उसको भाग्य मेरो ब्याडलक, मैले चलाएको गोली चलेन ऊ बाँच्यो, म ह्वीलचियरमा पुगेँ : रमीन्द्र क्षेत्री, उपरथी(अप्रा)

डिसी नेपाल
२४ भदौ २०७७ ८:१२

काठमाडौं । नेपाली सेनाका उपरथी डा. रमीन्द्र क्षेत्रीले अवकास पाउँदा उनी ह्वील चियरमा थिए। ह्वील चियरमै रहँदा उनले सेनाको राष्ट्रिय सेवा दलको महानिर्देशकको भूमिका निर्वाह गरे। सूचना तथा जनसम्पर्क निर्देशनालयको निर्देशक तथा प्रवक्ताको भूमिका पनि पूरा गरे। र, ह्वीलचियरमै राष्ट्र सेवाबाट अवकास लिए।

नेपाली सेनाको उपल्लो दर्जासम्म पुगेका क्षेत्री ह्वीलचियरमा पुग्नुको पछाडि एक कहालीलाग्दो घटना छ। १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा २०६० साल भदौ ११ गते उनीमाथि तत्कालीन विद्रोही माओवादीका लडाकुले आक्रमण गरेका थिए।

सो घटनामा गोली लाग्दा स्पाइनल कर्ड इन्जुरी भएपछि उनी आजीवन ह्वीलचियरसँग संगत गर्न बाध्य भएका हुन्। डिसी नेपालसँगको कुराकानीमा जर्नेल क्षेत्रीले आफूमाथि आक्रमण भएको घटना स्मरण गरे।

उनले भने, ‘भदौ ११ गते साविक बमोजिम म घरबाट कार्यालय जानेबेलामा, नर्मल्ली साँढे आठ बजे घरबाट निस्किन्थे, किनभने त्योबेलाको परिरिस्थति नै त्यस्तै थियो। जानेबेला मेरो सामाखुसीस्थित घरको कम्पाउण्डबाट सडकमा आएँ। त्यहाँ लुकेर बसेका माओवादीले मेरो गाडी देखेपछि अन्धाधुन्ध गोली चलाए। मैले पनि गाडीमा रहेको पेस्तोल निकालेँ र बाहिर निस्केँ, मेरो ठीक अगाडिबाट एउटा ममाथि गोली चलाउँदै थियो। मैले फायर गरेँ। उसको भाग्य, मेरो ब्याडलक। फायर भएन, पुरानो हतियार भएकाले। नत्र म उसलाई मार्थेँ।’

अगाडिको लडाकुको पिछा गर्दै गएँ। अलिमाथि पुगेपछि मलाई असह्य पीडा भयो। म पेटीमा बसेँ। मैले मेरो गुरु र घर परिवारलाई भने ‘मलाइ अस्पताल लैजाऊ, म यतिकै मर्दिन’, त्यसपछि मलाई गाडीमा राखेको याद छ। ब्युँझिँदा सैनिक अस्पतालमा थिएँ।

क्षेत्रीले त्यसैक्रममा आफ्नो पाखुरामा गोली लागेको स्मरण गरे। उनले भने, ‘अगाडिको लडाकुको पिछा गर्दै गएँ। अलिमाथि पुगेपछि मलाई असह्य पीडा भयो। म पेटीमा बसेँ। मैले मेरो गुरु र घर परिवारलाई भने ‘मलाइ अस्पताल लैजाऊ, म यतिकै मर्दिन’, त्यसपछि मलाई गाडीमा राखेको याद छ। ब्युँझिँदा सैनिक अस्पतालमा थिएँ।’ आफू होसमा आएपछि चिकित्सकहरुले ‘ब्याडलक’ भनेको उनले स्मरण गरे।

उनले आफ्नो स्पाइनल कर्ड इन्जुरी भएको त्यहाँ थाहा पाएको बताए। जर्नेल क्षेत्रीले आफू ह्वीलचियरमा पुग्नुमा तत्कालीन विद्रोही माओवादीको दोष भए पनि आफ्नो मनमा कुनै प्रतिशोधको भावना नरहेको बताए। उनले आफूले सेनामा जागिर खाँदा नै ज्यान राष्ट्रलाई अर्पण गरिसकेको भन्दै यस्ता कुरा सेनाको तालिमले नै सिकाउने बताए।

कटुवाललाई बर्खास्त गर्ने निर्णय अपरिपक्व

जर्नेल क्षेत्रीले डिसी नेपालसँगको कुराकानीमा नेपाली र माओवादी द्वन्द्वका विषयमा खुलेर कुरा गरे। उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवाललाई बर्खास्त गरेको प्रकरणमा कुरा गर्दै सो निर्णय नै अपरिपक्व भएको बताए।

उनले भने, ‘सेना कानूनभन्दा तलमाथि जान सक्दैन। तर, त्यो बेला (कटुवाल प्रकरण) परिपक्व निर्णय भएन। सरकारले असंवैधानिक निर्णय गरेको हो। त्यो घटनालाई राम्रो मान्न सकिँदैन। सायद त्यतिबेला माओवादीमा माओवादको धंङधङ्गी थियो। त्यसैले पनि त्यो निर्णय भयो होला। अहिले उहाँहरु लोकतान्त्रिक अभ्यासमा अभ्यस्थ भइरहनु भएको छ। सायद अहिले बुझ्नुभयो होला, त्यो निर्णय असंवैधानिक थियो।’

सेनाले राजनीति गर्नु हुँदैन सेनाले शासन हात लिनुपर्छ भन्ने आवज पनि धमिलो रुपमा सुनिएको प्रसंगमा जर्नेल क्षेत्रीले त्यस्तो हुनै नसक्ने र हुनुपनि नहुने बताए। उनले सेना संविधान र कानूनभन्दा बाहिर नजाने भन्दै नेपालको मौजुदा कानूनले सेनालाई राजनीति गर्ने अधिकार नदिएको बताए।

उनले लोकतान्त्रिक व्यवस्थामा सेनाले शासन गर्ने कुरा बहस गर्नु नै उपयुक्त नभएको बताए। उनले जनतालाई स्वतन्त्रता चाहिने भन्दै सेनाको शासनमा स्वतन्त्रता नहुने बताए। उनले एकपटक सेनाले शासन हातमा लिएपछि त्यो जनताको हातमा फर्किन गाह्रो हुनेसमेत उल्लेख गरे।

उनले अहिले सरकारसँग चित्त दुखाएकाहरुले सेना राजनीतिमा आए हुन्थ्योजस्तो कुरा गरेको भन्दै त्यो समस्याको समाधान नभएको बताए। उनले जनताले नेताहरुलाई नै जिम्मेवार बनाउनुपर्ने भन्दै त्यसमा सेनाको भूमिका खोज्नु लोकतान्त्रिक व्यवस्थाविपरीतको चाहना हुने बताए।

उनले सेना जननिर्वाचित सरकारको निर्देशनमै चल्ने भन्दै सेनाबाट राजनीतिको अपेक्षा राख्नु गलत हुने बताए। उनले अहिलेको सरकारमाथि लागिरहेका भ्रष्टाचारका आरोपबारे बोल्दै कुनै आरोप प्रमाणित नभएसम्म ती आरोपमात्र हुने बताए। उनले सबै आरोप र सुनेका कुरा सत्य हुन्छन् भन्ने नभएको बताए।

होलेरी प्रकरणमा सेनाको कमजोरी भएको होइन

१० वर्षे द्वन्द्वका क्रममा चर्चित रहेको प्रकरणमध्ये होलेरी प्रकरण पनि एक हो। रोल्पाको होलेरीमा प्रहरी माओवादीको घेरामा परेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सेना परिचालनको निर्णय गरेका थिए। तर, सेनाले प्रधानमन्त्रीलाई गुमराहमा राख्दै सेनाले माओवादी लडाकुलाई कब्जामा लिएको प्रचार गरिरह्यो भन्ने आरोप सेनामाथि लाग्यो तर, वास्तविकतामा सेना परिचालन नै भएन।

अन्ततः प्रधानमन्त्री कोइरालाले आफूमाथि सेनाले धोका दिएको भन्दै पदबाट राजीनामा दिए। यो प्रकरणमा सेनाले प्रधानमन्त्रीको निर्देशन नमानेको आरोप लगाउने गरिएको छ। तर, जर्नेल क्षेत्रीले भने सो प्रकरणमा सेनाको कुनै गल्ती नभएको बताए।

त्यो बेलाको संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउँथेनन्। सुरक्षा परिषदको बैठकको सिफारिसमा श्री ५ ले सेना परिचालन गर्ने व्यवस्था थियो। होलेरी प्रकरणमा सुरक्षा परिषदले सेना परिचालनको निर्णय गरेको थिएन। तर, जब प्रक्रिया पूरा गरेर सेना परिचालन गरियो।

उनले भने, ‘त्यो बेलाको संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउँथेनन्। सुरक्षा परिषदको बैठकको सिफारिसमा श्री ५ ले सेना परिचालन गर्ने व्यवस्था थियो। होलेरी प्रकरणमा सुरक्षा परिषदले सेना परिचालनको निर्णय गरेको थिएन। तर, जब प्रक्रिया पूरा गरेर सेना परिचालन गरियो।

२०५८ मंसिर ११ गते त सेना परिचालन भयो नि।’ वार्तामै रहेको तत्कालीन माओवादीले मंसिर ८ गते दाङस्थित सेनाको ब्यारेकमा आक्रमण गरेर ठूलो संख्यामा हातहतियार लुटेपछि मंसिर ११ गते देशभर संकटकाल लागू गरेर सेना परिचालन गरिएको थियो। माओवादीविरुद्धको अप्रेशनमा सेना सफल जर्नेल क्षेत्रीले त्यतिबेलाको सरकारले जुन उद्देश्यले सेना परिचालन गरेको थियो, त्यसमा सेना सफल भएको बताए।

कसको कति क्षतिभन्दा पनि कसको उद्देश्य पूरा भयो भन्ने हेर्नुपर्ने बताए। उनले सेनाको उद्देश्य माओवादीलाई वार्ताको टेबुलमा ल्याउन दबाब दिने र माओवादीको उद्देश्य देशमा साम्यवाद स्थापना गर्ने रहेको भन्दै सेनाकै दबाबका कारण माओवादी वार्ताको टेबुलमा आएर १२ बुँदे सम्झौता भएको बताए। उनले त्यो बेलाका माओवादीहरुले अहिले लोकतान्त्रिक अभ्यासमा सहभागी रहेको बताए।

जर्नेल क्षेत्रीसँग डिसी नेपालका विजयप्रसाद मिश्रले गरेको भिडियो संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *