एनआरएनएका ज्ञान,अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ : पूर्वमन्त्री गगन थापा

डिसी नेपाल
३ असोज २०७७ २३:२२

अमेरिका । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको शनिबार साँझ औपचारिक उद्घाटन भएको छ । शुक्रबारदेखि नै अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका नेता गगन थापा, गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गरे।

कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले एनआरएनएले गरेको यो प्रयास निकै सह्रानीय भएको बताए। संसारभरी छरिएर रहेका नेपालीहरुलाई नेपालसँग जोड्न आफू सँधै प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

‘आज पर्याप्त स्रोत र साधनको अभावमा देश गुज्रिरहेको छ । यस्तो संकुचित अवस्थामा त्यसको पूर्ति गैरआवासीय नेपालीहरुका अनुभव र अभ्यासबाट हुन्छ भन्ने अपेक्षा छ । तपाईँहरुको अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ’, पुर्व मन्त्री थापाले भने।

कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले आआफ्नो क्षेत्रबाट निकै महत्वपूर्ण योगदान पुर्याएको तर सरकारले इच्छाशक्ति देखाएर काम गर्न नसकेको उनको तर्क थियो ।

पूर्व मन्त्री थापाले भने, ‘महामारीमा हामीबीच नयाँ अनुभवहरु भएका छन् । उन्नत संरचनाहरु बनेका छन् । यी सबैकुरा हुँदै गर्दा पनि राजनीतिक नेतृत्व जुन इच्छाशक्तिका साथ आउनु भने हो त्यो अभाव देखिएको छ।’

कोरोना महामारीले स्वास्थ्यसँगै आर्थिक तथा सामाजिक संकट समेत निम्त्याएकाले सरकार, गैरआवासीय नेपाली, राजनीतिक दल र सबै सरोकारवाला समन्वय गरेर अगाडी बढ्नुपर्ने धारणा उनले राखे।

समितिले आयोजना गरेको ३ दिने सम्मेलनले जारी गर्ने घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। उद्घाटन कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले स्वास्थ्य समितिको यो सम्मेलन निकै अर्थपूर्ण भएको बताए। ‘देशबाहिर रहेका ६० लाखभन्दा बढी नेपालीहरुको स्वास्थ्यमा समितिले निकै मत्वपूबर्ण भूमिका खेलेको छ । कतिपय राजदूतावास नभएका मुलुकमा रहेका नेपालीहरुका लागि समितिले उल्लेखनिय भूमिका निर्वाह गरेर यो सधैका लागि चाहिन्छ भन्ने प्रमाणीत गरिदिएको छ’ अध्यक्ष पन्तले भने।

कोरोना महामारीको समयमा विभिन्न मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, आर्थिक संकट, खाद्यान्न व्यवस्थापन, स्वदेश फिर्ती लगायत कार्यमा एनआरएनएले निकै महत्वपूर्ण भुमिका खेलेको उनको तर्क थियो ।

एनआरएनएले समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्तीका लागि सहजीकरण गरिदिन सरकारलाई पटक पटक आग्रह गरे पनि सरकारले सिमित संख्यामा मात्रै नेपालीहरुलाई स्वदेश फर्काउँदा समस्या निम्तिएको उनले उल्लेख गरे।

‘कतिपयको करार अवधि सकिएर घर नफर्कि नहुने अवस्था छ । यस्तो अवस्थाका नेपालीहरु स्वदेश फर्किराख्नुभएको छ । तर यो संख्या पर्याप्त छैन । धेरैभन्दा धेरै नेपालीहरुलाई स्वदेश फर्काउन हामीले सरकारसँग पहल गरिरहेका छौँ’ अध्यक्ष पन्तले भने।

एनआरएनएका अध्यक्ष पन्तले समितिले आयोजना गरेको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको सफलताको कामना समेत गरे। संसारभरीका अरु स्वास्थ्यकर्मीहरुलाई समेट्ने समतिको योजना सफताको समेत कामना गरे। सोही कार्यक्रममार्फत अध्यक्ष पन्तले एनआरएनएले विश्व ज्ञान सम्मेलन समेत गर्न गइरहेको जानकारी गराएका थिए।

राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले समितिको सम्मेलन उपयुक्त समयमा भएको बताउए। पछिल्लो समय विश्वमा महामारीका रुपमा फैलिएको कोभिड –१९ ले स्वास्थ्यमा मात्रै नभएर आर्थिक, समाजिक क्षेत्रमा पनि निकै ठूलो असर पारेको र यसको असर लामो समयसम्म कायम रहने बताए।

‘हाम्रोे मातृभूमि कोरोनासँग लडिरहेको छ । हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ’ कार्यक्रममा बोल्दै उनले भने। त्यस्तै यो दोस्रो विश्व स्वास्थ्य सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।

एनआरएनएका महासचिव डा हेमराज शर्माले कार्यक्रममा बोल्दै कोरोना संक्रमणसँग जुध्न संघले सुरुदेखि नै उच्चस्तरीय समिति गठन गरेर अगाडी बढेको बताए। समितिले नेपालीहरुको अवस्था, समस्या परेकाहरुलाई सहयोग गरेको उनले जानकारी दिए।

विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य अबस्थाका बारेमा जानकारी दिन सम्बन्धित सबैसँग समन्वय गरी हरेक हप्ता नेपालीहरुको स्वास्थ्य अवस्थाबारे बुलेटिन प्रकाशन गरिएको उनले उल्लेख गरे। गन्तव्य मुलुकका सरकार, नेपाल सरकार, कुटनीतिक नियोग लगायत सबैसँग नजिक रहेर काम गर्ने अबसर समेत कोरोना महामारीको समयमा जुटेको उनको भनाई थियो । विशेषगरी मध्यपूर्वका मुलुकमा रहेका नेपाली श्रमिकहरुको हकहित का लागि आइएलोसँग प्रोजेक्ट सुरु गरेको उनले उल्लेख गरे।

समितिका अध्यक्ष संजिव सापकोटाले प्रथम विश्व स्वास्थ्य सम्मेलनको ऐतिहासिक महत्वलाई निरन्तरता दिन दोस्रो सम्मेलन तय गरिएको बताए।

सम्मेलनले संसार भरीका स्वास्थ्यकर्मी, उनीहरुको चुनौती र अवसर, युवाहरुको स्वास्थ्य, महामारीमा सञ्चारमाध्यमको भूमिका लगायत विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको बताए।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले यस्तो महामारीमा पनि दोस्रो विस्व स्वास्थ्य सम्मेलन आयोजना गर्न सफल भएकोमा एनआरएनएको स्वास्थ्य समितिलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सफलताको कामना समेत गरे।

स्नेहा सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए महिला संयोजक भोमा गुरुङ, एनआरएनए युवा संयोजक हिमाल गुरुङ आइओएम युएन माइग्रेसन कन्ट्री डाइरेक्टर लान्दो लोरेना लगायतले पनि आफ्नो धारणा व्यक्त गरेकी थिइन्। त्यस्तै विभिन्न मुलुकमा रहेका युवाहरुले समेत कार्यक्रममा धारणा राखेका थिए।

२ सयभन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको उक्त सम्मेलनमा एनआरएनएका प्रतिनिधिहरु, विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति थियो । ३ दिने सम्मेलन विश्व नेपाली स्वास्थ्य घोषणा पत्र जारी गर्र्दै आइतबार सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *