आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

डिसी नेपाल
५ असोज २०७७ १३:५५

चितवन। आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन्।

झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि साेमबारदेखि सञ्चालनमा आउन लागेको आन्तरिक उडान र निकुञ्जका गतिविधिका कारण सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका हुन्।

खुलेका होटलमा खासै पर्यटक आइनसकेको भए पनि टेलिफोनबाट सेवा र सुविधाका बारेमा जानकारी लिनेक्रम निकै बढेको छ। कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द अवस्थामा रहेको होटल असोज १ गतेदेखि खुल्न शुरु भएका हुन्।

रेष्टुराँमा बसेर खान पाइँदैन भने जोरबिजोर प्रणालीमा दिनमा मात्र सवारी सञ्चालन गर्न पाइन्छ। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले होटल खुलेको भए पनि खासै पर्यटक नआएको बताए। उनले भने, “आजदेखि आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेकाले आश जगाएको छ।”

असोज ७ गतेपछि क्रमशः पर्यटक आउन शुरु गर्ने अनुमान उनको छ। ठाउँठाउँबाट आन्तरिक पर्यटकले फोन गरिरहेकाले दशैँ अगाडिसम्म पुग्दै गर्दा पर्यटकको राम्रो चहलपहल हुने उनको अनुमान छ। होटल बन्द भएपछि भएको फोहर र झाडी सफा गर्ने काममा व्यवसायी जुटेका छन् । सौराहामा पर्यटक चढाउनका लागि राखिएका ५० वटा निजी हात्तीमध्ये भाडामा ल्याएका १० वटा फिर्ता गरिसकिएको उहाँले जानकारी दिए।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेको होटल जङ्गल सफारी लजमा शनिबार पाँच वटा कोठामा पाहुना थिए। फाट्टफुट्ट आन्तरिक पर्यटक आउन थालेको र निकै टेलिफोन आइरहेको घिमिरेले जानकारी दिए। घरमा बस्दाबस्दा दिक्क भएका र काम विशेषले आउनु परेका सौराहा आउने गरेको उनको भनाइ छ। उनले भने, “क्रमशः पर्यटकको सङ्ख्या बढ्दै जान्छ भन्नेमा हामी विश्वस्थ छौँ।”

होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी भने दशैँ अघि होटल खोल्ने मनस्थितिमा छैनन्। उनले भने, “ठूलो समूह आएमा व्यवस्थापन गर्ने भए पनि दशैँ अघि होटल खोल्ने मनस्थितिमा म छैन।” खर्च बढ्ने र रोगको डरले केही व्यवसायी पर्ख र हेरको अवस्थामा छन्।

सौराहामा रहेका रेस्टुराँमा सरसफाइ र तयारी थालिएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यही असोज ७ गतेपछि खोल्नका लागि सबैले तयारी शुरु गरेका छन्। आन्तरिक उडान र पर्यटकीय गतिविधि शुरु भएसँगै पर्यटक बढ्ने उनको अनुमान छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सामुदायिक वनमा हात्ती प्रवेश साेमबारदेखि खोलिएको बताए। सौराहाको कुमरोज र बाघमारा चित्रशेन मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई हात्तीमा चढाएर घुमाउने गरिन्छ।

ती वन क्षेत्रमा डुङ्गा सयर पनि गराइन्छ। बरालका अनुसार निकुञ्जमा पैदलयात्रा (जंगल वाक) पनि खोलिएको छ। छिट्टै बाटो मर्मत गरेर जीप सफारीको अनुमति दिने उनले जानकारी दिए।

चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेको भए पनि सोही महिनाको २८ गतेदेखि पुनःबन्द भएका थिए । सौराहामा ११० होटल छन्। यसैगरी साना ठूला १०० हाराहारी रेस्टुराँ छन्। सौराहाका होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दाबढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन्।

आन्तरिक उडान शुरु

भरतपुर विमानस्थलमा साेमबारदेखि आन्तरिक उडान शुरु भएको छ। गएको चैत ११ गतेदेखि बन्द भएको उडान आजदेखि शुरु भएको हो। यहाँबाट यती एयरलाइन्स र बुद्ध एयरले उडान शुरु गरेका हुन् ।

साेमबार दुवै एयरलाइन्सले दुई/दुई वटा उडान भर्दैछन्। बुद्ध एयरले बिहान ११ः१० र ३ः४० बजे उडान भर्ने जनाएको छ भने यती एयरलाइन्स बिहान १०ः५० र २ः२५ बजे उडान भर्नेछ। ६ महिनापछिको पहिलो दिन भएकाले दुवै एयरलाइन्सले चालक दलमा दुई जना क्याप्टेन राखेर जहाज उडान शुरु गरेका हुन्।

विमानस्थलमा असार ३० गते तारा एयरले चार्टर उडान गरेको थियो । लकडाउन अघि दैनिक पाँच वटा बुद्धले र तीन वटा यतीले उडान भर्दै आएका थिए। दुवै एयरलाइन्सले एउटा उडान पोखरा र चितवन गरेका थिए भने अन्य काठमाडौँबाट चितवन गरेका थिए। नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख योज्ञेन्द्र कुँवरले सुरक्षा कार्यविधि पूर्णरुपमा अपनाएर उडान शुरु गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *