संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह : नेता खनाल

डिसी नेपाल
३ असोज २०७७ १०:५९
4
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरे। संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा दिने उनले सन्देशमा उल्लेख गरे।

“सात दशक लामो जनताको अथक संघर्ष, त्याग र बलिदानको परिणामस्वरूप हामीले सामन्तवादको प्रतीकको रुपमा रहेको राजतन्त्रलाई सदाको लागि अन्त्य गर्दै यस संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेका छौँ”, उनले सन्देशमा भनेका छन्, “यस संविधानमार्फत नागरिक स्वतन्त्रता, मानवअधिकार, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता जस्ता आधारभूत अधिकार सुनिश्चित गरेका छौँ ।”

संविधानकै अनुसार समावेशी ढंगको निर्वाचन प्रणालीमार्फत केन्द्रीय, प्रदेश र स्थानीय तहहरुको निर्वाचन गरी सरकार गठन गरेर देशमा राजनीतिक स्थिरता कायम भएको उनले उल्लेख गरेका छन्। “मुलुक विकास निर्माण, अग्रगति, प्रगति र समृद्धिको दिशातर्फ अघि बढेको छ र हामीहरु समाजवादतिर अघि बढ्न कृतसंकल्पित छौँ”, पूर्वप्रधानमन्त्री खनालले सन्देशमा भनेका छन्, “यी सबै संविधान निर्माणपश्चात् हामीले गरेका असाधारण उपलब्धिहरु हुन् ।” रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *