राजविराजमा एक घर एक पीसीआर अभियान

डिसी नेपाल
१५ भदौ २०७७ ०:१३

सप्तरी। सहयोद्धा नामक सामाजिक संस्थाले सप्तरीको राजविराजमा एक घर एक पीसीआर अभियान सुरु गरेको छ । सप्तरीको राजविराज नगरपालिकालाई केन्द्रित गरेर उक्त संस्थाले एक घर एक पीसीआर परिक्षण अभियान सुरु गरेको हो ।

संस्थाले अभियान अन्तर्गत आइतबार पहिलो चरणमा राजविराज नगरपालिका वडा नम्बर ८ मा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ । मिसन कलेजमा दिउँसो साढे ३ बजे देखि सुरु भएको कार्यक्रम ६८ घरबाट ६८ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेको हो । स्वाब संकलनका लागि राजविराज नगरपालिका वडा नं ८ कार्यालय र सप्तरी युथ नेपालको समन्वयमा गरिएको थियो । कार्यक्रममा स्थानियहरुले समाजिक दूरी कायम राखी जिम्मेवार नागरिकको भूमिका निभाएकोले स्वाब संकलनका लागि सहज भएको संस्थाका अध्यक्ष रवीन्द्र यादवले बताए ।

‘एक एकको अमूल्य छ जीवन, कोरोनाको रोकथाम हो परीक्षण’ नाराका साथ पहिलो चरणको कार्यक्रममा संस्थाका सदस्यहरुले सुरक्षाका उपायहरू अपनाएर सम्पन्न भएको हो। संस्थाका सह सचिव सत्यम यादव अनुसार अभियानका लागि राजविराज नगरपालिकाको जनस्वास्थ्य महाशाखाले समेत सहकार्य गरेको छ। महाशाखाको समेत समन्वयमा संस्थाको टिमले घरघर पुगेर स्वाब संकलन गर्ने आउन अनुरोध गर्ने गरेको छ। स्वाब संकलनका लागि नगरपालिकाले स्वास्थ महाशाखाका ३ जना कर्मचारी र वडा प्रहरी कार्यलयले २ जना प्रहरी समेत उपलब्ध गराएको थियो।

अभियानले कम्तीमा एक घरबाट एकजनाको स्वाब संकलन गरि परीक्षणका लागि गजेन्द्र नारायण अस्पतालमा पठाउनेछ।

कोरोना भाइरसको बढ्दो अवस्था र सरकारको जति गर्नुपर्ने हो, त्यति नगरेका कारण संस्थाले अभियान सुरु गरेको संस्थाका प्रमुख सल्लाहकार रोशन यादवले बताए । अभियानबाट सरकारलाई खबरदारीका साथै गुणस्तरीय क्वारेन्टिन तथा आइसोलेशनको व्यवस्था गर्न दबाब समेत दिने उनले बताएका छन् । अभियानको दोश्रो चरणको स्वाब संकलन कार्य वडा २ मा आउने शनिवार गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *