अधिकारी दम्पत्तिको न्यायको लडाईँः श्रीमानको शव २१९० दिनदेखि अस्पतालमा, श्रीमती अनशनमा

खेमराज थापा
५ असोज २०७७ १८:३८

काठमाडौं। गोरखाको फुजेलका नन्दप्रसाद अधिकारीको अनशन बसिरेकै बेला निधन भएको असोज ६ गते ६ वर्ष पुग्दैगदा उनकी श्रीमती गंगामाया राजधानी काठमाडौंस्थित ट्रमा सेन्टरको सातौं तलमा लिक्वीड फूडमा बाँचिरहेकी छन्। उनको प्राण आफूले न्याय पाउने आशामा बचिरहेको छ।

आफ्ना कान्छा कृष्णप्रसाद छोरा चितवन मामा घरमा गएको बेला २०६० सालमा तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले हत्या गरेपछि अधिकारी दम्पत्तिले न्यायका लागि भन्दै चितवनदेखि काठमाडौंसम्म पटक पटक असनस गरे।

पछिल्लो पटक अनसन बसेको ३३४ औं दिनमा २०७१ असोज ६ गते नन्दप्रसादको निधन भयो। तर, उनीहरुले न्याय पाएनन्, नन्दप्रसादले अकाल मृत्यु वरण गरे र गंगामाया मृत्यु कुरिरहेकी छन्। मृत्यु भइसकेपछि पनि नन्दप्रसादको शवले हिन्दु परम्परा अनुसार दाहासंस्कारको अवसर पाएको छैन।

राजधानीस्थित त्रिभुन शिक्षण अस्पतालमा २ हजार १ सय ९० दिनदेखि उनको शव राखिएको छ। अझै कति दिन राखिन्छ यकिन छैन। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले शवको अन्त्येष्टि गर्ने विषयमा परिवार कोही नभए बेवारिसे भए स्थानीय तहको समन्वयमा गर्न सकिने बताए। तर, परिवारका कोही हुँदाहुँदै सरकारले अन्त्येष्टि गर्ने अवस्था नरहेको बताए।

अधिकारी दम्पत्तिको न्यायको लडाईँमा सहयोग गरेका मानवअधिकारवादी अभियन्ता चरण प्रसाईँ राज्य न्याय दिन असफल भएको रुपमा यो मामिलालाई बुझ्नुपर्ने बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘राज्य न्याय दिन असफल भएको छ। क्षमता त पहिला पनि थिएन। अहिले त असफल नै भयो।’

उनले न्यायलय, राजनीतिक दल र प्रहरी प्रशासनबीच अनौपचारिक गठबन्धन भएकोसमेत आरोप लगाए। उनले न्यायलय राजनीतिक दलको कब्जामा परेको भन्दै पीडितलाई न्यायबाट अवरोध गर्न राज्य नै लागेको तर्क गरे। उनले अभियोजन गर्दा नै मुद्दा कमजोर पार्ने विकराल अवस्था आएको बताए।

उनले अधिकारी दम्पत्तिको न्यायको लडाईँ अझै जारी रहेको बताए। गंगामायले यसअघि यो मामिला राष्ट्रसंघसम्म पुर्याउने बताएकी थिइन्। उनले राष्ट्रसंघीय मानवअधिकार समितिका प्रतिनिधिहरुसँग पनि यो विषयमा पटक पटक छलफल गरेको स्रोतले बताएको छ।

नन्दप्रसाद अधिकारीको निधन हुँदा स्वर्गी सुशील कोइराला प्रधानमन्त्री थिए। कोइराला सरकारले त्यतिबेला नन्दप्रसादको अनशन तोडाउने प्रयास पनि गरेको थियो। तर अन्तिममा सरकारको प्रयास असफल भएपछि अधिकारी दम्पत्तिले अनशन तोडेनन्। अनशनमै नन्दप्रसादको मृत्यु भएपछि सरकारले गंगामायाको खर्च चलाउन भन्दै एक करोड रुपैयाँ बैंकमा जम्मा गरिदियो र ब्याज लिन पाउने व्यवस्था गर्यो। तर, हालसम्म गंगामायाले त्यहाँबाट एक रुपैयाँ पनि लिएकी छैनन्।

गत आर्थिक वर्षमा पनि सरकारले २० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो। तर, राहत कसैले नलिँदा फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘गत वर्ष राहतको निर्णय भएको थियो। कसैले नलिएपछि फिर्ता भयो। अब राहत दिने कुरा छैन।’

कृष्णप्रसाद हत्या प्रकणका मुख्य अभियुक्त रुद्र आचार्य बेलायतमा लुकेर बसेको नेपाल प्रहरीले पुष्टि गरिसकेको छ। प्रहरीले उनीविद्ध इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गरियो। तर सरकारले उनलाई नेपाल ल्याउन पहल नगरेको मानवअिधकारवादी अभियन्ता प्रसाईँको बुझाई छ। उनले भने, ‘सरकारले काम गरेजस्तो देखाउने तर त्यसलाई टुंगोमा भने नपुर्याउने गरेको छ। आचार्यलाई नेपाल ल्याउन सरकारले पहल नै गरेको छैन।’

अधिकारी दम्पत्तिका छेठा छोरा नूरप्रसा भने डेढवर्षदेखि जेलमा छन्। उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ। पुर्पक्षका लागि केन्द्रीय कारागारमा उनलाई राखिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *