गोर्खा सैनिक खटाइएको भारत र चीनको विवादित सिमानामा चिनियाँ सेनाको डरलाग्दो तस्वीर

डिसी नेपाल
२५ भदौ २०७७ १०:१२

काठमाडौं। सीमा विवादलाई लिएर भारत र चीनबीचको तनाव उत्कर्षमा पुगेका बेला चिनियाँ पक्षको डरलाग्दो तस्वीर सार्वजनिक भएको छ। बीबीसीले सार्वजनिक गरेको उक्त तस्वीरमा चिनियाँ सेनाले हाटमा डण्डा लिएका छन् र उक्त डण्डाको माथिल्लो भागमा धारिलो हतियार देखिन्छ।

उक्त तस्वीर वास्तविक नियन्त्रण रेखा (एलएसी) को हो। त्यहाँ करिव २५ जना चिनियाँ सैनिक देख्न सकिन्छ। बीबीसीका अनुसार यो तस्वीर सात सेप्टेम्बर साँझको हो।

चीन र भारतबीच सीमा विवाद बढ्दै गर्दा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतले करिव ३६ सय गोर्खा सैनिक खटाएको छ। युद्धको फ्रन्ट लाइनमा भारतले गोर्खा सैनिकलाई खटाएको समाचार सार्वजनिक भइरहेका बेला चिनियाँ पक्षको यस्तो तस्वीर सार्वजनिक भएको हो।

उक्त क्षेत्रमा दुवै पक्षले गोली चलाउन पाउँदैनन्। केही समय अघि भएको दुवै पक्षको ठेलाठेलमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चिनियाँ पक्षतर्फ भएको हातहातीको विवरण सार्वजनिक भएको छैन। अहिले फेरि दुई मुलुकबीच सीमा विवाद बढिरहेका बेला चिनियाँ पक्षले डण्डाको माथि धारिलो हतियार प्रयोग गरेको तस्वीर सार्वजनिक भएपछि त्यसको प्रत्यक्ष असर गोर्खा सैनिकलाई पर्ने देखिएको छ।

बीबीसीमा जुगल पुरोहितले लेखे अनुसार यो तस्वीर पूर्वी लद्दाखमा रहेको मुखपरी नामक भारतीय सैनिक पोष्टको दक्षिणी क्षेत्रको हो। यो तस्वीर ८०० मिटरको दूरीबाट लिइएको हो। जहाँ चिनियाँ सैनिक उभिएका छन्, त्यो ठाउँ वास्तविक नियन्त्रण रेखा (एलएसी) को भाग हो।

भारतले चीनका सैनिक भारतीय सैनिक पोष्ट नजिक आउने प्रयास गरिरहेको जनाएको छ। त्यसपछि भारतले उनीहरुलाई चेतावनी दिएको थियो। भारतले फाइरिङ गर्ने चेतावनीसमेत दिएको थियो।

चिनियाँ सैनिक अहिले पनि त्यो क्षेत्रमा रहेको तर उनीहरु भारतीय सैनिक पोष्ट भएतर्फ अगाडि नबढेको बीबीसीले जनाएको छ।  हाल भारत चीन विवादित गलवान क्षेत्रमा अधिकांश नेपाली नागरिकहरु भर्ती भएका गोर्खा बटालियनलाई खटाइएको स्रोतले जनाएको छ। बटालियनहरुका मुख्य कमाण्डर भने भारतीयहरु नै छन्।

ती बटालियनहरुमा नेपालका पश्चिम, मध्यपश्चिम र सुदूर पश्चिम क्षेत्रमा स्थायी बसोवास भएका युवाहरु भर्ती गरिएका छन्। केही दिनअिघमात्र यो क्षेत्रमा खटिएका नेपाली मूलका दीक्षान्त थापाको मृत्यु भएको छ। उनी गोर्खा फौजमा मेजर दर्जामा कार्यरत रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। दीक्षान्तका पिता समेत भारतीय फौजमा कार्यरत रहेको बताइन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *