जंगली बँदेलले साढे २७ लाखको लागूऔषध नष्ट गरिदिए, अपराधीलाई पनि प्रहरीकहाँ पुर्‍याए

डिसी नेपाल
२३ भदौ २०७७ ११:१३

काठमाडौं। जंगली बँदेलले साढे २७ लाख रुपैयाँ बराबर मूल्य पर्ने लागूऔषध नष्ट गरिदिएका छन् । साथमा उनीहरुले अपराधीहरुलाई पनि प्रहरीको नियन्त्रणमा पुर्याएका छन् । फेमिली लाइफ गोल्सका अनुसार घटना इटलीको हो । इटलीको टस्कानी शहरको पुलिसले यहाँ २१ वर्षका अल्बानियाली युवाको मृत्यु भएपछि यसको सम्बन्ध लागूऔषध तस्करी गर्ने गिरोहसँग भएको हुन सक्ने आशंकामा अनुसन्धान थालेको थियो ।

सेप्टेम्बर २०१८ देखि मार्च २०१९ को बीचमा तीन अल्बानियाली र एक इटलियन नागरिकको यो लागूऔषध तसकरी गर्ने ग्याङले एरेज्जो र सिएना शहरका क्लव र सडकमा लागूऔषधको बाढी नै ल्याएका थिए । उनीहरुले त्यहाँ खपत हुने कोकिनको ८० देखि ८५ प्रतिशत आपूर्ति गरेका थिए । पुलिसले अनुमान गरेअनुसार उनीहरुले एक ग्राम कोकिन ८० देखि १०० युरोमा बेचेका थिए ।

जब २१ वर्षे युवाको मृत्यु भयो त्यसपछि यो ग्याङ पुलिसको निगरानीमा थियो र अनुसन्धान भइरहेको थियो । तर, त्यही बेला जंगली बँदेलले यो ‘केस बन्द गरिदिने’ निर्णय गरे । इटलीको अखबार इल टिरेनोका अनुसार ती लागूऔषध तस्करहरुले कोकिनलाई जारमा राखेर बाहिरबाट पानी नपस्ने गरी सिलबन्दी गरेर मन्टेपुल्सियानो नजिकै जंगलमा गाडेका थिए । बंदेलहरुले यसको गन्ध थाहा पाए र करिब २० हजार युरो मूल्य बराबरको कोकिन नष्ट गरिदिए ।

पुलिसले तस्कर ग्याङको फोन नेटवर्क ट्रेस गरेको थियो । उनीहरुले फोनमा नष्ट भएको लागूऔषधबारे कुरा गरेपछि पुलिसले उनीहरुलाई लागूऔषध तसकरीको आरोपमा तत्काल पक्राउ गर्यो । ४ जनामध्ये २ जनालाई जेलमा र २ जनालाई घरमै नजरबन्दमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *