रेलमार्गको ठेक्का प्रक्रियाको छानविन गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग
फाइल फाेटाे
काठमाडाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा इनरुवा रेलमार्गको प्रक्रिया तत्काल रोकेर छानविन गर्न माग गरेका छन्।
वरिष्ठ नेता पौडेलले बुधबार एक विज्ञप्ति निकाल्दै तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन्।
पौडेलले निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा रेलमार्ग निर्माणको जिम्मा दिने सरकारको भूमिकाले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको स्पष्ट भएको समेत विज्ञप्तिमा उल्लेख छ। उनले आवश्यक गृहकार्य र तयारी बिना ठेक्कापट्टाको हतारो गर्नुले समेत भ्रष्टचार भएको स्पष्ट हुने बताएका छन्।
उनले रेलमार्ग निर्माण परियोजनाका लागि निर्माण स्थलको धरातल तय नभइकन सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली विपरीत खुला प्रतिष्पर्धा नगराई केही निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरी ठेक्का दिनु अनुचित भएको बताएका छन्।
पौडेलले निश्चित ठेकेदारलाई फाइदा पुग्ने गरि राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपैयाँ हचुवाका भरमा खर्च गर्न अनुचित भएको बताएका छन्। नेता पौडेलले रेलमार्गमा पर्ने बजार क्षेत्रको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपयोग गरेको जग्गाको मुअब्जा वितरण समेत नगरि निर्माणका ठेक्का लगाउनु सर्वथा गलत भएको बताएका छन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment