६ दिनसम्म गुपचुप बनेको महाराजगञ्ज दुर्घटना

डिसी नेपाल
१२ असोज २०७७ ११:२८

काठमाडौं। काठमाडौंको महाराजगञ्जमा भएको एउटा सडक दुर्घटना  ६ दिनदेखि गुपचुप रहेको छ। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ की अनुपा कार्की पाण्डेलाई जेब्राक्रसमा मोटरसाइकल र गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको विषय सञ्चारमाध्यममा समाचार बन्यो नत प्रहरीले यसबारेमा कसैलाई जानकारी नै दियो।

अनुपालाई ठक्करदिएर भागेको मोटरसाइकल अहिलेसम्म फेला परेको छैन भने गाडी चालक भने अहिले प्रहरी नियन्त्रणमा रहेको छ। अनुपा असोज ७ गते आफ्नो श्रीमानसहित काम विशेषले त्रिवि शिक्षण अःपताल पुगेकी थिइन्।

पैदल हिँड्दै गर्दा त्रिवि शिक्षण अगाडिको सडक पार गर्नै लाग्दा लाजिम्पाटबाट महाराजगन्जतर्फ हुकिएर आएको एफजेड मोटरसाइकलले एकाएक उनीहरुलाइ ठक्कर दियो।

मोटरसाइकलको ठक्करबाट अनुपा एकातिर लडिन् भने उनका श्रीमान अर्कौतर्फ लडे। त्यही बेला तीव्र गतिमा रहेको बा ११ च ४१४१ नम्बरको गाडीको टायरले अनुपालाई किच्यो।

अनुपालाई सो गाडीले किचेपछि गाडी पनि फरार भयो। त्यसक्रममा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पतालमा उपचारको क्रममा सोही दिन निधन भयो। श्रीमानलाई भने सामान्य चोट लागेको छ।

घटनापछि नम्बर खुल्न नसकेको एफजेड बाइक र गाडी दुवै फरार भएपछि बुढानिलकण्ठ वडा नम्बर ६ का जनप्रतिनिधिले दोषीमाथि कारबाहीको माग गर्दै महानगरीय प्रहरी बृत्त महाराजगन्जमा उजुरी दिएका थिए।

सो उजुरीपछि प्रहरीले गाडी पत्ता लगाएपनि मोटरसाइकल भने अहिलेसम्म फेला पार्न सकेको छैन। सिसी टिभीको फुटेजबाट फेला परेको गाडीको धनी कांग्रेस नेता दीपक खड्का रहेको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवीन केसीले जानकारी दिए।

तर, गाडी पत्ता लागिसकेपछि पनि नेता खड्का सम्पर्कमा नआएको र चालकलाई दोष देखाएर उम्किने प्रयास गरेको उनको भनाइ छ। महानगरीय प्रहरी वृत्त महाराजगन्जले सो घटनामा संलग्न रहेको भन्दै खड्काका चालकलाई पक्राउ गरेको छ।

तर स्थानीय वासिन्दाहरुले भने खड्काले नै गाडी चलाउँदा सो घटना भएको दावी गर्दै आइतबार प्रहरीमा किटानी जाहेरी दिएका छन्। महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काले पनि उनी विरुद्ध उजुरी आएको बताएका छन्।

डिएसपी खड्काले गाडी चालक पक्राउ गरिएको र मोटरसाइकल चालकको खोजी भैरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *