बहराइनका राजकुमारको हिमाल चढ्ने कार्यक्रम उडान नहुँदा प्रभावित

डिसी नेपाल
७ असोज २०७७ २३:३६

सोलुखुम्बु। मौसम प्रतिकूल बन्दा बहराइनी राजपरिवारसहितको टोली खुम्बु आउने कार्यक्रम प्रभावित भएको छ । हिमाल आरोहणका लागि राजपरिवारसहितको टोली बुधबार विमानमार्फत लुक्ला आउने कार्यक्रम रहे पनि उडान हुन नसक्दा काठमाडौँमा नै रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले जनाएको छ ।

समिट एयरमार्फत राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली लुक्ला आउने कार्यक्रम तय भए पनि मौसम प्रतिकूल हुँदा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आज कुनै उडान नभएको कार्यालयले जनाएको छ

खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार गत बुधबार नेपाल आउनुभएको थियो । राजकुमारको टोली शेख इशा एअरवेजबाट विशेष विमानमार्फत गत बुधबार काठमाडौँ आएको थियो । टोलीमा बहराइन रोयल गार्ड ९डिफेन्स फोर्स० मा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ ।

विश्वव्यापी कोरोना महामारीका बीच लामो समयपछि मङ्गलबार दुई जर्मनेली खुम्बु भित्रिएका छन् । उनीहरु काठमाडौँबाट पिसिआर परिक्षण गराएर विमानमार्फत खुम्बु आएको गाउँपालिकाले जनाएको छ । लामो समयपछि खुम्बु आएका विदेशी पर्यटकलाई खुम्बुबासीले स्वागत गरेका थिए ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्रसमेत बन्द गरिएपछि थलिएको खुम्बु क्षेत्रको व्यवसाय फस्टाउने आशा जागेको व्यवसायीको भनाइ छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *