१ सय २५ सङ्क्रमित भएको रंगेली नगरपालिका महिना दिनमै कोरोना मुक्त

धनकुमार कार्की
२१ भदौ २०७७ १२:५६

मोरङ । मोरङको रंगेली नगरपालिकाले जनता क्याम्पसमा स्थापना गरेको आईसोलेसन शनिबारदेखि खाली भएको छ। हालसम्म रंगेलीमा १ सय २५ जना कोरोेना पोजेटिभ बिरामी फेला परेका थिए। अहिले सबै जना कोरोना जितेर घर समेत फर्किएको स्वस्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिए।

साउनको पहिलो हप्ता देशव्यापी रुपमा लकडाउन हटेसँगै मोरङमा पनि सामुदायस्तरमा कोरोना भाइरस फैलिएपछि १ नं प्रदेश को राजधानी विराटनगरपछि रंगेली नगरपालिकामा कोरोना भाइरस संक्रमितको दोस्रो हटस्पट बनेको थियो।

निको हुनेमा ६ महिनाकी शिशु, १५ बालबालिका, एक जना ज्येष्ठ नागरिक, एक जना गर्भवती, ६८ पुरुष र ३६ महिला रहेको मण्डलले जानकारी दिए। नगरपालिकाले अन्तिम चरणको ट्रेसिङका क्रममा ४ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा कोही पनि संक्रमित नदेखिएको हो। त्यसअघि पाँच चरणमा २ हजार १ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा १ सय २५ संक्रमित देखिएका थिए।

कसरी भयो नियन्त्रण
संक्रमणको मुख्य केन्द्र रंगेली–७ स्थित बजार क्षेत्रलाई तत्कालै सिल गर्नु, नगरपालिकाद्वारा बेलैमा क्वारेन्टाइन र आइसोलेसन सेन्टरको स्थापना गर्नु, लकडाउनको पूर्ण पालन, मास्कको नियमित प्रयोग, सामाजिक तथा भौतिक दुरीको पालना र व्यक्तिगत सरसफाइप्रति स्थानीय सदैव सचेत रहनाले नै नियन्त्रणमा सहयोग पुगेको नगरपालिका प्रमुख दिलिप अग्रवालले जनाएका छन्।

‘संक्रमितमध्ये अधिकांश बजार क्षेत्रकै थिए, थोरै पनि ढिलो नगरी बजार क्षेत्रलाई सिल गरेर यहाँ हरेक घरका सदस्यको पीसीआर परीक्षण गर्यौं,’ उनले भने, ‘रिपोर्ट नआउन्जेल कसैलाई पनि घर बाहिर निस्कन दिएनौं, पोजिटिभ देखिएका सबैलाई तुरुन्तै नगरपालिकाको आइसोलेसन सेन्टरमा राख्यौं।’

नगरपालिका कार्यालयको प्रत्यक्ष निगरानीमा स्वस्थ भोजनको तयारी र उचित स्वास्थ्य हेरचाहका कारणले आइसोलेसन सेन्टरमा आएको दुई सातादेखि २० दिनमै अधिकांश संक्रमित निको भएको अग्रवालले बताए। कोरोना भाइरससम्बन्धी भ्रामक प्रचार प्रसार एवं होहल्लाले आत्तिएर वा डराएर संक्रमितको मानसिक तथा शारीरिक स्वास्थ्य बिग्रिने भएकाले यतातिर निकै सचेत रहेको र संक्रमितको उपचार र परामर्शका लागि आइसोलेसन सेन्टरमा एमडी स्तरको चिकित्सकको सेवा लिइएको उनले बताए।

नगर प्रमुख अग्रवालले भने, ‘स्थानीयले पनि अटेर गरेनन् सबै दल र जनप्रतिनिधिको सहयोग रह्यो, उपचारका लागि स्थानीय आफै अगाडि आए, अहिले पनि मास्क नलगाई कोही बाहिर निस्कँदैनन।’ संक्रमण उत्कर्षमा हुँदा पीसीआर परीक्षणको रिपोर्ट नआउन्जेल स्थानीय घर बाहिर निस्कन नदिएको र पोजिटिभ आएपछि सोझै आइसोलेसन सेन्टरमा लग्ने गरेको हुनाले सोचेभन्दा चाँडो नियन्त्रण भइरहेको उनले बताए।

सुरुमा भारतबाट आएर क्वारेन्टाइनमा रहेका १० जना, एकै पटक एकै परिवारका १४ जनासहित २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको भोलिपल्ट साउन २० गत्तेदेखि नै रंगेली नगरपालिका कार्यालयले कन्ट्याक्ट ट्रेसिङ र उपचार प्रबन्धका लागि बजार बन्द गरेको थियो। साउन २३ गते ३१ जनामा र दुई–दुई दिन पछि १८ जना गर्दै संक्रमितको संख्या १ सय २५ पुगेको स्वास्थय अधिकृत मण्डलले बताए।

प्रदेश १ को कोभिड–१९ उपचार केन्द्र एवं आइसोलेसन सेन्टरमा संक्रमितलाई राख्न ठाउँ अभाव भएपछि नगरपालिका कार्यालयले प्रदेश सरकारको स्वीकृतिमा २३ साउनमा स्थानीय जनता क्याम्पस रंगेलीमा संक्रमितका लागि आधारभूत स्वास्थ्य सुविधा तथा खानपिनको उचित प्रबन्धसहितको सय बेडको आइसोलेसन सेन्टर निर्माण गरेको थियो।

‘बिरामीलाई व्यवस्थापन गर्न जति प्रयास गर्दा पनि बिराटनगर, गोठगाउ , धरान कतै पनि लान सक्ने अवस्था थिएन। नभइसकेपछि हामीले तत्कालै सिसिएमसीको आकस्मिक बैठक राखेर रंगेली नगरपालीकामै आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय गरियो र तत्कालै प्रदेश सरकारको समन्व्यमा सय बेडको आइसोलेसन सेन्टरमा स्थापना गर्यौँ र संक्रमितका लागि गुणस्तरीय भोजन र नियमित स्वास्थ्य परीक्षणमा जोड दियौं,’ मण्डलले भने, ‘जटिल अवस्था देखिएमा विराटनगर वा धरान पठाउन एम्बुलेन्स तयारी अवस्थामा राख्यौं तर कुनै पनि बिरामीलाई अक्सिजन दिनुपर्ने स्थितिसमेत आएन।’

अस्पतालको आकस्मिक कक्षमा प्रशस्त मात्रामा अक्सिजनको प्रबन्ध रहेको उनले बताए । आत्तिएर एक–दुई जना बिरामीलाई सास फेर्न कठिन भएको पायौं, परामर्शपछि उनीहरु सामान्य अवस्थामा आए,’ उनले भने।

तीन ब्लकमा विभाजन गरिएको नगरपालिकाको आइसोलेसनमा ९० बेड बाहेक अचानक आइपुग्ने संक्रमितका लागि १० वटा थप म्याट्रेसको प्रबन्ध गरिएको छ।
कोरोनाको सुरुवातसँगै नगरपालिकाले १५ चैतमा क्याम्पसकै भवनमा क्वारेन्टाइन स्थापना गरेको थियो। हाल क्वरेन्टाइनमा सरुवा भएर आएका १२ जना प्रहीसहित ९ जना स्थानीय रहेका छन्। साउन २० गतेदेखि ठप्प भएको रंगेलीको जनजीवन बिस्तारै पुरानै लयमा फर्किन थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *