यूएईको विमानस्थलमा अलपत्र पारिएका २६२ जनाका लागि आइतबार चार्टर्ड उडान हुने

डिसी नेपाल
४ भदौ २०७७ २२:०२

काठमाडौं। नेपाल फर्किन लगेजसहित यूएईको दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पनि गत मंगलबार नेपाल फर्किन नपाएका २६२ जना नेपालीहरु आगामी आइतबार नेपाल आउन पाउने भएका छन्। नेपाल एअरलाइन्सको विशेष उडानमाफर्त उनीहरुलाई नेपाल ल्याउने तयारी भएको हो।

नेपाल एअरलाइन्सका टिकाराम पँगेनीले आगामी आइतबार दुबईबाट नेपालका लागि उडान हुने डिसी नेपालसँग पुष्टि गरे। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गएको सोमबार अचानक सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान रित्तै फर्किनु परेको थियो भने एअरपोर्टमा आइसकेका २६२ जना नेपालीहरु त्यहिँ अलपत्र परेका थिए।

यसरी नेपालीहरु अलपत्र परेपछि त्यसको व्यापक आलोचना भएको थियो। आलोचना र विरोध भएपछि सरकारले विशेष अनुमति दिएको हो।

अलपत्र परेका २६२ जना नेपाल आउन पाउने भए पनि उनीहरुले फेरि कोरोना परीक्षण गर्नुपर्ने भएको छ। एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले  २६२ जना नेपालीका लागि आइतबार उडान हुने भन्दै फेरि कोरोना परीक्षण गराउन सूचना गरेका छन्।

उनले भनेका छन्, ‘गत अगस्ट १८ तारिख नेपाल एअरलाइन्सको उडान हुन नसकेर एअरपोर्टबाट फर्किनु भएका सबै २६२ जना यात्रुहरुले २३ अगस्ट विहानको उडानको लागि आ–आफ्नो टिकटको मिति परिवर्तन गराउन भोलि २१ अगस्ट नै नेपाल एअरलाइन्सको अफिसमा जानू होला। साथै अस्ति गरेको आरडीटी वा पीसीआर टेस्टको समयावधि पनि सकिएको हुनाले भोलि र पर्सी भित्र पुनः आरडीटी टेस्टका लागि अल शबाब अल अहली क्लवमा वा पीसीआर टेस्ट गर्न समेत जानाकारी प्राप्त भएको हुनाले सबैमा अवगत गराउन चहान्छु।’

सीसीएमसीले नेपालमा कोरोनाको संक्रमण बढिरहेको र विदेशबाट फर्किनेहरुका लागि आवश्यक क्वारेन्टिनको व्यवस्था भइनसकेको भन्दै सरकारलाई उडानहरु रद्द गर्न सिफारिस गरेको थियो। अन्तिम समयमा उडान रद्द भएपछि चितवनका बासुदेब चौलागाईँ, उदयपुरका नरमान राई, बाराका गणेश ढुंगाना, रुपन्देहीका उमाकान्त पाण्डे, कञ्चनपुरका लक्ष्मण चौधरी, रोल्पाका विशाल घर्तीमगर र बाँकेका शशी रोका विमानस्थलमा अलपत्र परेका थिए।

कम्पनीबाट फाइनल आउट भएर विमानस्थल पुगेका उनीहरुको फर्केर जाने ठाउँ थिएन। उनीहरु सबैजना आबुधाबीमा रहेको एडभान्स सिल्भर स्टार कम्पनीमा काम गर्थे। विगत ६ महिनादेखि कम्पनीको काम ठप्प भएपछि रोजगारविहीन भएका उनीहरुसँग पैसा समेत थिएन।

उनीहरु ८ जनासहित २६२ नेपाली ल्याउन दुबईको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको नेपाल एयरलाइन्सको जहाज रित्तै काठमाडौं फर्केको थियो। जहाजले यात्रु नबोकी रित्तै फर्किने भएपछि आफ्नो बस्ने ठाउँ भएकाहरु भने विमानस्थलबाट फर्केका थिए। फर्किने विकल्प नभएका ८ जना भने विमानस्थलमै बसेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *