एउटा भारतीय खलनायकको नेपाल विरोधी बकपत्र

डिसी नेपाल
९ भदौ २०७७ ७:४६

काठमाडौं। भारतका पूर्व विदेश सचिव तथा नेपालका लागि भारतीय राजदूत श्यामशरणले सोमबार नेपालबारे एउटा आपत्तिजनक  लेख प्रकाशित गरे भारतीय अखबार द हिन्दूमा।

‘थिंकिङ थ्रु द नेपाल पोलिसी’ शीर्षकको आफ्नो लेखमा उनले नेपालले आफ्नो मिचिएको सीमाबारे जतिसुकै तथ्य, प्रमाण र कागजात प्रस्तुत गरे पनि त्यसको कुनै अर्थ नहुने जिकिर गरेर निर्लज्जता प्रदर्शन गरेका छन्।

उनको लेखमा नेपालको ओली सरकारले नयाँ नक्सा प्रकाशन गरेकोमा तीब्र आक्रोश त व्यक्त भएकै छ, आफ्नो भूमि दावी गर्ने नेपालको अधिकारलाई सिधा इन्कार गरिएको छ। उनले सय वर्षअघि देखि नै सो भूमि भारतमा रहेकोले जति प्रमाण कागजात पेश गरे पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूमि नेपालको नहुने दावी पेश गरेका छन्।

भारतको विदेश मन्त्रालयमा जीवन बिताएका श्यामशरणले किन यति गैरजिम्मेवार तर्क गर्दै नेपाल र नेपालीको राष्ट्रप्रेममाथि धावा बोले ? किनकि, नेपाल र नेपालीमाझ तथ्य र तर्क होइन ठूल्दाई प्रवृत्ति देखाउने भारतीय शासकको हेपाहा प्रबृत्तिका उनी एउटा महत्वपूर्ण व्यक्ति हुन्।

नेपाल विज्ञ भनेर आफूलाई चिनाउने श्यामशरणले सय वर्षदेखि भारतले उपभोग गरेको जमिन भन्ने तर्क गर्दै जे तथ्य ल्याए पनि त्यसलाई अस्वीकार गरिने तर्क गरेर भारतीय सत्ताधारीहरु नेपालसँगको सीमा वार्तामा कसरी प्रस्तुत हुँदैछन् भन्ने संकेतसमेत दिएका छन्।

उनले आफ्नो लेखमा नेपालले दिने आफ्नो भूमिको प्रमाण अस्वीकार गरिने कुराको तर्क गर्दा सय वर्षदेखि भारतमा रहेको भने पनि उनले आफ्नै मुलुकले हालै जारी गरेको विवादित नक्साबारे बताएका छैनन्। भारतले यतिबेला आएर नेपालको भूमि आफ्नो नक्साभित्र पारेर प्रकाशन नगरेको भए अहिले यस्तो विवाद आउँथ्यो? यसको जवाफ उनले दिएका छैनन्।

नेपाली सीमाभित्रको सो भूमि डोजर लगाएर नकोतरेको भए यतिबेला सीमाको सो विवाद आउँथ्यो? नेपाली भूमि जवर्जस्ती कोतरेर चीनसम्म पुग्ने बाटो बनाई गर्वका साथ उनकै रक्षामन्त्रीले उद्घाटन गरेर भूमि मिचाइलाई वैधता दिने प्रयास गरेको होइन? कालापानीमा भारतीय फौज राखिएको विषयमा दशकौंदेखि नेपालको संसदमा छलफल भएकै विषय हो।

भारतीय इशारामा चल्ने नेपालका राजनीतिक व्यक्तिहरुले सो कुरालाई गम्भीररुपमा उठाएनन् भन्दैमा नेपाली भूमिमा मनपरि गर्ने छुट छ र भारतलाई? यतिबेला भारतले आफ्ना एसेटहरुलाई सत्तामा निर्णायक बनाउन नसकेको साँचो हो। त्यसको छटपटीस्वरुप वर्तमान ओली सरकार ढाल्न जुनसुकै हर्कत गर्ने र सत्तारुढ नेकपाभित्र विवाद बढाउन उल्लेख्य भूमिका भारतले खेलेको कुरा पनि छर्लंगै छ।

यी श्यामशरण तिनै व्यक्ति हुन् जसले नेपालमा सशस्त्र हिंसा मच्चाएर हजारौं सोझा सिधा नेपालीको ज्यान लिने माओवादी विद्रोहलाई भारतको समर्थन र सहयोग गर्न महत्वपूर्ण योगदान दिए।

भारतको सो छटपटी उनको सो लेखमा प्रकट पनि भएको छ। उनले नेपाल राज्य भारतविरोधी भएको भन्दै राज्यलाई छोडेर नेपाली जनतासँग सम्बन्ध राख्ने तर्क गरेका छन्।

आफूलाई बौद्धिक व्यक्तित्व दावी गर्ने श्यामशरणलाई राज्य र जनता एकअर्काका परिपुरक हुन् भन्ने कुराको हेक्का किन आएन? जनता विनाको कुनै राज्य हुँदैन भन्ने कुरामा बुझ पचाएर लेख्दा उनी नेपाल र नेपालीमाझ थप घृणाका पात्र भएका छन्।

के भारत र श्यामशरणहरुले भारतको हेपाहा प्रबृत्तिका विरुद्ध नेपाली जनताले केपी ओली नेतृत्वलाई मत दिएर आम निर्वाचनमा जिताएको तथ्यलाई बुझेका छैनन्?

जनताकै दवावका कारण ओली सरकार नयाँ नक्सा जारी गर्न वाध्य भएको हो भन्ने वास्तविकतालाई नजरअन्दाज गरेर नेपाल राज्य र जनतालाई छुट्याएर सम्बन्ध राख्ने तर्क गर्नु श्यामशरणको अराजनीतिक तर्क त हुँदै हो नेपाल नीतिमा आफ्नो हेपाहा प्रबृत्ति पराजित हुँदै गएपछिको छट्पटाहट पनि हो।

वास्तवमा नेपाल र भारतबीचको सो सीमा विवाद दुवै देशले पटक पटक स्वीकार गर्दै आएको विषय हो र विगतका दुईपक्षीय सीमा वार्ताहरुमा कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय विवादित भएकोले आपसी सहमतिमा सुल्झाउने लिखित दस्तावेजहरुमा उल्लेख पनि छ।

उनी नै नेपालका लागि राजदूत हुँदा र भारतका लागि विदेश सचिव हुँदा पनि यसबारे कुरा भएको छ, दुई देशका बीचमा। यो घामजस्तै छर्लंग भएको तथ्यमाथि घुम ओडाउन खोज्ने उनको नियत के हो? स्पष्ट छ, उनले नेपालविरुद्ध पटक पटक अपराध गरेका छन्।

यी श्यामशरण तिनै व्यक्ति हुन् जसले नेपालमा सशस्त्र हिंसा मच्चाएर हजारौं सोझा सिधा नेपालीको ज्यान लिने माओवादी विद्रोहलाई भारतको समर्थन र सहयोग गर्न महत्वपूर्ण योगदान दिए। यसको प्रमाण विकीलिक्सले सार्वजानिक गरेको तत्कालीन अमेरिकी राजदूत माइकल ई मालिनोम्स्की वासिंगटन डिसीलाई पठाएको एउटा रिपोर्ट दिएको छ।

उनी भारतीय भूमिमा भएको १२ बुँदे सम्झौताका मुख्यपात्र त हुन् नै नेपालको तराईलाई नेपालबाट विभाजित गर्ने गरी षड्यन्त्रका योजनाकार पनि हुन्। उनलाई मुख्य राजनीतिक दलहरु विभाजित गरी मधेशकेन्द्रीत दल बनाउने मुख्य योजनाकार मानिन्छ।

सन् २००३ को डिसेम्बर ४ तारिकका दिन राजदूत मालिनोम्स्कीले पठाएको रिपोर्टमा भारतका विभिन्न निकायहरुले तत्कालीन समयमा आतंककारी घोषित माओवादीहरुलाई सहयोग गरिरहेको कुरा श्यामशरणले स्वीकार गरेको उल्लेख छ। माओवादीलाई आफ्नो प्रभावमा राख्न यस्तो गरिएको श्यामशरणको त्यसबेलाको भनाइ रहेको सो रिपोर्टमा उल्लेख छ।

नेपालमा उत्पन्न समस्यालाई समाधान गर्ने भन्दा पनि हतियार र पैसा दिएर हजारौं नेपाली सर्वसाधारण र सुरक्षाकर्मीको हत्या गराउने काममा श्यामशरणको संलग्नताले उनी नेपाली जनताका कति मित्र हुन् भन्ने कुरा प्रष्ट पारेकै छ।

नेपालप्रति हेपाहा प्रबृत्तिका कतिसम्म मसिहा हुन् भन्ने कुरा त उनी विदेश सचिव हुंदा नेपाल भ्रमणमा आएका बेला परिस्थितिबस तत्कालीन राजा ज्ञानेन्द्रले आघा घण्टा कुराएर भेट दिएको प्रसंगले नै देखाउँछ।

राजाले कुराए भनेर उनले राजा ज्ञानेन्द्रलाई सत्ताच्यूत गर्न इगो राखेको बताइन्छ। राजतन्त्र हट्दा नेपाललाई फाइदा वा वेफाइदा भन्दा पनि श्यामशरण कतिसम्म हेपाहा थिए भन्ने बुझाउन सो घटनाले मद्धत गरेको छ।

भारतका लागि रगत र पसिना निरन्तर बगाएर भारतीय भूमिको रक्षा गरिदिने नेपाली जनतालाई अपमानित गरेर नेपालमा गृहयुद्धको सूत्रपात गर्न भारतीय सत्ताको तागत लगाएको आरोप उनैले खेपेका छन्।

उनी भारतीय भूमिमा भएको १२ बुँदे सम्झौताका मुख्यपात्र त हुन् नै नेपालको तराईलाई नेपालबाट विभाजित गर्ने गरी षड्यन्त्रका योजनाकार पनि हुन्। उनलाई मुख्य राजनीतिक दलहरु विभाजित गरी मधेशकेन्द्रीत दल बनाउने मुख्य योजनाकार मानिन्छ।

नेपालप्रति उनको कुदृष्टिकै कारण नेपाल र भारतका बीचको सम्बन्ध विगतदेखि नै बिग्रँदै आएको हो भन्ने कुरामा नेपाल र भारतका बीच सुसम्बन्ध राख्न चाहने दुबै देशका विद्धानहरुमा सहमति देखिन्छ।

नेपाल र नेपालीबिरुद्ध षड्यन्त्र गर्नु भनेको भारतका लागि नेपाली जनताको रगत र पसिनाको योगदानको अपमान हो जुन उनी सक्रिय सत्तामा हुँदा त गरेका थिए नै सोमबार प्रकाशित लेख पनि त्यही बाटो लिएको देखिएको छ।

भारतको भूमि र त्यहाँका जनताको रक्षाका लागि झण्डै ७० हजार नेपालीहरुले आजसम्म पनि भारतीय फौजमा सक्रिय रहेर रगत र पसिना बगाइरहेका छन्। भारतका सबैभन्दा तनावपूर्ण सीमाको सुरक्षामा नेपालीहरु भर्ती गरिएको गोर्खा रेजिमेण्ट नै खटिएको छ र हरेक पल्टको झडपमा नेपालीले ज्यान गुमाएका वा रगत बगाएका छन् भारतको सीमा रक्षाका लागि।

भारतका बैरी काट्ने देशका नागरिकको देशको केही भूमि हडपेर त्यसलाई पचाउन अराजनीतिक तर्कहरुको सहारा लिँदै लेख प्रकाशित गरेर उनले नेपाल र नेपालीले भारतका लागि बगाइदिएको रगतको चर्को अपमान गरेका छन् जुन अक्षम्य छ कम्तिमा राष्ट्रभक्त नेपालीका लागि।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा आएर भारतले कुनै पनि युद्ध जितेको छैन जसमा नेपालीको रगत नबगेको होस् भनेका थिए। श्यामशरण र श्यामशरणजस्ता नेपालविरोधी भारतीय सत्ता र खलपात्रहरुले आफ्नै प्रधानमन्त्री मोदीको सो भनाइ झूठ थियो भन्ने प्रमाणित गर्दैछन्।

जसले भारतको प्रत्येक इन्च भूमि रक्षा गर्न रगत बगाएको छ उसले भारतजस्तो शक्तिशाली देशको भूमि दावी गर्ने अभिष्ट राख्ला? त्यसैले थप एउटा प्रश्नको उत्तर अझै दिनु जरुरी छ भारतीय सत्ता र उसका नेपालविरोधी खलपात्रहरुले कि जसका लागि नेपाली जनता अझै रगत बगाउँदै छन् तिनको रगतको मूल्य उनकै भूमि मिचेर दिनु न्याय संगत हो?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *