प्रहरी थुनामा रहेका युवकको मृत्यु

डिसी नेपाल
२६ भदौ २०७७ २३:१७

काठमाडौं। जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा शुक्रबार मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको शुक्रबार प्रहरीको थुनुवा कक्षमा मृत्यु भएको थियो । युवकले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपसम्शेर जवराले बताए। मृतकका आफन्तले भने प्रहरीको कुटपिटबाट बिकको मृत्यु भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले दिएको विवरणका आधारमा थुनुवा कक्षभित्रै बिकले आत्महत्या गरेकोसम्बन्धी समाचार दिनेश एफएमले प्रसारण गरिएको थियो । युवकले आत्महत्या गरेकोसम्बन्धी समाचार प्रसारण गरेको भन्दै एफएमका सह–सम्पादक जनक विष्टमाथि कार्यालयमा पुगेको एक आक्रोशित समूहले आक्रमण गरेको छ ।

समाचार प्रसारणको विषयलाई लिएर सञ्चारकर्मीमाथि भएको आक्रमण घटनाको नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध सङघ तथा सङ्गठनले विरोध जनाउँदै आक्रमणकारीमाथि कारवाही गर्न माग गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *