कलेजो पूरै बिग्रिइसकेको थियो, वैज्ञानिकले शरीरभित्रै नयाँ कलेजो विकास गरे

डिसी नेपाल
१३ भदौ २०७७ १०:१७

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले कलेजो बिग्रिइसकेको शरीरभित्र नयाँ स्वस्थ कलेजो विकसित गर्ने काममा सफलता पाएका छन् । अहिले अनुसन्धानको क्रममा वैज्ञानिकहरुले सुँगुरको शरीरभित्र नयाँ स्वस्थ कलेजो विकसित गरेका हुन् । उनीहरुले यो सफलतासँगै अब मानिसको शरीरमा पनि यसैगरी नयाँ कलेजो विकसित गर्न सकिने बताएका छन् । पिट्सवर्ग युनिभसिर्टीका वैज्ञानिकहरुले ६ वटा सुँगुरहरुको लिम्फ नोडमा पूर्ण आकारको कलेजो विकसित गरेका हुन् । वैज्ञानिकहरुको यो अनुसन्धानको रिपोर्ट विश्वविद्यालयको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ

वैज्ञानिकहरुका अनुसार अध्ययनका क्रममा जनावरको कुनै एक अंग कुनै रोगका कारण बिग्रिएमा पनि यो स्वस्थ हुने र शरीरले अर्को अंग विकसित गर्न सक्ने पाइएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार कलेजोमा आफैंलाई विकसित गर्ने क्षमता हुन्छ । यसको सानो भाग मात्रै प्रत्यारोपण गरिएमा पनि यो विस्तारै विकसित भएर पूर्ण आकारको कलेजो बन्न सक्छ । शरीरमा रहेको लिम्फ नोडमा कलेजोका कोषिका विकसित गर्न सकिन्छ कोशिकाहरु किलेर संख्या बढाउनेछन् र पूरा कलेजो तयार हुनेछ ।

वैज्ञानिकहरुले यो अध्ययनको लागि कलेजोले काम गर्न छाडिसकेका ६ वटा सुँगुर छानेका थिए । अनुसन्धानको क्रममा वैज्ञानिकहरुले ती सुँगुरहरुको रक्त सञ्चारलाई डाइभर्ट गरे त्यसपछि शरीरमा भएको बिरामी कलेजोको कोषिकाको एउटा अंश लिए जसलाई हेप्याटोसाइट्स पनि भनिन्छ । यी कोषिकालाई सुँगुरको लिम्फ नोडमा प्रत्यारोपण गरियो । अनुसन्धान गर्ने वैज्ञानिक डा. एरिक लागेस भन्छन्, ‘यदि हेप्याटोसाइट्सलाई सही स्थानसम्म पुर्याइन्छ भने नयाँ कलेजो विकसित गर्न सक्छ । साधारणतया स–साना क्षति कलेजो आफैंले निको पार्छ ।’

वैज्ञानिकका अनुसार केही समयपछि सुँगुरमा विकसित भएको कलेजोको अध्ययन गरियो । अध्ययनमा नयाँ कलेजो पुरानो कलोजोभन्दा अलि ठूलो र धेरै विकसित थियो । यस्तै एक अनुसन्धान मुसामाथि पनि गरिएको थियो जुन सफल रह्यो । यो प्रयोग ठूला जनावरमाथि गर्नका लागि एक दशक लाग्यो । अनुसन्धान रिपोर्टमा बताइए अनुसार सुँगुरमा कलेजो बिग्रिँदा पनि लिम्फ नोडमा एउटा नयाँ कलेजो विकसित गर्न सकिने पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *