खाेटाङमा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना

डिसी नेपाल
२४ भदौ २०७७ ७:३४

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापनाको काम सम्पन्न भएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, सोल्मा, बाम्राङ, नेर्पालगायत आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो।

पन्ध्र वडा रहेको नगरपालिकालाई प्राङ्गारिक क्षेत्र बनाउन अर्थमन्त्रालयको विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा एकैठाउँमा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए। “ल्याब परीक्षण, जनशक्ति व्यवस्थापनबाहेक भौतिक संरचनाको काम सम्पन्न भएको छ”, उनले भने “भ्यालिडिटीका लागि ल्याब टेष्ट गराउने र आवश्यक जनशक्ति व्यवस्था गरेर केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।”

नगरपालिकाका अनुसार मेसिन तथा औजार खरिदमा रु एक करोड १७ लाख र ट्रस भवनलगायतका संरचना निर्माणमा रु ३९ लाख खर्च भएको छ । वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री सङ्कलन गरेर प्रशोधन गर्दै प्रतिघण्टा एक हजार केजी प्राङ्गारिक मल उत्पादन गर्न सकिने नगरपालिकाका कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताए।

प्राङ्गारिक मल उद्योग तथा बायोग्याँस प्लान्ट स्थापना गर्न कार्यपालिका सदस्य विश्वकर्माले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। प्राङ्गारिक मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकेजी डेढदेखि दुई रुपैयाँका दरले खरिद गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोक बिक्रेतामार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ । उद्योगबाट उत्पादित प्राङ्गारिक मल पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

उद्योगबाट उत्पादित प्राङ्गारिक मल मलिलो र राम्रो हुने नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कोलनीले बताए। प्राविधिकका अनुसार ‘टर्नर’मा काटेर ‘थुम’मा हालेर क्रसर चलाएपछि धुलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेसिनमा पुग्दा तयारी भएर बोरामा प्याक भएर मलका रूपमा बाहिर निस्कन्छ ।

प्राङ्गारिक मल उद्योगसँगै बनाइएको बायोग्याँस प्लान्टमा मानव मलमुत्र तथा गाईभैँसीको गोबर हालेर ग्याँस उत्पादनको तयारी गरिएको छ । तीन हजार ५०० घनमिटर क्षमताको ‘अण्डरग्राउण्ड डुम’ (ट्याङ्की)मा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्न मिल्ने जनाइएको छ।

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ । आवश्यक गोबर र स्याउलाका लागि प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसी पालन गरिएको छ । गोठको स्याउलालाई भने प्राङ्गारिक मल उत्पादनमा उपयोग गरिने छ । ग्याँस उत्पादन भएपछि निकास हुने लेदोलाई ड्रायरमा सुकाएर प्याक गरेर मलकै रूपमा वितरण गरिने नगरपालिकाले जनाएको छ।

उद्योगमा स्थानीय चार युवाले पूर्णकालीन तथा २५ जनाले अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित प्राङ्गारिक मल नगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहमा समेत बिक्री गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण प्राङ्गारिक क्षेत्र बनाउने तयारी भइरहेको छ । प्राङ्गारिक मलको विकल्पविना पूर्णरूपमा प्राङ्गारिक नगर बनाउन नसकिने भएकाले प्राङ्गारिक मल उत्पादन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने अभियानमा लागेको नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग सञ्चालन भएपछि हर्षित भएका छन् । वडा नं–९ निर्मलीडाँडा, १० पाथे, ११ खार्मी, १२ जालपा, १३ नुनथलालगायतका वडाहरु प्राङ्गारिक बनिसकेकाले अब अन्य वडासमेत पूर्णरूपमा प्राङ्गारिक बन्ने प्रक्रियामा रहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *