‘हामी लाप्चामा पुग्दा दुई ट्रक चिनियाँ फौज आए’

मदन कोइराला
७ असोज २०७७ १६:१९

काठमाडौं। उत्तरी छिमेकी चीनले कर्णाली प्रदेशको हुम्लामा भवन बनाएको सार्वजनिक भएपछि हुम्लामा प्रमुख जिल्ला अधिकारी र नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ सो क्षेत्रमा पुगेका छन्।

नाम्खाको वडा नम्बर ६ लाप्चामा चीनले भवन बनाएको थाहा पाएपछि त्यहाँ पुगेर फर्किएका गाउँपालिका अध्यक्ष तामाङसँग डिसी नेपालका मदन कोइरालाले कुरा गरेका छन्। प्रस्तुत छ तामाङसँग गरिएको कुराको सम्पादित अंशः

चीनले नेपाली भूमिमा भवन बनाएको समाचार सार्वजनिक भएको छ। तपाईँ त्यो क्षेत्रमा पुगेर आउनु भयो। त्यहाँको अवस्था कस्तो पाउनु भयो ?

चीनले नेपाली भूमिमा भवन बनाएको समाचार सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुखसहित हामी सो क्षेत्रमा पुगेका थियौं। त्यहाँ पुग्दा हामीले ११ नम्बरको पिलर भेटेनौं। अहिले सिडियोसाब र सुरक्षा निकायका प्रमुखको टोली १० नम्बर पिलर खोज्न हिल्सा पुगेको छ। त्यो क्षेत्रमा ११ नम्बरको पिलर भेटिन्छ कि भनेर उहाँहरु त्यो क्षेत्रमा जानु भएको हो।

चीनले भवन बनाएको ठाउँमा पुग्दा कस्तो पाउनु भयो। चिनियाँ पक्षले तपाईँहरुलाई कस्तो व्यवहार गर्‍याे?

चीनले नेपाली भूमिका भवन बनायो भनेर संचारमाध्यमले समाचार सम्प्रेषण गरे। वास्तविकतामा हाम्रो ११ नम्बरको पिलर नभेटिएको हुँदा त्यो भूमि कुन पक्षको हो भन्ने यकिन गर्न गाह्रो छ। त्यो नजिकै दायाँ पट्टी भवन बनाएको ठाउँ भन्दा एक घण्टाको दूरीमा १२ नम्बरको पिलर यथावत छ।

त्यसलाई कसरी मार्किङ गरिएको छ, त्यो प्राविधिक विषय भएकाले हामीले थाहा पाउने कुरा भएन। तर, पहिला उपभोगको हिसावले त्यो क्षेत्रका बासिन्दाले यो भूभाग उपभोग गर्दै आएका हुन्। त्यहाँ सडक पनि बनाइएको छ, त्यो पनि हाम्रै पक्ष (नेपाल) ले नै बनाएको थियो। त्यो सडक २०६६/६७ सालमा बनाएको हो। त्यो बेला चीनले सो ठाउँमा दुई वटा भवन बनाएको थियो, तर प्रयोगमा ल्याएको थिएन।

त्यो भवन बनाएको ठाउँ त उहाँहरुकै हो भन्ने दाबी थियो नै, त्यो बाहेक एक किलोमिटर नेपालतर्फको भूमि पनि उहाँहरुले दाबी गर्नु भयो। त्यही भएर हाम्रो सिमाना डाँडामा हो, केही कुरा गर्ने हो भने त्यहीँ बसेर कुरा गरौं भन्ने उहाँहरुको भनाइ थियो।

तर यो वर्ष थप नौ वटा भवन बनाएर ११ वटा पुर्‍याएछ। हामी जाँदा त्यहाँ त्यहाँको जिल्लालाई (चीन) जानकारी दिएर गएका थियौं। हामीले उहाँहरुलाई सीमामा रहेका पिलर रेखदेख गर्न आउँदै छौं, सकेसम्म तपाइँहरुको पनि प्रतिनिधि आएको खण्डमा राम्रो हुन्थ्यो भनेर जानकारी गराएका थियौं। र, सोही अनुरुप हामी त्यहाँ पुगेको डेढ घण्टापछि चिनियाँ पक्षको प्रतिनिधिहरु पनि आइपुग्नु भयो।

सँगसँगै चिनियाँ सेनाको दुईवटा ट्रक पनि आइपुग्यो। कोरोनाका कारणले उहाँहरु पीपीई लगाएर आउनु भएको थियो। चिनियाँ सेना आइसकेपछि उहाँहरुले यो भूमि हाम्रो हो, यो सबै भूमि हाम्रो नक्सामा कायम छ, तपाईँहरुको भूमि मिचिएको छैन, यहाँ कुरा गर्न मिल्दैन, यदि केही कुरा गर्ने हो भने तपाईँहरु र हाम्रो सिमाना माथि डाँडामा जाउँ र केही कुरा गर्नुपर्ने छ भने त्यहीँ गरौं, नत्र तपाईँहरु यहाँबाट ब्याक हुनुस् भनेर माइकिङ गर्नु भयो।

उहाँहरुले माइकिङ गरेपछि हामी ब्याक भयौं। त्यहाँ हाम्रो सीमा स्तम्भ लाप्चा भन्ने ठाउँमा छ। ११ नम्बर पिलर फेला परेको छैन, अहिले पनि खोजी कार्य जारी छ। त्यो हुँदा उक्त भूमिका विषयमा ठ्याक्कै भन्न सक्ने अवस्था छैन।

चिनियाँ पक्षले पछि हट्न माइकिङ गरेर पछि हट्न भनेको विषयलाई यहाँहरुले कुन रुपमा बुझ्नु भयो ?

हाम्रो भूमि कहाँसम्म, उताको भूमि कहाँसम्म भन्ने ठ्याक्कै यकिन छैन। उहाँहरुको भनाइ सीमामा गएर कुरा गरौं भन्ने आयो। हामी पुगेको भूमिलाई चिनियाँ पक्षले आफ्नो दाबी गरेर हामीलाई ब्याक हुन बाध्य पार्‍याे।

त्यो भवन बनाएको ठाउँ त उहाँहरुकै हो भन्ने दाबी थियो नै, त्यो बाहेक एक किलोमिटर नेपालतर्फको भूमि पनि उहाँहरुले दाबी गर्नु भयो। त्यही भएर हाम्रो सिमाना डाँडामा हो, केही कुरा गर्ने हो भने त्यहीँ बसेर कुरा गरौं भन्ने उहाँहरुको भनाइ थियो।

डाँडामा बसेर छलफल गरौं भन्ने चिनियाँ प्रस्तावलाई यहाँहरुले के गर्नु भयो ?

त्यसपछि उहाँहरुसँग केही पनि कुरा हुन सकेन। हामी व्याक भएपछि हाम्रो सीमा कहाँसम्म हो भन्ने यकिन भएन। किनभने त्यहाँ ११ नम्बर पिलर नै छैन। १२ नम्बर पिलरलाई मात्रै मार्किङ गर्ने हो भने त्यो क्षेत्र हाम्रो सीमा भित्र पर्ने जस्तो देखिन्छ। प्राविधिक विषय भएकाले हामीलाई ज्ञान हुने कुरा पनि भएन ।

११ नम्बरको पिलर फेला पर्न नसक्नुको कारण के होला। चीनले कब्जा गरेर हटाएको हो वा नेपालले संरक्षण गर्न नसकेर हरायो? तपाईँहरुले के अनुभूति गर्नु भयो?

११ नम्बर त्यहाँ आसपासमा छैन। १२ नम्बर अली टाढै छ। विभिन्न संचारमाध्यममा ११ नम्बर पिलर हराएको भन्ने समाचार आएको छ। तर हामीले सो पिलर खोजेकै छैनौं। खोजी नै नगरेपछि हरायो भन्न मिल्दैन जस्तो लाग्छ मलाइ। अहिलेसम्म सीमा स्तम्भ राज्यपक्षले खोजी नै गरेको छैन।

यो पहिलो पटक हो। १२ नम्बर पिलर त्यहाँ भएको त स्थानीयबासीलाई पनि जानकारी थियो। हामीलाई पनि जानकारी थियो। १२ नम्बर पिलरमा पनि सरकारी प्रतिनिधि पुगेको पहिलो पटक होला। यो भन्दा अगाडि कुनै पनि प्रतिनिधि त्यहाँ पुगेको जानकारी छैन।

१२ नम्बर पिलर चाँही सुरक्षित नै छ ?

१२ नम्बर पिलर यथावत र सुरक्षित नै पायौं।

सो क्षेत्रमा नेपाल सरकारको उपस्थितिको अवस्था के छ ?

सरकारको उपस्थिति सो क्षेत्रमा शून्य छ। सो क्षेत्रमा हालसम्म बीओपी (बोर्डर अब्जरभेसन पोस्ट) स्थापना हुन सकेको छैन। अझैपनि गर्ने पक्षमा सरकार छ कि छैन थाहा छैन। हाम्रो माग के हो भने सो क्षेत्रमा एउटा बीओपी स्थापना हुनुपर्‍याे।

सो क्षेत्रमा बोर्डर मै बस्न नकसेपनि (त्यो क्षेत्र निकै हाइटमा भएकाले बस्न सक्ने अवस्था पनि छैन) अलि तल भवन बनाउन सक्ने ठाउँ छ, त्यहाँ सीमा सुरक्षा बल खटाउने हो भने सीमाको रक्षा हुन्छ भन्ने हाम्रो मान्यता हो। यो हामीले पनि बारम्बार माग गरेका छौं। तर सुनुवाई भएको छैन।

यहाँले २०६७ सालदेखि नै चीनले त्यहाँ भवन बनाएको भन्नु भयो। अहिले नौ वटा भवन बनाएर ११ पुर्‍याएको छ। वर्षौंदेखि चीनले नेपाली भूमिमा भवन बनाउँदा यो विषयमा स्थानीय प्रशासन वा केन्द्र सरकार जानकार थिएन?

यसअघि त्यहाँ दुई वटा भवन बनाएको थियो। त्यो भवन बनाएको जानकारी थियो। नेपाली भूमिमा चीनले किन भवन बनायो भन्ने चासो स्थानीयबासीले पनि राखेका थिए। त्यो पूरै अनकण्टार क्षेत्र हो। त्यस्तो क्षेत्रमा चीनले किन भवन बनायो भन्ने विषय जिल्लालाई पनि जानकारी थियो।

त्यो बेला हुम्लाको सिडियो कृष्णप्रसाद कटुवाल काउन्टर मिटिङमा पनि जानु भएको थियो। उहाँले यो कुरा उठाउनु भएको भनेर हामीले सुनेका थियौं। कुरा उठान त भयो तर सुनुवाइ भएको थिएन।

तपाईँहरुले चीनले भवन बनाएको ठाउँको स्थलगत अध्ययन गरेर आउनु भएको छ। अहिले तपाईँहरुले त्यहाँको वस्तुस्थितिबारे केन्द्र सरकार वा गृहमन्त्रालयलाई जानकारी गराउनु भएको छ ?

यो विषयमा एउटा पूर्ण रिपोर्ट बनाएर गृहमन्त्रालयमा पठाउने हो। हाम्रो सीमा सुरक्षाको विषय भएकाले टोलीको प्रमुखमा सिडियोसाब हुनुहुन्छ। उहाँहरु अहिले हिल्सा बोर्डरतिर जानु भएको छ। त्यो क्षेत्रमा ११ नम्बर पिलर फेला पर्छ कि भन्ने उद्देश्यले जानु भएको हो। उहाँहरु फर्किएपछि रिपोर्ट बनाएर सम्बन्धित निकायमा पठाउँछौं।

नाम्खा गाउँपालिकाबाट सो क्षेत्रमा पुग्न कति समय लाग्छ ?

हाम्रो गाउँपालिकाबाट सो क्षेत्रमा पुग्न पैदल चार दिन लाग्छ। झण्डै ८० किलोमिटर टाढा पर्छ।

स्थलगत निरीक्षण गरिसकेपछि तपाईँहरुले के निष्कर्ष निकाल्नु भयो ?
हाम्रो निष्कर्ष भनेको ११ नम्बर पिलर खोजी गर्ने, त्यो भटिए पछि त्यहाँको वास्तविकता तथ्य संगत रुपमा प्रमाणित गर्नुपर्छ भन्ने हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *