बेपत्ता बाबु खोज्दै छोराछोरी जुम्ला पुगेपछि…

सांकेतिक तस्बिर


जुम्ला । कैलाली स्थायी ठेगाना बताउने चार बालबालिका बाबु खोज्दै जुम्ला पुगेका छन्। पञ्जाबमा नोकरी गर्दै आएका बाबु सन्तोष विक तीन वर्षसम्म बेपत्ता भएपछि १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशीष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका हुन्।

“हामी सबै भारतको पञ्जाबमा जन्मिएका हौँ । नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौँ तर कुन ठाउँ, कुन टोल हो, केही थाहा छैन”, मधुले भनिन्। सानो भाइ एक महिना हुँदै आमा सपना विकको उपचारका क्रममा अस्पतालमै निधन भएको उनले बताइन्। “आमाको निधनपछि बाबुले अर्की आमा ल्याएर भागेका हुन् । त्यसपछि हामी चारै भाइबहिनी पञ्जाबमा विचल्लीमा परयौँ । सानो भाइ आशीष अहिले तीन वर्षको भयो । बाबाले पनि छाडेको पनि तीन वर्ष नै पुग्यो”, मधुले रुन्चे स्वरमा आफ्ना वेदना पाेखिन्। भारतमा मजदुरी गरेरै हुर्काएको एक महिनाको भाइ अहिले तीन वर्ष पुगेको छ।

“भारतमा कोरोना फैलिएपछि मजदुरी गर्ने ठाउँ भएन । सबै नेपालीहरु नेपाल फर्कन थालेपछि हामी पनि कैलाली आयौँ । कैलालीमा पनि घरजग्गा बाबाले बेचेको थाहा पाएपछि नेपालगञ्ज, सुर्खेत हुँदै जुम्ला आएका हौँ”, मधुले भनिन्। उनीहरु बाबु खोज्दै जुम्ला पुगेको पनि अहिले १२ दिन पुग्यो । बेपत्ता बाबु खोज्ने क्रममा भौँतारिँदै जुम्लासम्म आइपुगेको उनको भनाइ छ।

जुम्ला पुगेको दुईचार दिनपछि चन्दननाथ नगरपालिका–७ महतगाउँस्थित जनता माध्यमिक विद्यालय भवन निर्माणमा मजदुरको खाना पकाउने काम गरेबापतको दिनको ५०० रुपैयाँले बिहानबेलुकाको छाक टार्दै आएको मधुले सुनाइन्।

बालबालिका बिचल्लीमा परेको थाहा पाएपछि समाजसेवी छिरिङ ल्यामु तामाङले जिल्ला प्रशासन कार्यालय जुम्लामा खबर गरे। जिल्ला प्रशासनले जिल्ला प्रहरीमा जानकारी गराएपछि बालबालिकाको उद्धार भएको हो । प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार बालबालिका अलपत्र परेको जानकारी प्राप्त भएपछि उद्धार गरिएको हो।

बेपत्ता बाबु खोज्दै जुम्ला आइपुगेका बालबालिकाबारे विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए। उनीहरुलाई प्रहरीको उद्धारपछि अल्पकालीन महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । “बालबालिकाले अझै आफ्नो स्थानीय ठेगाना र अभिभावकको नाम बताउन सकेका छैनन्”, प्रहरी नायब उपरीक्षक काफ्लेले भने, “यस विषयमा प्रहरी संयन्त्रमार्फत कैलालीमा पनि खोजी गर्छौँ । बालबालिकालाई मेडिकल परीक्षणसहित सेवा केन्द्रमा राखिएको छ ।”

अल्पकालीन सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठका अनुसार अस्थायीरूपमा सेवा केन्द्रमा राखिए पनि दुई बालिका १६ र १७ वर्षका भएकाले दुव्र्यवहारमा पर्न सक्ने देखिएर सुरक्षित राखिएको हो । उनले भने, “यस्ता बालबालिकाको अभिभावक भनेको राज्य नै हो । त्यसका लागि प्रशासनसँग कुरा चलाएका छौँ ।”रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो