एनआरएनए यूएईका पूर्वअध्यक्षसहितका केही पदाधिकारीलाई आजीवन सदस्यबाटै बर्खास्त गरिँदै

बिनेश खनाल
७ भदौ २०७७ १४:३२

काठमाडौं । आन्तरिक विवादले उग्ररुप लिएपछि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएई यतिबेला दुर्घटनातर्फ बढिरहेको छ । एनआरएनए यूएईका पूर्वअध्यक्ष समेत रहेका सल्लाहकार रमेश श्रेष्ठलाई आजीवन सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने तयारी गरिएको छ । श्रेष्ठसँगै उनको समर्थनमा रहेका केही पदाधिकारीहरुलाई समेत बर्खास्त गर्न लागिएको विशेष श्रोतले डिसी नेपाललाई जानकारी दिएको छ ।

श्रेष्ठले शुक्रबार अध्यक्ष प्रकाश कोइरालालाई नेपाल एसोसिएसनको बोर्ड अफ डाइरेक्टरको व्यवस्थापकबाट निलम्बन गरेको प्रेस विज्ञप्ति जारी गरेपछि एनआरएनए यूएईले आइसीसीको सहयोगमा श्रेष्ठ सहित उनको पक्षमा रहेका आधा दर्जनभन्दा बढी पदाधिकारीहरुलाई बर्खास्त गर्न थालेको श्रोतको दावी छ । उनीहरुको आजीवन सदस्यता समेत खोस्न थालिएको छ ।

‘संस्थाको नियमभन्दा माथि उठेर अध्यक्षलाई नै निलम्बन गरेको भन्दै प्रेस विज्ञप्ति निकालेपछि श्रेष्ठसहित अन्य केही पदाधिकारीलाई बर्खास्त गरिँदै छ,’ श्रोत भन्छ, ‘अब उनीहरु संस्थाको आजीवन सदस्य समेत रहने छैनन् ।’ श्रोतका अनुसार उनीहरुलाई बर्खास्त गर्न सबै प्रक्रिया पूरा भइसकेको छ । जसका लागि आइतबार साँझ एनआरएनए यूएईले आकस्मिक बैठक बोलाएको छ । बैठकले आधिकारिक निर्णय गरेर उनीहरुलाई बर्खास्त गरिने बताइएको छ ।

श्रेष्ठबाहेक बर्खास्त गर्न लागिएका अन्य पदाधिकारीहरु को–को हुन् भन्ने बारे भने श्रोतले बताउन चाहेन । ‘सबै कुरा बैठकको निर्णयपछि मात्रै बाहिर आउँछ । अन्य पदाधिकारीहरु पनि श्रेष्ठका समर्थक हुन् । जसले उनकै उक्साहटमा आएर संस्थाको नियमविपरित राजीनामा बुझाएका थिए ।’
शुक्रबार एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले कोइरालालाई उनले दिएको स्पष्टीकरणको औचित्य पुष्टि हुन नसकेको ठहर गर्दै बोर्ड बैठक र सिडिएको स्वीकृतीलाई आधार मानी निलम्बन गरिएको जनाएका थिए ।

श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोइरालाले मानव तस्करी प्रकरणमा तानिएका दुबई कमिटीका पदाधिकारीहरूलाई छलफल नगरी तथा स्पष्टीकरणको मौका नदिइ निलम्बन गरेको, सदस्यहरुले दिएको राजीनामा सम्बन्धमा छलफल समेत नगरी स्वीकृत गरेको, एनएका बोर्ड अफ डाइरेक्टरलाई जानकारी नगराइ कानुनको उल्लघंन गरेको, लेटरहेड र आधिकारिक सोसल मिडियाबाट सूचनाहरु प्रकाशित गर्नुपर्नेमा अनाधिकृत तरिकाले सूचना सम्प्रेषण गरेको, आाइएलओको परियोजनामा नेपाल एसोसिएसन बोर्डलाई जानकारी नगराएको, सदस्य छनौट समितिलाई आफ्नो स्वार्थ अनुरुप व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी आरोपित गर्दै पत्रकारलाई प्रायोजन गरी समाचार सार्वजनिक गरेको लगायतका आरोप लगाइएको छ । विज्ञप्तिमा कोइरालालाई अन्य आवश्यक कारवाहीका लागि सिडीए समक्ष प्रस्तुत गरिएको पनि बताइएको छ ।

यूएईमा एनआरएनए त्यहाँको कानुनअनुसार एक सामाजिक संस्थाका रुपमा नेपाल एसोसिएसनका नाममा दर्ता छ । यसअघि एनआरएनए तथा नेपाल एसोसिएसनको नेतृत्व रमेश श्रेष्ठले गरिरहेका थिए । तर, हाल एनआरएनए यूएईको नेतृत्वमा प्रकाश कोइराला थिए । नेपाल एसोसिएसनको नेतृत्वमा भने श्रेष्ठ नै थिए । कानुनी रुपमा नेपाल एसोसिएसनका नाममा दर्ता भए पनि एसोसिएसन नै आधिकारिक एनआरएनए हो ।

एनआरएनए यूएईको आन्तरिक नियमअनुसार पनि एनआरएनएको अध्यक्ष नै एसोसियसनको अध्यक्ष बन्ने प्रावधान छ । तर, कोइराला एनआरएनएको नेतृत्वमा आइसकेपछि पनि श्रेष्ठले एसोसिएसनको अध्यक्षको जिम्मेवारी छोडेका थिएनन् ।

केहीदिनअघि मानव तस्करहरुसँग साठगाँठको आरोप लागेपछि एनआरएनए यूएईले आफ्ना केही पदाधिकारीहरुलाई निलम्बन गरेको थियो । यूके पठाइदिन्छु भनेर यूएई लगेर अलपत्र पारिएका दुई युवालाई ‘दलाल’ले उल्टै गुण्डा लगाइ मरणसन्न हुनेगरी कुटपिट गरेको विवादमा आफ्ना पदाधिकारी मुछिएपछि अध्यक्ष कोइरालाले तीन जनालाई निलम्बन गरेका थिए।

उनले कुटपिटमा संलग्न भएको आरोप लागेका एनआरएनए दुबई क्षेत्रका क्षेत्रीय अध्यक्ष भीम मल्ल ठकुरी र उपाध्यक्ष निराजन खत्रीलाई अनुसन्धान नसकिँदासम्मको लागि निलम्बन गरेका थिए । त्यस्तै पीडितहरु कुटिएको विषयमा संस्थाको निर्णयबिना एकलौटी ढंगले विज्ञप्ति जारी गरेको आरोपमा एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष नरबहादुर सेनलाई समेत निलम्बन गरिएको थियो । सोही प्रकरणले नै अहिले यूएईको एनआरएनए तातेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *