चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत गृहलाई अनुसन्धान केन्द्र बनाइने

डिसी नेपाल
१४ भदौ २०७७ २३:२२

काठमाडौं। वाग्मती प्रदेश सरकारले चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत् गृहलाई पूर्वाधार सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ । तीनवटै आयोजना ऐतिहासिक महत्वका भएकाले अनुसन्धान केन्द्रका रुपमा विकास गर्न लागिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राससलाई जानकारी दिए।

पूर्वाधार सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास गरेपछि बाह्य एवं आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्न सकिने सोच प्रदेश सरकारले अघि सारेको छ । विसं १९६८ मा निर्माण गरिएको जलविद्युत् आयोजना चन्द्रज्योति विद्युत् गृह एशियाको दोस्रो र नेपालकै पहिलो हो । दक्षिणकाली नगरपालिकामा पर्ने यो जलविद्युत् गृहलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको जनाइएको छ ।

विसं १९६८ जेठ ९ गतेदेखि ५०० किलोवाट क्षमताको विद्युत् उत्पादन शुरु भएको थियो । रु सात लाख १३ हजारको लागतमा निर्माण भएको यो आयोजनाको विद्युत् फर्पिङबाट उत्पादित विद्युत्लाई ११ केभी वितरण प्रणालीद्वारा काठमाडौँ उपत्यकामा आपूर्ति गरिएको थियो । बेलायत सरकारको आर्थिक सहयोगमा यो आयोजना निर्माण भएको थियो ।

विसं १९७८ मा निर्माण शुरु गरिएको सुन्दरीजल विद्युत् गृह नेपालको दोस्रो जलविद्युत् आयोजना हो । यहाँबाट विसं १९९१ देखि जलविद्युत् उत्पादन शुरु भएको थियो । सरकारकै स्रोतमा निर्माण भएको भने यो पहिलो आयोजना हो । यहाँबाट ६४० किलोवाट विद्युत् उत्पादन भएको छ । यो आयोजना गोकर्णेश्वर नगरपालिका–१ मा पर्छ । वाग्मती नदीबाट ल्याएर सुन्दरीजल बसपार्क नजिकैको आयोजनामा विद्युत् निकाली बाँकी रहेकोे पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले उपत्यकामा पिउनका लागिसमेत वितरण गरिरहेको छ ।

दक्षिण एशियाकै मानव निर्मित यातायात प्रयोजनको पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्छ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्ली जङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको थियो । हाल यो मार्गको २८० मिटरमात्र बाँकी रहेको जनाइएको छ ।

तीनैवटा सम्पदाको सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास एवं संरक्षणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको पनि उनले सुनाए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *