गाउँपालिकाविरुद्ध सूचना आयोगमा पुनरावेदन
बैतडी। नेपाली काँग्रेस पञ्चेश्वर गाउँपालिका समितिले गत साउन ११ गते ‘गाउँपालिकामा विभिन्न शीर्षकमा गरेको खर्चको विवरण’ सम्बन्धी सूचना माग गरेको छ। विभिन्न शीर्षकमा गरिएको खर्चको विवरणसहित २१ बुँदे माग गरिएको सूचना नपाएपछि समितिले गाउँपालिकाविरुद्ध आवश्यक कारवाही र माग गरेको सूचना उपलब्ध गराउनुपर्ने भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीमार्फत शुक्रबार सूचनाको माग गर्दै गाउँपालिकाविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पठाइएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीले जानकारी दिए।
गत साउन ११ गते विभिन्न २१ बुँदे माग सहित गाउँपालिकामा निवेदन दर्ता गराएर सूचनाको माग गरिएको भएपनि सूचना प्राप्त नभएकाले जिल्ला प्रशासन कार्यालय र हुलाकमार्फत राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाएको नेपाली काँग्रेस पञ्चेश्वर गाउँपालिका सभापति रामबहादुर चन्दले जानकारी दिए। उनले भने, ‘हामीले गाउँपालिकासँग सूचनाको हक प्रयोग गरेर सूचना मागेका थियौं । गाउँपालिकाले सूचना उपलब्ध नगराएपछि राष्ट्रिय सूचना आयोगलाई गुहारेका हौं ।’
सात दिनभित्र सूचना दिनुपर्ने भन्दै समितिले साउन ११ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएको थियो । गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाहलाई विपक्षी बनाएर राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाइएको हो । काँग्रेसले विभिन्न शीर्षकमा गरेको खर्चका विषयमा गाउँपालिकासँग सूचना माग गरेको थियो । सूचनाको हक सम्बन्धि ऐन प्रयोग गरेर सूचना माग्दा समेत नपाइएकाले आयोगमा पुनरावेदन दिएको भण्डारीले जानकारी दिए।
लकडाउनका बेला वितरण गरेको राहतको विवरण, पञ्चेश्वर गाउँपालिकाद्वारा निर्माण गरिएका विभिन्न सडक र स्वास्थ्य क्षेत्रमा गरेको खर्च विवरण माग गरिएको बताइएको छ । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment