बस्तीको दुवैतिरबाट पहिरो झरेपछि ११ घर जोखिममा

डिसी नेपाल
८ असोज २०७७ २२:४१

खोटाङ । पहिराका कारण ऐसेलुखर्क गाउँपालिकाका ११ घरपरिवार जोखिममा परेका छन् ।
यही असोज २ गतेको भारी वर्षाका कारण पहिरो जान थालेपछि वडा नम्बर ४ जलेश्वरीका ११ घर स्थानीय बासिन्दा जोखिममा परेका हुन् ।

जलेश्वरीस्थित मावाको बस्तीभन्दा तलबाट शुरु भएको पहिराले स्थानीय बासिन्दाको घर जोखिममा परेपछि उक्त बस्ती नै उठाउनुपर्ने अवस्था आएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।
बस्तीभन्दा तल खनिएको सडकको भित्ताबाट पहिरो शुरु हुँदा माथिल्लो क्षेत्रको बस्ती जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् । पहिरामाथिका दिलबहादुर राई, टेकबहादुर राई र एकल महिला जुनकिरी राईका घर उच्च जोखिममा परेको वडाध्यक्ष नैनकुमार राईले बताए ।

पहिराले उक्त तीन घरसँगै स्थानीयवासी लालबहादु राई, पर्शुराम राई, पूर्णबहादुर राई, मनकुमार राई, मुगाधन राई, प्रेमबहादुर राई, अम्बीर राई र नैनकुमार राईको घरसमेत जोखिममा पारेको जनाइएको छ ।
पहिरो नरोकिए उनीहरुको घरमाथि रहेका घरसमेत क्रमशः जोखिममा पर्ने खतरा देखिएको छ ।

पहिराको कारण वि।सं। २०७२ सालको भूकम्पपछि सो स्थानमा पलाएको पानीको मुहानसमेत सुकेको स्थानीय बासिन्दाले बताएका छन् । हाल पाखा लच्किँदै क्रमशः पहिराका रुपमा खस्ने क्रम जारी रहेको बताइएको छ ।
बस्तीभन्दा माथिको पहिरो गत वर्ष जाली सहितको पर्खाल हालेर नियन्त्रण गर्ने प्रयास गरिए पनि नरोकिएको वडाध्यक्ष राईले बताए । दुवैतिरबाट पहिरो झर्न थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

यस्तै पहिराका कारण हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

केहि दिनदेखि लगातार परिरहेको वर्षाका कारण उक्त सडकखण्ड अन्तर्गत वडा नम्बर ७ माक्पाको भदौरेमा पहिरो खस्दा यही असोज २ गतेदेखि यातायात अवरुद्ध भएको छ ।

सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए।

दश स्थानीय तह रहेको जिल्लामा केहि दिनदेखि लगातार परिरहेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो झर्दा ग्रामिण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिराले अवरुद्ध ग्रामिण सडक खुलाउन सम्बन्धित स्थानीय तह र यातायात व्यवसायीले संयुक्तरुपमा पहल गरिरहेका छन् । वर्षाका कारण यस वर्ष देशभर ठूलो मात्रामा जनधनको क्षति भएपनि खोटाङमा अहिलेसम्म मानवीय क्षति भने नभएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *