ज्यापु समाजले निर्णय नगर्दै कहाँबाट जम्मा भयो रातो मछिन्द्रनाथको रथ तान्ने भीड?
काठमाडौं। कोरोना महामारीका कारण भीडभाड गर्न स्थानीय प्रशासनले बन्देज लगाइएपछि यो पटकका विभिन्न सांस्कृतिक महतोत्सव, चार्ड पर्वहरु प्रभावित बनेका छन्। काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइने इन्द्र जात्रा मनाइएन। रातो मछिन्द्रनाथको रथ तान्ने जात्रा पनि मनाउने कुरा भएको थिएन। तर, बिहीबार ललितपुर पुल्चोकमा दिउँसो एकबजे तिर मानिसहरुको ठूलो भीड जम्मा भयो र रातो मछिन्द्रनाथको रथ तान्न लाग्यो।
प्रहरीले रोक्न खोज्दा झडप भयो। एक ट्राफिक प्रहरी जवानमाथि निर्मम कुटपिट भयो। केही बटुवा पनि घाइते भए। प्रहरी पनि घाइते भए। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी बसन्त लामाका अनुसार बिहीबारको झडपमा ४ जना प्रहरी, एकजना बटुवा र ७ जना सशस्त्र प्रहरीका जवान घाइते भएका छन्। यस्तौ नेपाल फोटो जर्नालिस्ट क्लब (पीजे क्लब)ले एक विज्ञप्ति जारी गर्दै सो झडपमा परी ४ जना फोटो पत्रकार घाइते भएको जनाएको छ।
बिहीबार भएको यो झडपपछि सामाजिक सञ्जाल तरंगित बनेको छ भने ललितपुरको प्रशासन तनावमा परेको छ। झडपपछि बिहीबार अबेरसम्म जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल भएको छ। छलफलमा बिहीबारको झडपमा घुसपैठ भएको निश्कर्ष निकालिएको छ।
एसएसपी लामाले डिसी नेपालसँग भने, ‘रथ तान्ने कुनै निर्णय भएको थिएन। बिहान पनि केही मानिसहरु आएका थिए, सम्झाइबुझाइ गरेर फर्कायौं। तर पछि ठूलो भीड आयो। यहाँ स्थानीयवासी भन्दा पछि बाहिरका मानिसहरुको बाहुल्यता देखिएको छ। एक किसिमले यो घुसपैठ नै भएको छ। यहाँ धार्मिक सहिष्सुणतामा खलल पुर्याउने समुह सक्रिय देखिन्छ।’ उनले यस्तो भीडभाड गराउन सक्रिय रहेका ९ जनालाई नियन्त्रणमा लिइएको र कानून अनुसार कारबाही गरिने बताए। उनले त हालै बुंगमतिमा भएको झडपमा पनि यही समुहको भूमिका रहेको दावी गरे।
कोरोना महामारीका कारण काडमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। त्यसैले यस्तो भीडभाड गर्न पाइँदैन। भीडभाड गर्न नपाइने भएपछि रातो मछिन्द्रनाथको रथ तान्ने परम्परालाई कसरी जोगाउने भनेर यही भदौ १० गते ललितपुर महानगरपालिकाको अगुवाईमा गुठी संस्थान, १९ वटा जातीय समुह र स्थानीय प्रशासनको बैठक भएको थियो। बैठकमा भीड नगर्ने सहमति बनेको र अन्तिम निर्णय गुठी संस्थानले गर्ने गरी सो दिनको बैठक सकिएको ललितपुरका मेयर चिरिबाबु महर्जनले बताए। उनले भने, ‘रथ तान्ने जिम्मा ज्यापु समाजको हुन्छ। त्यसको व्यवस्थापन गुठी संस्थानले गर्छ। त्यसलै यो पटक कसरी गर्ने निर्णय गर्न हामीले संस्थानलाई जिम्मा दिएका थियौं।’
बिहीबार बिहान ८ बजेबाट गुठी संस्थानको बैठक बसिरहेको थियो। बैठकमा कुनै निर्णय भइसकेको थिएन। तर दिउँसो पुल्चोकमा ठूलो संख्यामा मानिसहरु आए र रथ तान्न थाले। ज्यापु समाजका अध्यक्ष तथा पूर्व सांसद चन्द्र महर्जनले बिहीबारको रथ तान्ने विषयमा समाजले कुनै निर्णय नगरेको जानकारी दिए।
उनले डिसी नेपालसँग भने, ‘त्यो भीडभाडमा हाम्रा मान्छेहरु थिएनन्। समाजले कुनै निर्णय गरेको थिएन। हामी १९ वटा जातीय समुहले आजको घटनाको भत्सर्ना गरेका छौं।’
कोरोना महामारीका कारण लामो सयम लकडाउन र त्यसपछिको निषेधाज्ञाले मानिसहरु घर भित्रै गुम्सिन बाध्य छन्। कोरोना संक्रमण फैलिएने भएकाले सरकार निषेधाज्ञा जारी गर्न बाध्य छ। यस्तो अवस्थामा घरमा गुम्सिएका मानिसहरुको भावनामा खेलेर उच्छृखल समहुले वातावरण विगार्न खोजेको प्रशासनको निश्कर्ष छ। एसएसपी लामाले यो विषयमा गहिरो अनुसन्धान हुने र दोषीलाई नछोडिने बताए।
स्रोतका अनुसार ललितपुर महानगरपालिका क्षेत्रमा शुक्रबार बिहानदेखि कर्फ्यु लगाउने तयारी भएको छ। कर्फ्युका विषयमा छलफल भएको तर निर्णय भइनसकेको स्रोतले जनायो।
Facebook Comment