चोरी गर्न घरभित्र पसेका चोर एसीको शितल हावाका कारण त्यहीँ निदाएपछि…

डिसी नेपाल
४ असोज २०७७ १३:५३

काठमाडौं। भारतको आन्ध्र प्रदेशमा चोरीको निकै रोचक घटना भएको छ । यहाँ चोरी गर्नको लागि एउटा घरभित्र पसेका चोर घरभित्र एसीको शितल हावाका कारण त्यहीँ निदाए । उनी ब्यूँझिँदा आफू पुलिसको फन्दामा परिसकेको थाहा पाएका थिए । भारतीय संचारमाध्यमका अनुसार गोदावरी जिल्लाको गोकवारममा २१ वर्षका सूरी बाबु त्यहाँका सत्ती भेंकट रेड्डीको घरमा चोरी गर्न गएका थिए ।

भेंकट रेड्डी त्यहाँ पेट्रोल पम्प चलाउँछन् । उनको घरमा ठूलो रकम भएको अनुमानमा चोरी गर्न गएका सूरी बाबु एयर कण्डिशनरको शितल हावाको अगाडि टिक्न सकेनन् र त्यहीँ निदाए । सूरीले पुलिसलाई बताएअनुसार उनले विगत केही दिनदेखि घर मालिकको दिनचर्यालाई नियालिरहेका थिए । चोरी गर्न उपयुक्त समयको पहिचान गरेर सूरी १२ सेप्टेम्बरमा बिहान ४ बजे घरमा पसेका थिए । घरभित्र गएर उनी घरमालिक भेंकट रेड्डीको कोठामा गए ।

सूरी बाबुले पुलिसलाई बताएअनुसार उनी अघिल्लो दिन दिनभरी काम गरेर थाकेका थिए र एसीको शितल हावा पाएपछि उनलाई निद्रा लाग्यो । उनले घरमालिक रेड्डीको बेडमुनि नै केही बेर आराम गर्ने सोचे । तर, उनी निदाएपछि जोडले घुर्न थाले जसका कारण घर मालिकको निद्रा खुल्यो । घर मालिक भेंकट रेड्डीले बाहिर निस्किएर कोठाको ढोका बाहिरबाट बन्द गरिदिए । उनले पुलिसलाई फोन गरे र बिहान करिब साढे ७ बजे पुलिस आएर सूरीलाई ब्यूँझाएर गिरफ्तार गरेको थियो । सोधपुछमा सुरीले आफू मिठाइ पसलमा काम गर्ने र लकडाउनका कारण आर्थिक अभाव भएपछि पहिलो पटक चोरी गर्न लागेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *