कोरोनाको ‘हटस्पट’ बनेको रंगेली महिना दिनमै कोरोनामुक्त हुने बाटोमा

डिसी नेपाल
१७ भदौ २०७७ ११:५५

मोरङ। साउनको पहिलो साता देशव्यापी रुपमा लकडाउन हटेसँगै मोरङमा पनि सामुदायस्तरमा कोरोना भाइरस फैलियो।  समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि एक नम्बर प्रदेशको राजधानी विराटनगरपछि रंगेली नगरपालिकामा कोरोना भाइरस संक्रमितको सङ्ख्या धेरै थियो।

रंगेलीमा यतिबेला भने सक्रिय सङक्रमित तीन जना रहेका छन् त्यो पनि लक्षण नै नदेखिएका। संक्रमित १ सय २५ मध्ये १ सय १९ जना निको भएर घर फर्किसकेका छन्। साउन २० गतेदेखि ठप्प भएको रंगेलीको जनजीवन विस्तारै पुरानै लयमा फर्किन थालेको छ। देशैभर कोरोना भाइरसबाट आक्रान्त भइरहेको बेला रंगेलीले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा भइरहेको छ।

संक्रमित १ सय २५ मध्ये १ सय १९ जना निको भएर घर फर्किसकेको रंगेली नगरपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले डिसी नेपाललाई बताए। निको हुनेमा ६ महिनाकी शिशु, १५ बालबालिका, एक जना ज्येष्ठ नागरिक, एक जना गर्भवती, ६५ पुरुष र ३६ महिला रहेको मण्डलले जानकारी दिए।

‘कन्ट्याक्ट ट्रेसिङ सकिएको र नगरपालिकाको आइसोलेसेन सेन्टरमा अव तीन जना पुरुष संक्रमित मात्र बाँकी छन्। क्वारेन्टाइनमा रहेका सात जनाको पिसिआर गर्न बाँकी छ,’ मण्डलले भने, ‘अन्य स्थानीयमा समेत कोरोनाका लक्षणहरु देखिएको छैन।’

नगरपालिकाले अन्तिम चरणको ट्रेसिङका क्रममा ४ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा कोही पनि संक्रमित नदेखिएको हो। त्यसअघि पाँच चरणमा २ हजार १ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा १ सय २५ संक्रमित देखिएका थिए।

संक्रमणको मुख्य केन्द्र रंगेली–७ स्थित बजार क्षेत्रलाई तत्कालै सिल गर्नु, नगरपालिकाद्वारा बेलैमा क्वारेन्टाइन र आइसोलेसन सेन्टरको स्थापना गर्नु, लकडाउनको पूर्ण पालन, मास्कको नियमित प्रयोग, सामाजिक तथा भौतिक दूरीको पालना र व्यक्तिगत सरसफाइप्रति स्थानीय सदैव सचेत रहनाले नै नियन्त्रणमा सहयोग पुगेको नगरपालिका प्रमुख दिलिप अग्रवालले जनाए।

‘संक्रमितमध्ये अधिकांश बजार क्षेत्रकै थिए, थोरै पनि ढिलो नगरी बजार क्षेत्रलाई सिल गरेर यहाँ हरेक घरका सदस्यको पीसीआर परीक्षण गर्यौं,’ उनले भने, ‘रिपोर्ट नआउन्जेल कसैलाई पनि घर बाहिर निस्कन दिएनौं, पोजिटिभ देखिएका सबैलाई तुरुन्तै नगरपालिकाको आइसोलेसन सेन्टरमा राख्यौं।’ रंगेलीको जनसंख्या करिब ५२ हजार रहेको छ।

संक्रमणको मुख्य केन्द्र रंगेली–७ स्थित बजार क्षेत्रलाई तत्कालै सिल गर्नु, नगरपालिकाद्वारा बेलैमा क्वारेन्टाइन र आइसोलेसन सेन्टरको स्थापना गर्नु, लकडाउनको पूर्ण पालन, मास्कको नियमित प्रयोग, सामाजिक तथा भौतिक दूरीको पालना र व्यक्तिगत सरसफाइप्रति स्थानीय सदैव सचेत रहनाले नै नियन्त्रणमा सहयोग पुगेको हाे।

नगरपालिका कार्यालयको प्रत्यक्ष निगरानीमा स्वस्थ भोजनको तयारी र उचित स्वास्थ्य हेरचाहका कारणले आइसोलेसन सेन्टरमा आएको दुई सातादेखि २० दिनमै अधिकांश संक्रमित निको भएको अग्रवालले बताए। कोरोना भाइरससम्बन्धी भ्रामक प्रचारप्रसार एवं होहल्लाले आत्तिएर वा डराएर संक्रमितको मानसिक तथा शारीरिक स्वास्थ्य बिग्रने हुने भएकाले यतातिर निकै सचेत रहेको र संक्रमितको उपचार र परामर्शका लागि आइसोलेसन सेन्टरमा एमडी स्तरको चिकित्सकको सेवा लिइएको उनले बताए।

नगर प्रमुख अग्रवालले भने, ‘स्थानीयले पनि अटेर गरेनन्, सबै दल र जनप्रतिनिधिको सहयोग रह्यो, उपचारका लागि स्थानीय आफै अगाडि आए, अहिले पनि मास्क नलगाई कोही बाहिर निस्कँदैनन।’ संक्रमण उत्कर्षमा हुँदा पीसीआर परीक्षणको रिपोर्ट नआउन्जेल स्थानीय घर बाहिर निस्कन नदिएको र पोजिटिभ आएपछि सोझै आइसोलेसन सेन्टरमा लग्ने गरेको हुनाले सोचेभन्दा चाँडो नियन्त्रण भइरहेको उनले बताए।

सुरुमा भारतबाट आएर क्वारेन्टाइनमा रहेका १० जना, एकै पटक एकै परिवारका १४ जनासहित २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको भोलिपल्ट साउन २० गत्तेदेखि नै रंगेली नगरपालिका कार्यालयले कन्ट्याक्ट ट्रेसिङ र उपचार प्रबन्धका लागि बजार बन्द गरेको थियो। साउन २३ गते ३१ जनामा र दुईरदुई दिन पछि १८ जना गर्दै संक्रमितको संख्या १ सय २५ पुगेको स्वास्थ्य अधिकृत मण्डलले बताए।

प्रदेश १ को कोभिड–१९ उपचार केन्द्र एवं आइसोलेसन सेन्टरमा संक्रमितलाई राख्न ठाउँ अभाव भएपछि नगरपालिका कार्यालयले प्रदेश सरकारको स्वीकृतिमा २३ साउनमा स्थानीय जनता क्याम्पस रंगेलीमा संक्रमितका लागि आधारभूत स्वास्थ्य सुविधा तथा खानपिनको उचित प्रबन्धसहितको सय बेडको आइसोलेसन सेन्टर निर्माण गरेको थियो।

‘बिरामीलाई ब्यवस्थापन गर्न जति प्रयास गर्दा पनि बिराटनगर, गोठगाउँ , धरान कही पनि लान सक्ने अवस्था थिएन, नभइसकेपछि हामीले तत्कालै एम सिसिएमसिको आकस्मिक बैठक राखेर रंगेली नगरपालिकामै आइसोलेसन केन्द्र स्थापना गर्ने निणर््य गरियो र तत्कालै प्रदेश सरकारको समन्वयमा सय बेडको आइसोलेसन सेन्टरमा स्थापना गर्यौं र संक्रमितका लागि गुणस्तरीय भोजन र नियमित स्वास्थ्य परीक्षणमा जोड दियौं,’ मण्डलले भने, ‘जटिल अवस्था देखिएमा विराटनगर वा धरान पठाउन एम्बुलेन्स तयारी अवस्थामा राख्यौं तर कुनै पनि बिरामीलाई अक्सिजन दिनुपर्ने स्थितिसमेत आएन।’

अस्पतालको आकस्मिक कक्षमा प्रशस्त मात्रामा अक्सिजनको प्रबन्ध रहेको उनले बताए।  ‘आत्तिएर एकरदुई जना बिरामीलाई सास फेर्न कठिन भएको पायौं, परामर्शपछि उनीहरु सामान्य अवस्थामा आए,’ उनले भने ।

तीन ब्लकमा विभाजन गरिएको नगरपालिकाको आइसोलेसनमा ९० बेड बाहेक अचानक आइपुग्ने संक्रमितका लागि १० वटा थप म्याट्रेसको प्रबन्ध गरिएको छ।
कोरोनाको सुरुवातसँगै नगरपालिकाले १५ चैतमा क्याम्पसकै भवनमा क्वारेन्टाइन स्थापना गरेको थियो।

‘अन्य मुलुक र जिल्लाबाट आउनेका लागि बनाइएको यहाँको क्वारेन्टाइनमा राखिएका ८ सय ८ जना मध्ये ७ सय ८९ जना डिस्चार्ज भइसकेका छन्। अब १९ जना मात्र बाँकी छन्,’ उनले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *