भुपाल राईको कवितामाथि विमला तुम्खेवाको अभिव्यक्ति

त्यही भूगोल पार्कबाट उद्घोष गर्दैछु

उत्तरमुखी तोपका मोहराहरु

नारायणहिटीतिर फर्काएर त्यो टुँडिखेलबाट

गणतन्त्रको प्रथम भ्रुण मैले पड्काएकै हो

मेरा हजारौँ मुक्तिसेनाहरुले

मात्र बीस रुपैयाँमा खसाएको अपमानको आँसु

अधुरो सपनाको मूल्यमा साटेको नेहरु डाक्ट्रिनको विरुद्धमा

फेरि अतिरिक्त रगतको माग गर्दै

मैले सिंहदरवार कब्जा गरेकै हो ।

रामप्रसाद राई २००८ बाट

भुपाल राई यो समयको कविहरुमध्ये सर्वाधिक चर्चित र शक्तिशाली कविमध्ये एक हुन् । आफ्नो कविताको माध्यमबाट निरन्तर रुपमा आदिवासी सौन्दर्यलाई सशक्त रुपमा उठाउनु उनको कविताको प्रमुख विशेषता हो । चालीसको दशकदेखि एक्लो बृहस्पती जस्तो अनवरत रुपमा पहिचान र जातीय मुद्दालाई उठाउँदै आएका कवि भुपाल राईको यात्रा नेपाली साहित्यको क्षेत्रमा कम जबरजस्त छैन । दशकौदेखि एक्लै उभिएका यी कवि बजार र मिडियामा त्यति बिघ्न छाउन चाहँदैनन् जति उनी छाउन सक्थे र आउन सक्थे ।

२०६२/६३ को जनआन्दोलनपछि व्यापक रुपमा पहिचानको विषय राजनीतिको केन्द्रमा चर्चा परिचर्चा हुनु, त्यसपछिको अनुज पुस्ताले व्यापक रुपमा यही मुद्दालाई केन्द्रमा राखेर रचना गर्व गर्नु यी सबै परिस्थितिहरुको पछि लामो समयसम्म एक्लै र चुपचाप कविता लेखिरहने भुपाल राईलाई नै श्रेय जान्छ । पहिचानको मुद्दाले देश नै रन्थनाउँदा यिनी कहाँ थिए ? आम रुपमा उनीमाथि प्रश्न तेर्सिने गर्छ । समारोहमा गोष्ठीहरुमा अथवा चियाकफहरुमा । साच्चै कहाँ थिए ? यिनले कविताले उठाएको मुद्दाले के तराई के पहाड देशको शक्तिकेन्द्र नै हल्लिरहेको बेला उनी साँच्चै एक्लै पुतलीसडकमा गुमनाम हिँडिरहेका हुन्थे । ती दिनहरुमा मैले यिनलाई चिनेकै यसरी हो । पिके क्याम्पसको अपोपजिट साँघुरो गल्लीको गीतकार संघको अफिसमा ।

त्यो बेला साहित्यको केन्द्रमा यिनको लेखनले पहिचानको बीज छरिरहँदा काठमाण्डौमा म भने कविता लेख्न छिरेको यो शहरसँग अन्जान कटमेरो रुख थिएँ । त्यसपछिका दिनहरुमा बागबजारको कवि गल्ली र यदाकदा साहित्यिक कार्यक्रमहरुमा बारम्बार भेट भैरहन्थ्यो । जतिबेला देश लोकतान्त्रिक आल्दोलनको चरम उत्कर्षमा थियो । उबेलै हो मैले यिनका लोकप्रिय गीतहरु रेडियो र एफएम मार्फत सुन्दै आएको । ‘त्योबेला सुनकै भाउ छ सुन्तला भारीको चाखी जानु भन्ने मनकारीको खै त बुटजुत्ता’ यो गीत सर्वाधिक चर्चित थियो । बजारमा एककिसिमको हल्ला छ– यी जनजाति लेखकहरुमा किन यतीबिघ्न आक्रोश ? त्यसो त एकथरी साथीहरु बनिरहेकै संरचनामा खुशी छन् तर यिनले बनिरहेको संरचना भत्काउने र आफैले खनेको बाटोमा हिँड्ने हिम्मत गरे त के बिगारे ? बजारमा अर्को पनि हल्ला छ पहिचानवादी लेखकका लेखन विचार र स्वाभाव सबै आगोको कोइला जस्तो भतभती पोल्ने । हुन पनि किन नहोस् त युवाहरुको आधा जवानी द्वन्द्वमै बितिरहँदा ती युवाहरुको मनोविज्ञान कस्तो होला ? तर आजपनि देशको अवस्था देख्दा रुन मन पर्छ ।

अभाव र गरिबीको कारण यिनको सपनाको हत्या हरेक दिन यो देशको शासनसत्ताले गरिरहेछ । कुनैदिन सदियौदेखि रहेको विभेदको विरुद्धमा आवाज उठाउँदा उठाउँदै मर्नेछन गुमनाम । चिम्से आँखा लिएर जन्मनु यो देशमा अभिशप्त हो ? कविताको माध्यमबाट भुपाल राई यही प्रश्न बारम्बार राज्यसँग गरिरहेका छन् । यिनका कविता कविता मात्र होइन नेपालको मानचित्रमा सदियौदेखि दबिएर बस्न बाध्य विस्थापित मूल्य र सौन्दर्यको अतित्वलाई स्थापित गर्ने अभियान हो । आफ्नै मौलिकता र पहिचान लिएर उभिएको उनको कविता यो देशको राज्यसत्ता र एकल शासनले बनाएको क्रुर मूल्य र मान्यतालाई भत्काउन कम्मर कसेर उभिएको छ । राज्यका पुरातन बान्की नपरेका शास्त्रलाई बुझ्न, दमन हुनुको कारणको जरैसम्म पुग्न, ती तमाम यातनाको मर्मलाई बुझ्न, ती दुखलाई प्रेम गर्न पहिला तपाईसँग आफू जन्मिएको भूमिले दिएको अपमानको नमिठो स्मृति हुनुपर्छ ।

भुपाल राईका कविताहरु तिनै दुःखहरु हुन तिनै अन्याय अत्याचार र विभेदको विरुद्धमा उक्लै उभिरहेको सालको रुख हो । सायद यसैकारण भुपाललाई मूलधारमा जातिवादी भनेर चर्को आरोप लाग्ने गर्छ । उनको कविता बुझ्न पहिला यो देशको एकात्मक इतिहासको रङ्गीबिरङ्गी फुलबुट्टालाई बुझ्न जरुरी छ । जरुरी छ बुझ्न ती तमाम साहित्य जो यो देशको असली सुगन्ध हो । जसले यो माटोको सुगन्ध सही अर्थमा बोकेको छ । तर, ती तमाम सौन्दर्यहरु साहित्यको मूलधारमा आउन सकेनन् । यो देशको शासकले काठमाण्डौकै डाँडा वरिपरि सदियौदेखि बसिरहेका तामाङ्गहरुको सीमान्तकृत जिन्दगीलाई बुझ्न जरुरी छ । जरुरी छ किनकि यो देशका आदिवासी जनजातिहरुको उपस्थिति राज्यको नीति निर्माण तहमा अझै न्यून छ । सायद यही कारण भुपाल राईले भनेजस्तै थारु थ किन हुन सकेन ? मगर म हुन सकेन ? हुन सकेन राउटे र ? साच्चीकै म पनि सोच्ने गर्छु किन हुन सकेन तामाङ्ग त तर क्षेत्री क्ष चाहीँ कसरी भयो ? यिनै प्रश्नले झस्काइरहन्छ । धेरै कुरा सम्झी सोची ल्याउदा समग्रमा उनको कविताहरुले बोकेको सवालको जवाफ यो राज्यसँग पनि दिने हिम्मत छैन ।

न उतिखेर

न अहिले

कसैले सोधेको छ

किन हुन सकेन किराँती क ?

किन गाईजस्तो ग को सट्टामा हुन सकेन गुरुङ ग ?

अझैपनि कवितालाई असमाजिक तत्वको रुपमा हेर्ने र देख्नेहरु माथि उनको कविताको माथिको पङ्ती दह्रो झटारो हो । र, दिमागमा आउने गर्छ एउटा जिम्मेवार कवि कहानेर निरपेक्ष छ त ? शासकले भनेझै कवि कहिले गैरजिम्मेवार हुन मिल्छ त ? धेरै कारणले यो समयमा नेपाली साहित्य अहिले पूरै आक्रान्त छ । यस्तो समयमा सचेत कवि समाजबाट गैर जिम्मेवार भएर बस्नै सक्दैन । यदि यसो भयो भने ऊ कवि नै होइन । कवि कहिले पनि आफनो समाजबाट निरपेक्ष बस्न सक्दैन । कतिपय लेखक र पाठक उनका कवितासित सहमत नहुन सक्नुहुन्छ तर तपाईलाई यी कविताले घोत्लिन बाध्य नै बनाउँछ ।

भुपालका कविताले विचारको आगो ओकल्छ । त्यसो त उनको आफ्नै तर्क छ जस्तै सबै वस्तुहरु सकिएपनि पृथ्वीमा आगो बाँकी रहनेछ । मेरा कविताहरु कम्तीमा यो समयको लागि त्यही आगोको झिल्का हो । उनले कति ठाउँहरुमा यो अभिव्यक्ति राखेका छन् । उनले यसो भनिरहँदा वर्गीय र जातीय विभेदको मुक्तिपछि नेपालमा उनको तर्कको तुक रहला कि नरहला यसको पछि लामो बहस हुन्छ । नेपालका आदिवासी जनजातिहरु सिलाङ्गको कोइलाखानीदेखि कतारको ज्यानमारुवा गर्मीमा एक हातले बेल्चा र अर्को हातले पहिचानकै कविता लेखिरहदा यो देशको शासकको मनोविज्ञान के भैरहेको होला ? यी तमाम सामाजिक मनोविज्ञानलाई बुझ्न जरुरी छ । कि यो कुरा शासकलाई हेक्का भएको छैन ? तर अहिलेको पहिचान र जातीय मुक्तिको जनमानस तयार गर्नुमा यिनको कविताको भूमिका छ ।

चालिसको दशकदेखि निरन्तर रुपमा यो देशका जनजातिले भोग्नुपरेको जीवन र संघर्षका कविता लेखिरहेका यी कवि सुम्निमाको तस्वीरदेखि आगोले जन्मोत्सव मनाउँदैनसम्म आइपुग्दा एकनासले आइरहे । बरु यिनले उठाएको एजेन्डालाई माओवादीले आफ्नो प्रमुख एजेन्डा बनाएर शासनसत्ता नै हाँक्न भ्यायो । कुनैबेला एजेन्डा मिलेपछि यी कविको पनि माओवादीसँग सहकार्य रह्यो । सृजनशील अराजकता रङ्गवाद लगायतका साहित्यमा नयाँ आयाम र अवधारणाहरु स्थापित हुँदै गयो र साठीको दशकमा नेपाली साहित्यको केन्द्रमा आदिवासी दृष्टिबाट बहस सुरु भयो जुन मैले माथि उल्लेख गरेँ । यो नेपाली साहित्यको इतिहासमा महत्वपुर्ण परिवर्तन थियो । तर यिनले केवाल कवितामार्फत वैचारिक लडाइँ लडिरहे । भीडहरुमा हिँडेनन्, हल्ला गरेनन् । न जनआन्दोलनताका सडकमा अर्जुन पराजुली र मणि काफ्लेले जस्तो कविता भनेर हिँडे । उनी चुपचाप हिँडिरहे र लेखिरहे एकलव्य जसरी ।

फाइदा र अवसरकै लागि माओवादीतिर लाग्यो भन्ने हल्ला बजारमा चलिरहँदा माओवादीको उदय नेपालमा २०५२ मा भयो तर यिनले एक दशक अघि चालिसको दशकबाटै पहिचानका आवाज उठाउँदै आएका थिए । तर एउटा अवस्था के हो भने यो देशका आदिवासीले आफ्नो पहिचानको निम्ति आवाज उठाइरहँदा फेरि पनि अन्तरविरोध र मनमुटाव सहकार्यको सहज वातावरण नहुदा संकट छ चाहे त्यो राजनीतिक रुपमा होस चाहे त्यो लेखनवृत्तमा यस्तो अवास्थामा यिनले उठाएको प्रश्न जटिल छ । राजनैतिक र सैद्धान्तिक हिसाबले जो जहाँ भएपनि पहिचानको मुद्दामा एक हुन नसके ती तमाम तर्कहरुको कुनै तुक हुने छैन । हाम्रो आँखैअघि भएको जनआल्दोलन दुइ र त्यसपछिको घटनाक्रम हेरेर पनि धेरै कुरा सिक्न सकिन्छ ।

पहिचान र जातीय मुक्तिको बहस अब आएर जनजातिको मात्र सरोकार नभएर देशकै सरोकार हो । सर्जकले आफनो कुराहरु राख्दै जाने हो यदि मुद्दा जायज छ भने आफै जनमत निर्माण तयार गर्दै जान्छ । कमसे कम अर्कोको काँधमा बन्दुक राखेर शिकार गर्ने स्वभावले संसारमा त्यस्ता धेरै ठूलठूला आन्दोलन तुहिएर गएको आँखै अगाडि छ । जबसम्म हामी हाम्रो सामाजिक आर्थिक र साँस्कृतिक मुद्दाहरुमा एकबद्धता हुन सक्दैनौ तबसम्म समस्या त्यस्तै रहन्छ । यो मुद्दाको पछि बैरागी काइला हँुदै श्रवण मुकारुङ्ग, राजन मुकारुङ्ग, हाङ्गयुग अज्ञात, उपेन्द्र सुब्बा, युग पाठक, हेमन यात्री, केशव सिलवाल हुदै स्वाप्नील स्मृति, चन्द्रवीर तुम्बापोसम्म आइपुग्दा मेट्न नसकिने पिरामिड खडा भैसकेको छ । अन्तमा फेरि पनि भुपाल राईका कविताका केही हरफ

यी सबका अगाडि

एउटा घाइते अस्तित्वको थिलथिलो घाउ

र, बल्झिदै हतुवागढीको बासी उकुचु

हेर

म बागमतीको टुटेको पुलनिरै रोकिएको छु ।

रामप्रसाद २००८ शीर्षकको कविताबाट ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो