बरालको ‘सिकाइ र सहयोग’ मा घोत्लिँदा

डिसी नेपाल
२० भदौ २०७७ ८:१७

खगराज बरालद्वारा लिखित ‘सिकाइ र सहयोग’ शीर्षकको पुस्तक मेरो हातमा पर्दा मलाई लागेको थियो यो पुस्तक त स्कुलका शिक्षकका लागि होला । लेखक बराल शिक्षा क्षेत्रकै व्यक्ति भएकाले यसभित्रका विषयवस्तु पनि शिक्षण सिकाइ, शिक्षाका नीति जस्ता विषयमा लेखिएको होला भन्ने अनुमान गरेको थिएँ । देशमा कोरोना–१९ को सङ्व्रmमको कारण बन्दाबन्दीको अवस्थामा नै बजारमा आएको यो पुस्तक घरभित्रै बस्नुपर्ने अवस्थामा बसाइँलाई उपयोग गर्न यो पुस्तक अद्योपान्त पढेँ । पुस्तक पढ्दै जाँदा मेरो प्रारम्भिक अनुमान सही ठहरिएन । यो पुस्तक त व्यावहारिक अनुभवको पोको रहेछ । पुस्तक पढ्दै जाँदा पोकाभित्रका पोका खोलिदै जाँदा रहेछन् । हरेक व्यक्तिका जीवनमा घटेका र घट्द सक्ने विषयलाई रसिलो पाराले फूलैफूलको माला उने झै विषयवस्तुहरू उनिएका रहेछन् । पढ्दै जाँदा पढेका विषयले आपूmलाई पारेको प्रभावलाई टिपोट गर्दै जाँदा यो लेख तयार भएको हो ।

‘बाल अधिकार र हाम्रो व्यवहार’ यसपुस्तकको पहिलो प्रस्तुति हो । लेखकले बाल अधिकारका विषयमा ज्यादै नै संवेदनशील भई हामीले सोच्दै नसोचेको व्यवहारलाई उल्लेख गर्दै बालबालिकालाई बेवास्ता गर्ने गरेको प्रशस्तै दृष्टान्त दिएका छन् । बचस चढ्दा हुलमुलमा आफ्नो भाडा समेत कन्डक्टरले भुलिदिए हुन्थ्यो, नमागिदिए हुन्थ्यो भन्ने हाम्रो आम मानसिकताभन्दा माथि उठी बालकको माग्दै नमागेको भाडा दिई बाल अधिकारप्रति उदाहरणीय व्यवहार देखाएको प्रसङ्ग प्रशंसनीय र हामी सबैका लागि अनुकरणीय छ । लेखकले निर्मित पूर्वाधारहरू बाल मैत्री नभएको कुरा पेचिलो रूपमा उठाएका छन् ।

वि.सं. २०५२ सालको फागुन १ गतेदेखि तत्कालीन माओवादीद्वारा जनयुद्धका नाममा सञ्चालित आन्तरिक द्वन्द्वमा देश अल्मलिएको समयमा म स्थानीय विकास अधिकारीका रूपमा विभिन्न जिल्लामा कार्यरत थिएँ । तत्कालीन माओवादीका कार्यकर्ताले स्कुल स्कुलमा गएर संस्कृत विषय पढाउँदा अवरोध गर्ने, संस्कृतका पाठ्यपुस्तक च्यात्ने र जलाउने, शिक्ष्ँकलाई पिट्ने, तोडफोड गर्ने गतिविधिले म आक्रान्त भएको थिएँ । संस्कृत भाषालाई सामन्तको भाषा र ब्राह्मणहरूको भाषाका रूपमा व्याख्या गर्दथे । स्थानीय विकास अधिकारीको पदीय जिम्मेवारीका कारण म जिल्ला शिक्षा समितिको अध्यक्ष पनि थिएँ । ‘सिकाइ र सहयोग’ पुस्तकभित्रको ‘संस्कृत, संस्कार संस्कृति’ शीर्षक पढ्दा संस्कृतको महत्व उल्लेख गरेको पढ्दा खुशी लाग्यो । यस शीर्षकमा संस्कृत भाषाको महत्व, पूर्वीय दर्शन, गीताको सारको महत्वलाई सरल भाषा उल्लेख गरिएको छ । संस्कृत, पूर्वीय दर्शन, गीताको भाव सरल शैलीमा चीनियाँहरूलाई बुझाउँदाको संवादलाई मिठो शैलीमा उल्लेख छ । यसले नेपालीको मात्र हैन, संस्कृत बाङ्गमयको गरिमा बढाएको महसुस गरेँ । पुस्तकमा प्रस्तुत पूर्वीय दर्शन र गीताको भावलाई एकजना मित्रको नाममा लेखकले आफूमा भएको ज्ञानलाई पस्किएको जस्तो लाग्छ । त्यसै गरी कोरियाको भ्रमण र नेपालीको रोमाञ्चकारी स्वभावले नेपालीप्रति सकारात्मक धारणा राख्न लेखक सफल भएको पाएँ । खास गरी हामीसँग संस्कृत भाषामा भएको शास्त्रहरू, दर्शन, गीता, उपनिषद्, पुराणहरू जस्ता महत्वपूर्ण भाव ओगटेका हाम्रा सम्पत्तिप्रति हामी आफैले आपैmलाई प्रहार गरिएको कुरा प्रायश्चितबाहेक के हुन सक्छ र । आज जर्मनीका चौध ओटा विश्वविद्यालय, नेदरल्याण्ड, अमेरिका जस्ता देशहरूले संस्कृतलाई महत्व दिइरहेको प्रसङ्ग लेखकले उठाइदिएर संस्कृत भाषाको महत्व छर्लङ्ग पारिदिएर संस्कृत भाषाको सम्बन्धमा बहसको प्रारम्भ गरिदिएको छन् ।

‘सिकाउने आºनो काइदा’ शीर्षक लेखकले मानिस शाकाहारी प्राणी हो भनेर प्रमाणित गर्न खोजे जस्तो लाग्छ । लेखक आपूm पनि शाकाहारी भएकाले होला यस्तो आसय लेखमा झल्कन्छ । शाकाहारी र मांसहारी छुट्याउने तरिकामा आँखाको रङ, दाँत, शरीरको लचकता, आन्द्राको लम्बाइ आदि उल्लेख गरी यसका विशेषता पनि उल्लेख गरेका छन् । यस शीर्षकमा लेखकले प्राणी शाकाहारी हो कि मांसहारी हो भनेर बुझ्न रोचक पारामा पाठकलाई सजिलो बनाइदिएका छन् ।

‘बुझाइमा अर्थ र अनर्थ’ शीर्षकमा हामीले प्रयोग गर्ने भाषा स्पष्ट र सबैले बुझ्ने किसिमको हुनुपर्छ भन्ने सन्देश दिइएको छ । कार निर्माता, कोकाकोला, बझाङको स्थानीय भाषा, उदितनारायण झाको गीतमा वनमारा झारको अर्थमा रुख काट्ने मान्छे जस्तो बुझाइको रमाइलो पक्ष उल्लेख गर्दै भाषाको शब्द चयन बुझिने, स्पष्ट अर्थ दिने र विवाद नआउने हुनुपर्नेमा सचेत गराएका छन् ।

‘पुर्खाको विश्वास’ शीर्षकमा यातायात प्रणालीको विकृत रूपको सजीव चित्रण गरिएको छ । हाम्रा पुर्खाको विश्वास, परिवार एउटै गाडीमा चढ्न हुन्न भन्ने मान्यता, एउटै परिवारका दुई दाजुभाइ दुईओटा भिन्नाभिन्नै बसमा चढेका र टिकट दाजुसँग हुँदा भाइलाई परेको समस्याको रमाइलो प्रस्तुत यस लेखमा छ । साथै, यस लेखमा भारत र नेपालका यातायात प्रणालीको तुलना पनि गरिएको छ ।

‘लैङ्गिक सवाल र जापानी परिवेश’ शीर्षकमा जापानको राजसंस्थाको उत्तराधिकारीको रोलक्रम र लैङ्गिक विभेदतर्फ औल्याउन खोजे पनि त्यहाँको परम्परा एवं मौलिक हकमा गरिएको व्याख्यामा मर्का परेको सम्बन्धित सरोकारवालाले मात्र अदालतमा रिट दिन पाउने प्रावधानले गर्दा पनि धेरै मुद्दाहरूको ओइरो लाग्ने र न्यायालय सम्बन्धित बाहेकका अनावश्यक मुद्दामा बढी समय खर्चिनु पर्ने अवस्थाको अन्त्य भएको उल्लेख छ । यही जापानीज परम्पराले पुरुषलाई नै जापानको सम्राट हुने व्यवस्था गरेको छ । यसलाई जापानी मानिसले यसलाई लैङ्गिक विभेदका रूपमा लिने गरेको पाइँदैन ।

‘जेनेभा बसाइमा हाम्रो सिकाइ’ शीर्षकमा लेखकले आºनो सामान्य मानिसभन्दा पृथक स्वभाव र चरित्रको भएको दलिल पेस गरे जस्तो लाग्छ । स्वावलम्बी, आत्मनिर्भर हुने र यात्रामा पर्न सक्ने समस्याको अनुमान गर्ने स्वभाव झल्किन्छ । जेनेभा जाँदासमेत चप्पल, टावल, साबुन, स्याम्पु, खानेकुरासमेतको बन्दोबस्त गरेर पहिला साथीहरूले खिसी गरेका र पछि सबै साथीहरूले पछुतो मानेको र साथीहरूको यस्तो पूर्व तयारी कसरी गरेको भन्ने प्रश्नको रोचक प्रस्तुति रहेको छ । हामी कतै घुम्न जाँदा महिला साथीहरू भए बिस्कुट, चुइगम जस्ता केही न केही खानुकुराहरू उहाँहरूको झोलामा राखिएको हुन्थ्यो । अप्ठ्यारो पर्दा हामी उपयोग गरेका थुप्रै उदाहण छन् । यस पुस्तकका लेखक बरालले सामान्य खानेकुराका अलावा आवश्यक सामान र सरसफाईमा समेत महिलाहरूले पुरुषहरूलाई भन्ने गरेका कुराको पूराका पूरा खण्डन गदैए पुरुषहरू पनि आवश्यक तयारी र सरसफाईमा कम हुँदैनन है भन्ने कुरा व्यवहारबाटै प्रमाणीत गर्दै सन्देश दिएका छन् ।

‘लैङ्गिक पक्ष र परिवेश’ शीर्षकमा लेखकले घरायसी काममा खाना पकाउने, भाँडा माझ्ने, कपडा धुने, घरको सरसफाई गर्ने आदि काम महिलाको मात्र हो भन्ने सामाजिक चलनमाथि प्रहार गरेका छन् । सब इन्जिनियर र इन्जिनियर भाइहरूले हिजो विद्यार्थी कालमा गरिएका कामहरूलाई ढाकछोप गरी कहिल्यै खाना नपकाएको र भाँडा नमाझेको ढोंग गरेको कुरालाई पनि व्यङ्ग्य प्रहार गर्दै आºनो काम आफै गर्नुपर्छ भन्ने प्रेरणादायी विचार लेखकले पस्केका छन् ।

‘नाता र सम्बोधनः अनुभव र अनुभूति’ शीर्षकमा लेखकले सहरिया र आधुनिक सम्पन्न भनाउँदाहरूलाई मज्जाले प्रहार गरेका छन् । श्रीमतीले श्रीमान्लाई बाबा, श्रीमान्ले श्रीमतीलाई ममी, शालोलाई भाइ, ससुरालाई बुबा, सासूलाई आमा जस्ता शब्द प्रयोग गरेर चिनाउने सन्दर्भमा अलमलमा परेको घटनालाई राम्रो व्यङ्ग्यसहित प्रस्तुत गरेका छन् । श्रीमान्लाई घरि बाबा, घरि सर र घरि श्रीमान् नाता पनि फरक फरक देखाएर आधुनिक बनेकालाई बेजोडले प्रहार गरेका छन् । हजुरबुबा, हजुरआमा, सासू, ससुरा, शाला, शाली, फुपू, सानीआमा, ठूलीआमा जस्ता वास्तविक नाता सम्बन्ध हराएर गएकामा लेखक चिन्तित देखिन्छन् । सोलोडोलो रूपमा अन्टी र अङ्कल जस्ता शब्दले समग्र नाता सम्बन्ध समेट्न नसक्ने ठोकुवा लेखकले गरेका छन् । यहाँ स्मरणीय कुरा के छ भने लेखकले वर्तमान समाजमा शब्दको नाताको विकृत रूप छर्लङ्ग पारे पनि एउटा नाताको विकृत रूप मलाई छुटाए जस्तो लागेको छ । म आपैmले व्यहोरेको घटना स्मरण गर्न चाहेँ । उमेरले मात्र होइन, जागिर लगायत सबै कुरामा मभन्दा जेठा व्यक्ति मेरो घरमा आउँदा मेरी श्रीमतीलाई बैनी, बुहारी जस्ता शब्दले सम्बोधन गर्नुपर्नेमा भाउज्यू भनेको सुनेको थिएँ । यो भाउज्यू शब्द पनि आपूmभन्दा उमेरमा पाका र कान्छा दुवैमा एकै रूपमा प्रयोग भएको छ । भाउज्यू नाताको विकृत प्रयोग र अपभ्रंशलाई लेखकले आगामी संस्करणमा समेटेमा अझै रोचक र सान्दर्भिक हुनेछ ।

‘यात्राबाट सिकेको कुरा’ शीर्षकमा लेखकले भुटानको भ्रमण गर्नुपूर्व तयारीको क्रममा आयोजक संस्थाले उपलब्ध गराएको डकुमेन्टमा गर्न हुने र नहुने कुराको जानकारी दिएको विषय उल्लेख गरेका छन् । मुस्ताङ जाने क्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको फिल्ड अफिस, घाँसा (मुस्ताङ) को अवलोकन गर्दा त्यहाँ यात्रुहरू (विशेष गरी विदेशी) का लागि बाड्ने गरेको पर्चा (लिºलेट)ले सिकाइएका धेरै कुरा भुटान भ्रमण गर्नुपूर्व दिइएको डकुमेन्टसँग अधिकतम् विषय मिल्दाजुल्दा भएको कुरा उल्लेख गरेका छन् । यो शीर्षकमा परम्परा, संस्कार, रीतिरिवाज र पारिवारिक परिवेशका आधारमा सिकिएका कुरालाई व्यवहारमा प्रयोग गरी शिष्ट र सम्य हुन उत्प्रेरित गरिएको छ । यस शीर्षकमा गर्न हुने र नहुने कुराहरू उपदेश जस्तो लाग्ने र यसमा उल्लेख भएका घटना विवरण अन्य शीर्षकमा झैं यसमा उल्लेख वा वर्णन नगरिएकाले यस शीर्षकको प्रस्तुतिमा रोचकता कम हुन गएको छ ।

‘प्रगतिको बाधक नकारात्मक सोच’ शीर्षकमा लेखकले सकारात्मक सोचको अभाव भएको र नकारात्मक सोच हावी भएको विभिन्न दृष्टान्त पेस गरेका छन् । अहिले भनाइमा जता पनि सकारात्मक सोच गर्नुपर्छ भनिन्छ तर नकारात्मक सोच कै प्रभाव बढी छ । भएन, गरेन, हुँदैन, मिल्दैन, सकिँदैन, गर्दैनन्, मान्दैनन्, संभव छैन जस्ता नकारात्मकवादको जगजगी र यसैका आधारमा काम केही नगर्ने, अरुलाई दोष लगाई अल्छी र कम सिर्जनशील हुनेतर्फ व्यङ्ग्य गर्दै रोबट फल्टनले बाफबाट चल्ने डुङ्गाको आविष्कार र प्रदर्शन गरी देखाउँदासमेत अविश्वासको शेष रहेको उल्लेख गर्दै राइट ब्रदर्सले आविष्कार गरेको हजाइजहाजको परीक्षणमा समेत यस्तै अविश्वास र नकारात्मक सोचले घर जमाएको उदाहरण प्रस्तुत गर्दै नयाँ सोच र आविष्कारलाई प्रोत्साहन, हौसलाभन्दा बाधक बन्ने विश्वव्यापी धारणा नै प्रगतिको बाधक भएको भन्ने कुरा उल्लेख गरी सकारात्मक धारणा बनाउन अभिप्रेरित गरेका छन् ।

पुस्तकमा पच्चीसओटा शीर्षकमा लेखकले अनुभव र अनुभूति पस्केका छन् । यस लेखमा सबै शीर्षकको समीक्षा गर्दा लामो हुने भएकाले एघारओटा लेखेको समीक्षा गरिएको छ । अन्य शीर्षकको समीक्षा पाठक स्वयम्ले नै गर्नुहुनेछ । समग्रमा सिकाइ र सहयोग पुस्तकमा समेटिएका विषयवस्तुको प्रस्तुति रोचक छ । सरल वाक्य गठनमा सलल बगेको लेखन शैलीले हरेक पाठकलाई लोभ्याउँछ । लेखनका विषयवस्तु साह्रै मसिना छन् । कसै कसैलाई त यस्ता विषय पनि लेखनको विषयवस्तु हुन सक्छ त भन्ने अन्यौलता पनि उत्पन्न हुन सक्छ । लेखनका लागि कुनै विषय सानो ठूलो हुँदैन, प्रस्तुतिले नै विषयलाई ठूलो बनाउने हो भन्ने मान्यता यो पुस्तक पढेपछि हरेक पाठकको मनमा आउँछ । अगिल्लो वर्ष सिकाउने शैली जस्तो उत्तम पुस्तक नेपाली पाठकसामु ल्याएका लेखकले एकवर्षभित्रै नयाँ पुस्तक पाठक सामु ल्याएका छन् । लेखकको लेखकीय भूमिकाको प्रशंसा गर्दै सबै पाठक वर्गमा यो पुस्तक एकपटक पढी मनन गर्न आग्रह गर्दछु । पुस्तक पठनीय छ, हरेक घरघरमा सङ्ग्रहनीय छ । लेखकलाई यस्तै मूल्यमा आधारित पुस्तकको सिर्जना गर्ने थप प्रेरणा मिलोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *