शरीर अमेरिकामा, मन आफ्नै गाउँमा

डिसी नेपाल
२७ भदौ २०७७ ६:५९

अमेरिकाको मेरिल्याण्डमा बस्न थालेको केही वर्ष भएको छ। आफ्नो जन्मथलो र मुलुक छोडेर परदेश बस्नुपर्दाको अनुभूति म स्वदेशमा हुन्जेल गर्न सक्दिन थिएँ। अहिले जे गरे पनि आफ्नो जन्म गाउँको झल्झल्ती आउँछ। वास्तवमा म जन्मस्थान र मुलुकलाई अत्यन्त धेरै मिस गरिरहेको हुन्छ जतिबेला पनि।

कोही नेपालीसँग कुरा भयो भने पनि म मुलुक पुगेकै हुन्छु, यहाँका बासिन्दा गोरा वा कालासँग कुरा गर्नु पर्यो भने पनि मेरो देशमा यस्तो हुन्थ्यो यहाँ त यस्तो हुँदो रहेछ भन्ने कुरा मनमा आइहाल्छ। शायद आफ्नो जन्मस्थान र मुलुक छाडेर विभिन्न कारणले प्रवासमा जीवन गुजारा गर्नु हुने सबैलाई यस्तै हुन्छ होला।

यहाँ अहिले चारैतिर हरियालीको समय छ, यहाँको हरियाली हेर्दा म आफ्नै जन्मस्थान आठराई पुग्छु र कल्पनाले मेरा ती प्यारा ठाउँहरुको भ्रमण गर्दछु। शरीर यहाँ छ, मन त्यहाँ, एउटा बेग्लै अनुभूति। यहाँ विभिन्न रंगका मान्छे देख्दा मेरो देशको जातीय क्षेत्रीय अवस्था र सुमधुर सम्बन्धका, सामाजिक सद्भावका विषयहरु बर्गेल्ती आउँछन् सम्झनाका तरेलीहरुमा एकपछि अर्को गर्दै तछाँड मछाड गर्दै।

यसरी सम्झिन्छु मेरा डाँडाकाँडा र गाउँघर र तिनमा श्रम र पसिना बगाएर केही गर्न पाए हुन्थ्यो भनेर सात समुद्रपारि बसेको यो ज्यान थुप्रै योजनाहरु बनाउँछ। यहाँका चिल्ला बाटाहरु र चिटिक्क पारेर राखिएका पार्कहरु देख्दा आफ्नै जन्म गाउँमा केही गर्न पाए हुन्थ्यो त्यो प्राकृतिक वैभवलाई यसैगरी सझाउन पाए हुन्थ्यो भन्ने भाव जागेर आउंछ अनि विविधता अनेक पाटाहरुमा मनमनै यसरी विश्लेषण गर्न पुग्दछु मेरो जन्मस्थान आठराईलाई।

वर्तमान समयमा आठराई गाउँपालिका, तेह्रथुम र आठराई त्रिवेणी गाउँ पालिका ताप्लेजुङ नामका दुईवटा गाउँ पालिका अस्तित्वमा छन् आठराई क्षेत्रमा। नेपालको पूर्वी पाहाडका सुन्दर गाउँ ठाउँ बस्तीहरु मध्ये आठराई पनि एक हो।

सबै गाउँ ठाउँका केही न केही आआफ्नै अलग पहिचान पनि हुन्छन् नै। आठराई नाम के कसरी कहिलेदेखि रहन गएको हो यसबारे खोजिनु पर्दछ। कुनै पनि ठाउँको नाम र त्यहाँ बसोवास गर्ने मानिसको पहिचानमा दुबैको आआफ्नै प्रकारको महत्वपूर्ण भुमिका रहेको हुन्छ।

प्रकृतिको पनि संरक्षण गर्दै उद्योग सन्चालन गर्न सकिएमा जीवन जिउनका लागि वातावरण अनुकुल बन्ने छ। माटोको गुण हेरी खाद्यान्न, नगदेबाली र फलफूल लगाउँ। पानी प्रसस्त भएको ठाउँमा माछा पालन गरौँ। जंगल चरिचरन जग्गा भएको ठाउँमा भेडाबाख्रा, गाईभैँसी पालन गरौँ। मौरी पालन व्यवसाय पनि नाफामुलक व्यवसाय हुनसक्छ। गाउँ घरमा सन्चालन भइरहेका घरबुना खाँडी, छिट, सक्कली ढाकाका कपडाका घरेलु उद्योगलाई प्रोत्साहन एवं प्रबर्धन गरौँ।

किराँत वंशको लामो समयसम्म काठमाण्डू उपत्याकामा बसोवासो थियो। समय क्रममा लिच्छवि वंशले किराँतीहरुलाई काठमाडौं उपत्याकाबाट बिस्थापित गरे। काठमाण्डूबाट लखेटिएका किराँतीहरु पूर्वतिर लागेर केही समय कालसम्म अहिलेको दोलखा जिल्लाको तामाकोशीको किनारमा बसोवासो गरेका थिए भन्ने दोलखाको सदरमुकाम नजिकै रहेको किराँतीछाप नाम गरेको ठाउँको अस्तित्वबाट पुष्टि हुन्छ।

समयको गति सँगसँगै केही समुह दोलखाबाट बसाइँ सर्दै सर्दै जाँदा अरुण नदी पार गरी बस्ती बिस्तार गर्दै गर्दै पूर्व मेची नदीसम्म उत्तर हिमालसम्म र दक्षिणमा विजयपुर अहिलेको सुनसरी जिल्लाको धरानसम्मको भूभागमा आफ्नो हक भोग कायम गरेका थिए भन्ने धरान विजयपुरमा भएको अति प्रचलित आस्था विश्वास एवँ किराँत धर्म ( मुन्धुम )बाट मान्यता प्राप्त बूढासुब्बाको मन्दिरले पुष्टि गरिरहेको छ।

यस अतिरिक्त धेरै ठाउँहरुको नाम किराँत भाषाबाटै राखिएको र आफ्नै छुट्टै पहिचानको राज्य व्यबस्था कायम गरी लामै काल खण्डसम्म किराँतीहरुले राज्य सन्चालन गरेको पाइन्छ।  काठमाण्डू उपत्याकामा किँरात वँशबाट राज्य गरिएका समयमा किराँत वंश एउटै हुनु पर्दछ ।

पछि पूर्व लागे पछि बिशेष कारण एवँ परिस्थितिले गर्दा बिस्तारै राई र लिम्बू भनी छुट्टा छुट्टै परिचयबाट वँश अगाडि बढ्दै जाँदा दोलखादेखि अरुण नदीसम्मको भूभागलाई माँझ किराँत (राईहरुको) र अरूण नदीपूर्व सिक्किम मेची नदीसम्म र दक्षिणमा विजयपुरसम्म पल्लो किराँत ( लिम्बूहरुको ) ईलाका कायम हुन गएको पाइन्छ।

यसरी लामै समयसम्म माँझ किराँतमा राईहरुले र पल्लो किराँतमा लिम्बूहरुले आ–आफ्नो राज्य कायम गरेको पाइन्छ। नेपाल राष्ट्रको एकीकरण गर्ने क्रममा लिम्बूवान राज्यलाई केही विशेष प्रशासनिक हक अधिकार दिई नेपाल राष्ट्रमा एकीकरण गरिएको थियो।

पल्लो किराँत लिम्बूवानलाई स्थानीय प्रशासनका निमित्त १७ थुम कायम गरिँदा एउटा थुमको नाम आठराई कायम गरिएको हुनुपर्छ तर आठराई नै नाम राख्नुको कारण चैँ के थियो ठोस रुपमा कसैले पनि जानकारी गराउन सकेका छैनन्।

आठराई नाम गरेको भूभागभित्र बिभिन्न नामका धेरै गाउँहरु छन्। शहर बजारमा टोल टोलका नामहरुजस्तै । नाम भनेको पहिचान हो। ठाउँ पत्ता लगाउन गाउँको नाम दिने त एक प्रकारको परम्परा नै रही आएको हो। कतिपय ठाउँको नामबाट मानिसका थरहरु कायम भएका छन् कतिपय ठाउँका नामहरु मानिसका थरबाट कायम भएका पनि पाइन्छन्। यस्तै कति थरहरु मानिसको पेशाबाट पनि बनिएका छन् ।

आठराईका गाउँहरु स्थानीय लिम्बू भाषा र खस भाषा दुबै भाषाबाट राखिएका छन् जस्तै केही गाउँका नामहरु : लिम्बू भाषामा हाङपाङ, चाँगे, छिन्ताङ, खाम्लालुङ, वाइफुङ, फम्बु, फाक्चुवा, थोकलुङ, याङ्खुवा, सोदन, पाक्तिन, तेम्मे, ह्वाकु, बोखिम, नाम्जाङ, साम्थाङ, सोबुवा, चुँवा, खुङग्रिङ, फुटा, चोक्पुर, इवा, लिसिबङ, पाक्तिन, नेस्सुम, साप्तेलुङ, मिचिरिङ, सोयावुङ, केरेपे, दोरप आदि र खस भाषाका : चुहाण्डाँडा, पोखरी, करकले, मुलपानी, कालिपा, बिजौरे, खुर्पाथोक, फुलबारी, ढुङ्गेसाँघु, डाँडागाउँ, गैरिगाउँ, निगुरादिन, सिम्ले, कैँजले, होडा, थापापानी, हात्तीखर्क, चनौटे, मुङ्ग्सारी, पैँयाबोटे, आहाले, सिर्वानी, भदौरे, कार्की गाउँ, निवारे, बेतिनी, फलाँटे, हिले, खाल्डे ओखरबोटे, भित्रिया, चित्रे, मालबाँसे इत्यादि।

प्रायजसो लिम्बू भाषामा गाउँको नाम भएका गाउँहरुमा लिम्बू समुदायकै र खसभाषामा नाम भएका गाउँहरुमा छेत्री बाहुनकै बाहुल्यता भएको पाइन्छ। आठराई सम्पन्न त थिएन तर बिपन्न पनि थिएन। वि.सं. २००० सालअघि देखि नै शैक्षिक एवं सामाजिक क्षेत्रमा पाइला टेकिसकेको आठराई २००७ सालको परिबर्तनका कारण खासगरी शिक्षा विकासमा ठूलै फड्को मार्न सफल भएको थियो।

२०१७ सालको राजाको अप्रजातान्त्रिक कदमले आठराईको शैक्षिक जागरणलाई खास कुनै प्रतिकुल प्रभाव पारेन। फलत द्रुतगतिमा गाउँ गाउँमा विद्यालयहरु स्थापना हुँदै गए। २०१७ सालसम्ममा आठराईमा एउटा ईन्टर कलेज ४ वटा हाईस्कुल, मिडिल र प्राइमरी गरी अन्य ८—१० वटा स्कुलहरु सन्चालन भइसकेका थिए। २०२५ सालसम्म आठराईमा एसएलसी पास भएका र फेल भएका, आइए पास भएका र फेल भएका थुप्रै गाउँले युवाहरु कुनै काम नपाएर अलमल्ल परेर समय गुजÞार्न बाध्य थिए।

आठराईको शैक्षिक प्रगतिले स्थानीय युवाहरुमा ल्याएको चेतनाको जागरणलाई तत्कालीन सरकारले लागु गरेको राजनैतिक व्यबस्थातर्फ झुकाव गराउन असमर्थ भएको हुँदा अधिकांश युवाहरु बामपन्थि राजनीति तर्फ ( उनीहरुको भाषामा जन पक्षीय राजनीति) होमिए। यो समयमा आठराईको राजनीतिमा तत्कालीन चीनका नेता माओत्सेतूङको बिचार धाराले ठूलो प्रभाव पारेको थियो।

२०३१ सालमा सरकारले आठराईमा फैलँदो कम्युनिस्ट राजनीतिको स्थलगत अध्ययन गरी प्रतिबेदन पेश गर्न काठमाण्डूबाट एक प्रहरी अधिकृत खटाई बामपन्थी राजनीतिकों गतिबिधिको सम्पूर्ण जानकारी लिएको थियो।

सोही जानकारीअनुसार नै २०३२ सालमा आठराईका १५ गाउँ पन्चायतमध्ये उत्तर तर्फका ८ गाउँ पन्चायतलाई ताप्लेजुङ जिल्लामा गाभिदिएर आठराईलाई बिभाजन गरियो। जिल्ला परिवर्तन हुँदा जनतालाई सदरमुकाम नजिकै हुन गई सरकारी कामकाजका लागि सजिलो हुनगयो। यसले गर्दा जनताहरु त खुशी नै भए तर सरकारको ईच्छा भने पुरा भएन। कम्युनिस्ट गतिबिधिमा कुनै कमी आएन।

त्यसपछि सरकारले आठराईमा दमनको नीति अख्तियार गरी चुहाण्डाँडाको वीरेन्द्र ईन्टर कलेज बन्द गरी प्रोफेसरहरुलाई अन्यत्रै सरुवा गरिदियो। कलेज बन्द गरियो। २ बर्षपछि तेह्रथुम कृषि क्याम्पसका नामबाट पुन सन्चालनमा ल्याइयो। अहिले मानविकी बिषयमा स्नातकको पढाइ सन्चालन भइरहेको छ त्यहाँ। मानिस चलायमान प्राणी हो परिवर्तनशील प्राणी हो साथै सामाजिक पनि।

त्यसैले त मानिस आफ्नो समाजलाई हजारौँ बर्षदेखि परिवर्तन गर्दै गर्दै आज यहाँसम्म आइपुगेको छ। मेरामात्र पुर्खाको कुरा होइन आठराईमा आज जो जति मतवाली र तागाधारी जातिका मानिसहरु छौँ सबै आदिवासी जनजातिभित्रै पर्छौँ।

बर्तमान समयमा आठराईमा बसोवास गरिरहेका जो जे जुन वंश, समुदाय, सम्प्रदाय, वर्ग, वर्ण ,जातजाति, नस्ल, भोटिया मंगोल, आर्यन जो छौँ सबैका पुर्खाको इतिहास लगभग २५०—३०० बर्षको हाराहारीमा रहेको विश्वास गर्न सकिन्छ । यो त अनुमानका आधारमा गरिएको विश्वासमात्र हो। सत्यतथ्यका लागि त अनुसन्धान नै गर्नु पर्दछ।

हो, लिम्बूवान राज्यको इतिहास धेरै पुरानो छ तापनि आठराईमा दाता र साहुको सम्बन्धको आफ्नै ऐतिहासिक महत्व रही आएको छ। आजसम्म पनि खास कुनै उद्योग धन्दाको शुरुवात हुन नसकिरहेको अवस्थामा हामी स्थानिय बासिले विकाश निर्माणलाई के कसरी परिचालन गर्न सकिन्छ? के कस्ता उद्योगहरु स्थापना गर्न उपयुक्त हुन्छन्?

प्रकृतिको पनि संरक्षण गर्दै उद्योग सन्चालन गर्न सकिएमा जीवन जिउनका लागि वातावरण अनुकुल बन्ने छ। माटोको गुण हेरी खाद्यान्न, नगदेबाली र फलफूल लगाउँ। पानी प्रसस्त भएको ठाउँमा माछा पालन गरौँ। जंगल चरिचरन जग्गा भएको ठाउँमा भेडाबाख्रा, गाईभैँसी पालन गरौँ। मौरी पालन व्यवसाय पनि नाफामुलक व्यवसाय हुनसक्छ। गाउँ घरमा सन्चालन भइरहेका घरबुना खाँडी, छिट, सक्कली ढाकाका कपडाका घरेलु उद्योगलाई प्रोत्साहन एवं प्रबर्धन गरौँ।

संक्रान्ति बजारबाट धजे, बतासे, ओडारे, हात्तीखावा जंगलको जुरे चिसापानी हुँदै सोबुवा द्यौरालीसम्म पुगेर खाम्लालुङ हुँदै संक्रान्ति फर्कने एक दिनको पैदल यात्राको ब्यबस्था गरौँ । यसले स्थानीय पर्यटक प्रबर्धनमा सहयोग गर्ने छ ।

यस्तै याकुम्बा गडी डाँडामा टावर निर्माण गरेर हिमालको मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ। संक्रान्ति बजारबाट दक्षिण मुलपानी द्यौराली हुँदै छिँडीको वरसम्म र उत्तर बतासे हुँदै लिहिढुंगासम्म ब्यवस्थित रुपबाट बजार बसाउन सकिन्छ।

आठराई चुहाण्डाँडाको थुम्कीमा निर्माण हुने हवाई मैदानले समग्र आठराईको विकास निर्माणको गतिविधिमा निश्चितरुपमा तीव्रता ल्याउने छ। आठराईमा मोटर बाटो पुर्याउन दश बर्ष ढिला भए पनि अब आठराई बासिले ढिलो नगरी प्रयास गरेको खण्डमा दश बर्षमा आठराई गाउँपालिका आठराई नगरपालिका बन्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *