कोरोना कहर : आयुर्वेदिक औषधिप्रति जनविश्वास बढ्दो

धनकुमार कार्की
१२ असोज २०७७ १३:५७

काठमाडौं। रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आफ्नै गाउँघरको जडिबुटीबाट बनेको आयुर्वेदिक आौषधि उपयोगी हुने देखिएको छ। अहिले जुनसुकै रोगका लागि पनि आयुर्वेदिक आौषधि प्रयोग गर्नेहरु बढिरहेका छन्।

अहिले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न सबैले सचेतना अपनाइ रहँदा यसमा आयुर्वेदिक चिकित्साको क्षेत्रको पनि ठूलो सहयोग पुगेको छ। यतिबेला आयुर्वेदिक चिकित्सालय नरदेवीमा औषधि लिनेहरुको भिड लाग्ने गरेको छ।

आयुर्वेद औषधिको महत्व बुझेर कोरोना पोजिटिभ भएकाहरुका आफन्तहरु दिनमा करिब १ सयदेखि १ सय ५० जनासम्म आउने गरेका छन्। दैनिक ४ सय देखि ५ सय जनासम्म सामान्य रुघाखोकी लागेका र ज्वरो आएका बिरामी र कतिपय आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि समेत आउने गरेको आयुर्वेदिक चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदिप केसीले बताए।

‘आयुर्वेदिक औषधि एकचोटी प्रयोग गरेपछि धेरैजसो चाँहि नियमित फलोअपमा समेत आउने गर्नुभएको छ,’ उनले भने, ‘उहाँहरुको मन जितेरै त आउनुुभएको होला। अहिले होम आइसोलेसनमा हुनेहरु र लक्षण नदेखिएका तर पोजेटिभ रिपोर्ट आएकाहरुका आफन्तहरु आए औषधि लिएर जानुहुन्छ।’

डा. केसीका अनुसार अहिलेको अवस्थमा ऋतु परिवर्तन हुने समय भएकाले त्यसको प्रत्यक्ष असर मानव शरीरमा पर्ने गर्दछ। शरीरको र बाहिरी वातावरणको सन्तुलन नमिल्ने हुनाले सामान्य रुघाखोकी र भाइरलहरु आइरहने हुन्छ।

आयुर्वेद औषधिको महत्व बुझेर कोरोना पोजिटिभ भएकाहरुका आफन्तहरु दिनमा करिब १ सयदेखि १ सय ५० जनासम्म आउने गरेका छन्। दैनिक ४ सय देखि ५ सय जनासम्म सामान्य रुघाखोकी लागेका र ज्वरो आएका बिरामी र कतिपय आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि समेत आउने गरेका छन्

यसका लागि सितोपलादी चूँर्ण, तालीसादी चूँर्ण, गोदन्ती भष्स्म, महालक्ष्मी बिलास रस, गुरुची सत्व जस्ता आयुर्वेदिक औषधि सेवन गरेमा भाइरसलाई मानिसको शरीरमा छिर्नबाट रोक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउने हुनाले भाइरसहरु पनि कम संक्रमण हुने संभावना रहेको पनि डा. केसीले बताए।

आयुर्वेदिक औषधिले कोरोना संक्रमणबाट बच्न सहयोग गर्ने र संक्रमण भएकालाई जटिल हुन नदिने तर पूर्ण रुपमा निको भने नभएको आयुर्वेदिक चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञावालीले डिसी नेपालसँगको कुराकानीमा बताए। उनले भने, ‘अध्ययनले देखाएअनुसार कोरोना भाइरस रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई बढी संक्रमण हुने देखिएको छ।

आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। अदुवा, बेसार, मरिच, सुठो, पिपला, गुर्जो जस्ता जडिबुटीले मौसमी रुघाखोकी निको हुने कुरा सबैलाई थाहा भएकै कुरा हो। कोरोना पनि यसकै जटिल अवस्था भएकाले यस्ता जडिबुटीले कोरोना पूर्ण निको पार्ने नै त होइन तर निको हुने दर बढाउँछ र जटिल अवस्थामा जानबाट रोक्छ।’

आयुर्वेदिक डाक्टर ठाकुरप्रसाद दवाडीका अनुसार अहिले १२ ओटा जडीबुटी मिश्रित चूँर्ण आयुर्वेदिक चिकित्सालय नरदेवीमा वितरण भइरहेको छ।

‘यो मिश्रण मौसमी फ्लूलगायत कोरोना भाइरसका लागि एकदमै उपयुक्त हुन्छ। यसमा गुरुची सत्व (गुर्जो) ३ भाग, ५ भाग भीष्मसादी चुर्ण (असुरो, सुकमेल, जाइफल,लगायत १० जडीबुटीको मिश्रण) जेठीमधु ३ भाग मिश्रण रहेको हुन्छ,’ उनले भने, ‘एक गिलास पानीमा एक चिया चम्चा सो मिश्रण हालेर ५/७ मिनेट उमालेर खानुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *