पहिराका कारण तीन परिवार विस्थापित

डिसी नेपाल
९ असोज २०७७ १९:५७

पाँचथर । अविरल वर्षाका कारण गएको पहिराका कारण यहाँका तीन परिवार विस्थापित भएका छन् । आज अपराह्न गएको पहिराले फाल्गुनन्द गाउँपालिका वडा नं २ इम्बुङको वरडाँडा टोलका लालबहादुर तामाङको घर बगाउनाका साथै मैतबहादुर तामाङ र धीरेन्द्र तामाङको घर चर्किएर बस्न नमिल्ने भएपछि ती परिवार विस्थापित भएका हुन् । पहिराले लालबहादुरको घरसहित त्यहाँ रहेका सबै मालसमान पुरेको छ । विस्थापित तीन वटै परिवार छिमेकीकहाँ शरण लिएर बसेका छन् ।

फाल्गुनन्द–२ का वडाध्यक्ष बहादुरसिं नेम्वाङका अनुसार पहिराबाट विस्थापित भएकाबाहेक स्थानीयवासी शङ्खरमान तामाङ र जहरमान तामाङको घरसमेत उच्च जोखिममा परेका छन् । अहिले प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँपालिकाले विस्थापितको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताउँदै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *