाट आउट भइसकेपछि त्यहाँ फिर्ता जाँदा कम्पनी जिम्मेवार हुँदैन,’ गाईघाटका राईले भने, ‘हामीसँग आबुधाबी फर्कन पैसा पनि छैन । दुबई स्टेटबाट आबुधाबी जान कोरोना टेस्ट गरेको पिसिआर रिपोर्ट पनि चाहिन्छ । कम्पनीमा फर्कन त सम्भव नै छैन् । ’

राईका अनुसार उनीहरु सबैको भिसा सकिइसकेको छ ।  काम ठप्प भएपछि कम्पनीले भिसा नवीकरण गरेको थिएन । यसअघि कम्पनीले सबैजनाको ६ महिना ओभर स्टे भएको फाइन तिरिदिएको थियो । त्यो अवधिमा पनि उनीहरु स्वदेश फर्किन पाएनन् । फेरि कम्पनीले २ पटकसम्म सय/सय दिराम तिरेर दुई हप्ताको फाइन भरेको थियो । अब उनीहरु २३ अगष्टसम्म फर्किसके भने थप जरिवाना भर्नु पर्देन । त्यसभन्दा बढी बस्नु परेमा दैनिक जरिवानाको रकम बढ्दै जान्छ । उनले भने, ‘अहिलेसम्मको फाइन त कम्पनीले तिरिदिएको थियो । अब त कम्पनी पनि जिम्मेवार हुँदैन । गोजीमा एक पैसा पनि छैन । बस्ने कहाँ हो, खाने के हो केही टुंगो छैन । हाम्रो त सरकारले जसरी भए पनि उद्धार गर्नुपर्छ । होइन भने त हामी भोकै मर्ने अवस्थामा छौँ । ’

उनीहरुले आफूसँग पानी किनेर खानेसमेत पैसा नभएको बताएका छन् । राती एनआरएनए यूएईका प्रतिनिधिहरु आएर केही खाने कुरा दिएको राईले बताए । ‘एनआरएनएका दाईहरुले हिजो त केही खानेकुरा ल्याएर दिनुभएको थियो । आज पनि एक बजे खाना ल्याइदिने भन्नु भएको छ । एयरपोर्टको वेटिङ कक्षमा उहाँहरुलाई कुरेर बसेका छौँ ।’

अलपत्र परेका उनीहरुलाई आफूहरुले भेटेर केही खानेकुरा दिएको एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले डिसी नेपाललाई बताए । ‘हामीले राती उनीहरुलाई भेटेर अन्तर्राष्ट्रिय नेपाली समाज यूएईको तर्फबाट खाना दिएका थियौँ,’ शेर्पाले भने, ‘फेरि आज र भोलीको लागि व्यवसायी सुजन सापकोटा र पत्रकार मेघराज सापकोटाले खाना खुवाउने भन्नु भएको छ ।’

उपाध्यक्ष शेर्पाका अनुसार उडान रद्द भएको जानकारी समयमै नहुँदा ५० जनाभन्दा बढी यात्रुहरु विमानस्थलमा पुगेका थिए । जहाजले यात्रु नबोकी रित्तै फर्किने भएपछि आफ्नो बस्ने ठाउँ भएकाहरु भने विमानस्थलबाट फर्केका थिए । फर्किने विकल्प नभएका ८ जना भने विमानस्थलमै बसिरहेको उनले बताए ।

काठमाडौंबाट घरविदामा आएका नेपाली बोकेर नेपाल एयरलाइन्सको चार्टर्ड विमान सोमबार राती उडेको थियो । सोही विमानले यूएईमा समस्यामा परेका नेपाली फर्काउने तालिका थियो । तर, अकस्मात सीसीएमसीले नेपालमा कोरोनाको संक्रमण बढिरहेको र विदेशबाट फर्किनेहरुका लागि आवश्यक क्वारेन्टिनको व्यवस्था भइनसकेको भन्दै उडानहरु रद्द गरेपछि दुबईबाट उक्त जहाज रित्तै काठमाडौँ फर्किएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *