लघुकथा : अनौठो सपना

डिसी नेपाल
३ असोज २०७७ ८:१९

बिउझिँदा खलखल पसिना आएको थियो। सुत्ने बेलामा ‘देश कसै गरे पनि बनेन, सबका सब भ्रष्टाचारी भए, नालायक भए, बिकौवा माल भए, म भएको भए देश बनाउने थिएँ’ भन्ने सोच्दै सुतेको थिएँ । सपना देख्न थालेँछु। कार्यकारी प्रधानमन्त्री भएको रहेछु रे। २० किलोको माला गलामा रहेछ रे।

कार्यालयको कुर्सीमा बसेको रहेछु रे। पिएले आएर खुसुक्क कानमा भनेछ रे –फेरि प्रधानमन्त्री हुन पाइन्छ पाइन्न, पाएको बेला अलिकति जोहो गरिहाल्नु पर्छ। फेरि चुनाव पनि त लड्नु पर्छ।

मैले भनेँछु रे – म त देश बनाउन आएको हुँ।

पिएले भनेछ रे – त्यो भन्ने कुरा हो । मौकामा चौका हान्न पर्छ।

म पिएलाई हकार्दै थिएँ । अफिसको ठूलो स्क्रिनमा सडकको जुलुस देखिइ रहेको थियो । जुलुस विभिन्न थिए।

एउटामा जुलुसे जनता चिच्याउँदै थिए– कोरोनाले मान्छे मर्न थाले । लकडाउन टाइट पार सरकार।

अर्को जुलुसे जनता पनि चिच्याउँदै थिए – भोकले मान्छे मर्न थाले, लकडाउन खोल सरकार।

म त्यो दृश्य देखेर छक्क परेँछु रे। भेजाले काम गरेन छ । अनि पिएलाई सोधेँछु – के हो यी जनताका त दुई जिब्रा रहेछन्। सरकारले गर्ने के हो!
पिए मुसुक्क मुस्कुराएर भन्दै थियो रे – जनताका दुई जिब्रा होइन, हजार जिब्रा छन् । यो भनेको धमिलो पानी हो । माछा यस्तै बेला राम्ररी मर्छ सरकार ।

२४ अगस्ट, २०२०
सान एण्टोनियो, अमेरिका

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *