अध्यक्ष र वडाध्यक्षले सुटुक्क वडा कार्यालय सारेको भन्दै गाउँपालिकामा तालाबन्दी

डिसी नेपाल
१५ भदौ २०७७ १३:४९

चितवन। चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ। विवादकाबीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन्।

यसअघि गाउँसभालेसमेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो। सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस्तावमा प्रष्ट बहुमत नपुगेपछि चुम्लिङटार र फिस्लिङमध्ये कहाँ राख्ने भनेर टुङ्गो लागेको थिएन।

वडा कार्यालय फिस्लिङ राख्नुपर्ने प्रस्ताव वडाध्यक्ष गोवद्र्धन अधिकारीको थियो भने चुम्लिङटार हुनुपर्ने प्रस्ताव वडा सदस्य डिलबहादुर चेपाङको रहेको थियो । दुवै प्रस्तावमा जनप्रतिनिधिहरुको सङ्ख्याबाट बहुमत नपुगेपछि वडा कार्यालय कहाँ रहने भनी टुङ्गो लाग्न सकेको थिएन ।

असन्तुष्ट स्थानीयवासी शिव पौडेलले कोरोनाका कारण निषेधाज्ञा जारी रहेको समयमा स्थायीरुपमा वडा कार्यालय फिस्लिङ सार्ने मनसायले गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको मिलेमोतेमा वडाध्यक्ष अधिकारीले स्थानीयलाई थाहा नै नदिई सुटुक्क वडा कार्यालय सारेको आरोप लगाएका छन् ।

उनले विवाद समाधान नभई वडा कार्यालय अन्यत्र सारेकाले दवाब दिन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको बताए । गाउँपालिका अध्यक्ष र वडाध्यक्षले जनताको माझ पर्ने स्थान छाडेर आफ्नै गाउँ फिस्लङमा वडा कार्यालय सारेको भन्दै विवाद समाधान नभएसम्म ताला नखुल्ने असन्तुष्ट स्थानीयवासीहरुले चेतावनी दिएका छन् ।

तर, वडाध्यक्ष अधिकरीले वडा कार्यालय कता सार्ने भन्ने विवाद नटुङ्गिएसम्मका लागि तत्काल कार्यालय सञ्चालन गर्न अस्थायीरूपमा फिस्लिङस्थित क्लबको भवनमा सामान लगिएको बताए ।

उनले आगामी गाउँसभामा पारित हुने स्थानमा नै वडा कार्यालय स्थापना हुने भन्दै स्थानीयलाई आक्रोशित नबन्न आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष गुरुङले पनि तत्कालका लागि अस्थायीरूपमा मात्र वडा कार्यालय सञ्चालन गर्न लागिएको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *