एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइराला निलम्बित, कारवाही प्रक्रिया अघि बढाइयो

डिसी नेपाल
६ भदौ २०७७ १६:२०

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) यूएईका अध्यक्ष प्रकाश कोइराला निलम्बनमा परेका छन् । शुक्रबार नेपाल एसोसिएसन यूएईले एक विज्ञप्ति जारी गर्दै कोइरालालाई निलम्बन गरेको जनाएको छ ।

एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले जारी गरेको उक्त विज्ञप्तिमा कोइरालाले दिएको स्पष्टीकरणको औचित्य पुष्टि हुन नसकेको ठहर गर्दै बोर्ड बैठक र सिडिएको स्वीकृतीलाई आधार मानी निलम्बन गरिएको जनाइएको छ ।

यूएईमा एनआरएनए त्यहाँको कानुनअनुसार एक सामाजिक संस्थाका रुपमा नेपाल एसोसिएसनका नाममा दर्ता छ । यसअघि एनआरएनए तथा नेपाल एसोसिएसनको नेतृत्व रमेश श्रेष्ठले गरिरहेका थिए । तर, हाल एनआरएनए यूएईको नेतृत्वमा प्रकाश कोइराला थिए । नेपाल एसोसिएसनको नेतृत्वमा भने श्रेष्ठ नै थिए । कानुनी रुपमा नेपाल एसोसिएसनका नाममा दर्ता भए पनि एसोसिएसन नै आधिकारिक एनआरएनए हो ।

एनआरएनए यूएईकाे आन्तरिक नियमअनुसार पनि एनआरएनएको अध्यक्ष नै एसोसियसनको अध्यक्ष बन्ने प्रावधान छ । तर, कोइराला एनआरएनएको नेतृत्वमा आइसकेपछि पनि श्रेष्ठले एसोसिएसनको अध्यक्षको जिम्मेवारी छोडेका थिएनन् । अहिले विवादकै बीचमा एनआरएनएको नेतृत्व कोइराला र एसोसिएसनको नेतृत्व श्रेष्ठले गर्दै आएका थिए । स्थानीय निकायमा कानुनी रुपमा एसोसियसन दर्ता भएकोले एनआरएनएले एसोसियसनको निर्देशनअनुसार चल्नुपर्छ ।

केहीदिनअघि मानव तस्करहरुसँग साठगाँठको आरोप लागेपछि एनआरएनए यूएईले आफ्ना केही पदाधिकारीहरुलाई निलम्बन गरेको थियो । यूके पठाइदिन्छु भनेर यूएई लगेर अलपत्र पारिएका दुई युवालाई ‘दलाल’ले उल्टै गुण्डा लगाइ मरणसन्न हुनेगरी कुटपिट गरेको विवादमा आफ्ना पदाधिकारी मुछिएपछि अध्यक्ष कोइरालाले तीन जनालाई निलम्बन गरेका थिए।

उनले कुटपिटमा संलग्न भएको आरोप लागेका एनआरएनए दुबई क्षेत्रका क्षेत्रीय अध्यक्ष भीम मल्ल ठकुरी र उपाध्यक्ष निराजन खत्रीलाई अनुसन्धान नसकिँदासम्मको लागि निलम्बन गरेका थिए । त्यस्तै पीडितहरु कुटिएको विषयमा संस्थाको निर्णयबिना एकलौटी ढंगले विज्ञप्ति जारी गरेको आरोपमा एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष नरबहादुर सेनलाई समेत निलम्बन गरिएको थियो । सोही प्रकरणले नै अहिले यूएईको एनआरएनए तातेको छ । कोइरालाले ३ पदाधिकारी निलम्बन गरेको प्रतिशोधमा श्रेष्ठले उनलाई नै निलम्बन गरिदिएको एनआरएनए यूएईकै अगुवाहरुले बताएका छन् ।

शुक्रबार जारी श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोइरालाले मानव तस्करी प्रकरणमा तानिएका दुबई कमिटीका पदाधिकारीहरूलाई छलफल नगरी तथा स्पष्टीकरणको मौका नदिइ निलम्बन गरेको, सदस्यहरुले दिएको राजीनामा सम्बन्धमा छलफल समेत नगरी स्वीकृत गरेको, एनएका बोर्ड अफ डाइरेक्टरलाई जानकारी नगराइ कानुनको उल्लघंन गरेको, लेटरहेड र आधकारिक सोसल मिडियाबाट सूचनाहरु प्रकाशित गर्नुपर्नेमा अनाधिकृत तरिकाले सूचना सम्पेष्ण गरेको, आाइएलओको परियोजनामा नेपाल एसोसिएसन बोर्डलाई जानकारी नगराएको, सदस्य छनौट समितिलाई आफ्नो स्वार्थ अनुरुप व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी आरोपित गर्दै पत्रकारलाई प्रायोजन गरी समाचार सार्वजनिक गरेको लगायतका आरोप लगाइएको छ । विज्ञप्तिमा कोइरालालाई अन्य आवश्यक कारवाहीका लागि सिडीए समक्ष प्रस्तुत गरिएको पनि बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *