लामो दुरीका सवारी साधन र आन्तरिक हवाइ उडान असोज १ कि पाँचमा ?

डिसी नेपाल
३१ भदौ २०७७ १४:४४

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार एउटा परिपत्र जारी गर्यो। नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहल, नेपाल वायुसेवा निगम कान्तिपथ, नेपाल वायुसेवा सञ्चालक संघ काठमाडौं र नेपाल एसोसियसन अफ ट्राभल्स एण्ड टुर्स एजेन्ट्स गैह्रीधारा काठमाडौंलाई मन्त्रालयका सचिवको संयोजकत्वमा हुने बैठकमा उपस्थितिकालागि बोलाइयो।

यसरी बोलाइएको पत्रमा लेखिएको छ, ‘प्रस्तुस विषयमा यही असोज ५ गतेबाट आन्तिरिक वायुसेवा संचालन गर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको विदितै होला।’

नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार मन्त्रि परिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा असोज १ गते देखि लामो दुरीको सवारी साधत तथा आन्तरिक हवाई उडान सञ्चालन गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको बताएका थिए।

मन्त्रिपरिषद बैठक बसेकै दिन ‘एक मन्त्री’ लाई उद्धृत गर्दै अधिकांश संचारमाध्यमले असोज पाँच गतेखि लामो दुरीका सवारी साधन तथा आन्तरिक हवाइ उडान संचालन गर्ने निर्णय गरेको समाचार सम्प्रेषण गरेका थिए।

मंगलबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले असोज १ गतेदेखि लामो दुरीका सवारी साधन र आन्तरिक हवाइ उडान सुचारु गर्ने बताए। सरकारले गरेको निर्णयको मिति फरक हुँदा सर्वसाधरणमा भने अन्यौल उत्पन्न भएको छ।

आन्तरिक हवाई उडान तथा लामो दुरीका सावारी साधन चलाउने मिति असोज १ हो वा असोज ५ भन्ने अन्यौल भएपछि हामीले यो विषयमा सम्बन्धित निकायमा प्रश्न गर्यौं।
आन्तरिक हवाईसँग प्रत्यक्ष सम्बन्ध राख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक देवेन्द्र केसीलाई बुझ्यौं। उनले आफूलाई आधिकारी जानकारी नआएको तर, आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन गरिने भन्ने कुरा सुन्नमा आएको बताए।

विभिन्न वायुसेवा निगम, प्राधिकरण, संचालक समिति र ट्राभल्स एण्ड टुर्स एजेन्टहरुलाई पत्राचार गरेको संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्पर्क ग्यौं।
मन्त्रालयका सहप्रवक्ता उपसचिव राजन पौडेलले भने मन्त्रालयबाट जारी गरिएको पत्राचारमा मिति गलत भएको स्वीकार गरेका छन्। उनले भने, ‘हामीले गरेको पत्राचारमा मिति गलत भएको हुनसक्छ। मन्त्रीज्यूले भन्नु भएको मिति नै साँचो होला।’

त्यसपछि सरकारका प्रवक्ता प्रदीप ज्ञवालीलाई हामीले पुनः सम्पर्क गर्यौं र सोध्यौं कुन मिति सही हो। प्रवक्ता ज्ञवालीले असोज १ गते नै भएको बताए। उनले भने, ‘मन्त्रिपरिषदको निर्णय अनुसार लामो दुरीको सवारी साधन र आन्तरिक हावाई उडान असोज १ गतेदेखि संचालन गर्ने निर्णय भएको हो। असोज ५ गते भन्ने मिति उहाँहरुले नै गल्ती गर्नु भयो होला।’

अन्ततः सरकारले गरेको निर्णयको बारेमा सही जानकारी विना नै संचार माध्याम र मन्त्रालय समेतले गलत गरेको मितिले सर्व साधारणलाई अन्यौल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *